शुक्रबार, २६ भदौ २०८३ || Sep 11, 2026
फिचर / विचार

रसुवागढीको त्रासदी र बौरिँदै गरेको नेपाली मुटु

विशन देव जोशी
322Shares

प्रकृतिको आफ्नै नियम हुन्छ, तर कहिलेकाहीँ त्यो नियम यति निष्ठुरी र अकल्पनीय बनिदिन्छ कि त्यसले छाडेर जाने खतहरू इतिहासमा अमेट बन्छन्। हालै भाद्र १० मा रसुवागढी क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोले ठ्याक्कै यही नियति निम्त्यायो। पलभरमै हाँस्दाखेलिरहेका बस्तीहरू उजाडिए, जीवनका सपनाहरू भग्नावशेषमा बदलिए र रसुवाका पहाडहरू शोकको गहिरो अन्धकारमा डुबे। यो विपत्ति केवल एउटा भौगोलिक दुर्घटना मात्र होइन, यसले सिङ्गो देशको छाती चर्क्याएको छ र राष्ट्रिय चेतनालाई झकझकाएको छ।

प्रकृतिको यो ताण्डवले पुर्‍याएको क्षतिको यकिन विवरण शब्दमा उतार्न असम्भव प्रायः छ। कैयौँ निर्दोष नागरिकले अकालमै ज्यान गुमाएका छन्। कतिपय अझै बेपत्ता छन्, जसका आफन्तहरू आँसु सुकेर टोलाइरहेका छन्। बाढी र पहिरोले वर्षौँको कठोर श्रमबाट ठड्याइएका घरहरू, बगाएका खेतबारी र गोठका पशुचौपाया क्षणभरमै नामोनिसान नहुने गरी सखाप पारे।

रणनीतिक तथा आर्थिक हिसाबले देशकै प्रमुख व्यापारिक लाइफलाइन मानिने रसुवागढी नाका, सीमा जोड्ने सडक सञ्जाल र अर्बौँका जलविद्युत् आयोजनाहरूमा पुगेको भौतिक क्षतिले राष्ट्रिय अर्थतन्त्रलाई ठुलो धक्का दिएको छ। व्यापारीहरूको करोडौँको सामान माटोमा मिलेको छ भने सीमावर्ती व्यापार ठप्प हुँदा मुलुकले अपूरणीय आर्थिक क्षति व्यहोर्नु परेको छ। रसुवागढी अहिले केवल ढुङ्गा र माटोको थुप्रो मात्र होइन, यो त हजारौँ नेपालीको गुमेको जीविकोपार्जनको क्रन्दन पनि बनेको छ।

भनिन्छ, नेपालीको वास्तविक पहिचान सङ्कटमै खुल्छ। रसुवागढी लगायत नुवाकोट र धादिङ्गका बस्तिहरु रोइरहँदा सिङ्गो नेपालको मन दुखेको छ। जात, धर्म, भूगोल र राजनीतिक विचारभन्दा माथि उठेर हामी सबै नेपाली भन्ने भावना फेरि ब्युँझिएको छ। हिमाल रोए पहाड दुख्छ भन्ने उखानलाई चरितार्थ गर्दै देशका कुना-कुनाबाट नागरिकहरू रसुवाबासीको घाउमा मलम लगाउन जुर्मुराएका छन्। यो विपद्ले नेपाली समाजमा रहेको आत्मीयता र मजबुत राष्ट्रिय एकताको जगलाई पुनः प्रमाणित गरिदिएको छ।

यस दुःखद घडीमा प्रधानमन्त्री दैवी प्रकोप राहत कोष तथा विभिन्न सहयोगी कोषहरूमा थपिँदै गएका सहयोगका हातहरूले मानवीयता अझै जीवितै छ भन्ने बलियो सन्देश दिएका छन्। स-साना बालबालिकाले आफ्नो खुत्रुके फुटाएर जम्मा गरेको पैसादेखि देश-विदेशमा रहेका नेपालीहरूले आफ्नो गाँस कटाएर पठाएको सहयोगले पीडितहरूका लागि ठुलो भरोसा जगाएको छ। यस दुःखद समयमा छिमेकी मुलुकहरू र अन्तर्राष्ट्रिय समुदायले देखाएको तत्परता पनि सह्रानीय छ। उद्धारका आधुनिक उपकरण, खाद्यान्न, औषधि र प्राविधिक सहयोग लिएर विदेशी मित्रराष्ट्रहरूले पुर्‍याएको गुनले अन्तर्राष्ट्रिय ऐक्यबद्धतालाई थप प्रगाढ बनाएको छ।

विपद् व्यवस्थापन र पुनर्निर्माणमा राज्य र समाजका विभिन्न अङ्गहरूको भूमिका सबैभन्दा महत्त्वपूर्ण कडी हो; सरकारी निकायहरू, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले प्रतिकुल मौसम र कठिन भौगोलिक चुनौतीका बाबजुद ज्यान जोखिममा राखेर गरेको उद्धार कार्य प्रशंसनीय छ। यद्यपि, राहत वितरणमा कतिपय स्थानमा देखिएको समन्वयको अभाव र पुनर्स्थापनाको सुस्त गतिलाई सुधार्न जरुरी छ। सरकारले यसलाई तत्कालीन संकट व्यवस्थापनमा मात्र सीमित नराखी दीर्घकालीन र सुरक्षित पुनर्निर्माणको रणनीति बनाउनुपर्छ।

राजनीतिक दलहरूले आफ्ना आपसी मतभेद, दलीय स्वार्थ र सत्ताको रस्साकस्सीलाई थाती राखेर उद्धारमा आफ्ना भ्रातृ सङ्गठन र कार्यकर्ता परिचालन गर्नु सुखद पक्ष हो। संसद देखि सडकसम्म पीडितको वास्तविक आवाज बुलन्द पार्नु र सरकारलाई उत्तरदायी बनाउनु उनीहरूको धर्म हो, जसलाई अझै इमानदारीपूर्वक निभाउन आवश्यक छ।यसै गरि गैरसरकारी संघसंस्थाहरू, रेडक्रस, स्थानीय समुदाय र नागरिक समाजले दुर्गम र सडक सञ्जाल विच्छेद भएका बस्तीहरूमा पुर्‍याएको राहत सामग्रीले धेरैको जीवन रक्षा गरेको छ। सरकारी संयन्त्र तत्काल पुग्न नसकेका ठाउँमा अग्रपङ्क्तिमा खटिएर यी संस्थाहरूले राज्यको सहयोगी खम्बाको रूपमा काम गरेका छन्।

रसुवागढीमा बगेको आँसु पुछ्न केवल सान्त्वनाका शब्दहरू र केही थान पाल पर्याप्त छैनन्। अबको प्रमुख आवश्यकता भनेको घाइतेहरूको निःशुल्क र उचित उपचार, घरबारविहीन भएकाहरूको सुरक्षित स्थानमा स्थायी पुनर्स्थापना र भत्किएका रणनीतिक संरचनाहरूको द्रुत पुनर्निर्माण हो। पहाडका भित्ताहरू फेरि नखसून र नदीहरूले फेरि बस्ती नबगाऊन् भन्नका लागि वातावरणीय र भौगर्भिक मूल्याङ्कन गरेर मात्र विकास गर्ने चेत अब राज्यस्तरमा खुल्नै पर्छ।

प्रकृतिको यो भयानक बज्रपातबाट उठेर रसुवागढी फेरि हाँस्नेछ, सीमामा व्यापारका गाडीहरू फेरि गुड्नेछन् र नेपालीको अदम्य साहसले यो संकटलाई पनि जितेर देखाउनेछ। किनकि, इतिहास साक्षी छ-नेपाली भत्किन मात्र जान्दैन, भग्नावशेषबाट बौरिएर फेरि उठ्न पनि जान्दछ।

विपदको यस घडीमा मृतकहरु प्रति भावपुर्ण श्रद्धाञ्जली, घाईतेहरुको सीघ्र स्वास्थ लाभको कामना तथा वेपत्ताहरुको सकुशलताको लागी प्रार्थना गर्दछु । उद्वारको प्रखाईमा मृत्यु र जीवनको संघारमा पुगेका ति आम नागरिकको सकुशल उद्वारमा सरकारबाट कुनै कसर वांकी नराखियोस यहि कामना गर्दछु । सरकारको यो कार्यमा सबैको सकारात्मक योगदान र सहकार्य आवश्यक छ , कमिकमजोरीको लेखाजोखा र हिसाब किताब पछि गर्दै गर्नुहोला तर अहिले सकारात्मक भावका साथ सक्दो सहयोग गरौं ।