शुक्रबार, २६ भदौ २०८३ || Sep 11, 2026
समाज

लिटिल बुद्ध एकेडेमीबाट बाढीपीडितलाई ८ लाख २५ हजार सहयोग

पश्चिमपाटी
54Shares

महेन्द्रनगर ।  कञ्चनपुरको लिटिल बुद्ध एकेडेमीले भोटेकोशी बाढीपीडितको राहतका लागि रु. ८ लाख २५ हजार सहयोग गरेको छ । विद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. सात लाख ५० हजार, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसनमार्फत रु. ५० हजार र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपालमार्फत रु. २५ हजार सहयोग गरेको विद्यालयका प्रिन्सिपल श्याम सिंह मौनीले जानकारी दिनुभयो ।
उहाँका अनुसार राहत रकममा विद्यालयको तर्फबाट रु. तीन लाख ५३ हजार आठ, शिक्षक तथा कर्मचारीबाट रु. दुई लाख ४४ हजार ७५२ र विद्यार्थीबाट रु. दुई लाख २७ हजार २४० सङ्कलन भएको हो । बाढीपीडितको दुःखमा विद्यालय परिवार एकजुट भएर सहयोग गरेको विद्यालयले जनाएको छ ।
विद्यालयका शिक्षक–कर्मचारी र विद्यार्थीको सहभागितामा सङ्कलित रकम भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारमा सहयोग पुग्ने उद्देश्यले सम्बन्धित राहत कोषमा दाखिला गरिएको विद्यालयले जनाएको छ । लिटिल बुद्धले विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको छ ।