शुक्रबार, २६ भदौ २०८३ || Sep 11, 2026
साहित्य / संस्कृति

पण्डवकी ‘छोटी बैना’ : मूल महाभारतदेखि डोटेली लोक महाभारतसम्म

जगन्नाथ आत्रेय
558Shares

भूमिका : एउटै महाभारत, अनेक लोकस्मृति
महाभारत केवल एउटा ग्रन्थ होइन : यो भारतीय उपमहाद्वीपका असंख्य समुदायले आउनै भूगोल, संस्कृति, भाषा, सामाजिक संरचना र धार्मिक चेतनाअनुसार पुनःकथन गर्दै आएको विराट सांस्कृतिक आख्यान हो।
संस्कृतमा संरक्षित व्यासमहाभारतको मूल आख्यानमा पाण्डव पाँच भाइ छन्—युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेव। तर नेपालका विभिन्न भूभागमा मौखिक परम्परा, लोकगाथा, गीत र स्थानीय महाभारत परम्पराले पाण्डव कथालाई आफ्नै सांस्कृतिक स्मृतिसँग गाँसेका छन्।
यही सन्दर्भमा सुदूरपश्चिमको डोटेली लोकपरम्परामा आउने एउटा अत्यन्त रोचक प्रसंग हो—
सुदूरपश्चिम र कुमाऊँ क्षेत्रको लोकसंस्कृति (विशेषगरी गौरा पर्वमा गाइने फाग वा पुराना चैत÷जाँगर)  खास गरि ठाडो खेल जुन ढोलकको तालसंगै देवस्थलहरूमा गाएर नाचिन्छ। यसमा चाल्लिस धुमारीस ढुस्को लगायतका ताल र चाल  प्रयुक्त हुन्छन।  यो लोपोन्मुख पनि भै रहेको छ। देव गाथा, चैत  वा पौराणिक आख्यानहरूको मौलिक रूप गाइने यो  बिशिष्ट परम्परा सायद अरू कुनै सभ्यता र संस्कृतिमा  बिरलै पाइएला। ठाडो खेलमा रामायण स महाभारतस कृष्ण चरित्र आदिको  गायन संगै स्थानीय देविदेवताहरू संग सम्बन्धित लोक गीति आख्यान गायन परम्परामा महाभारत पनि महत्व पुर्ण रूपमा आउछ।
डोटयाली लौक महाभारतमा महाभारतका पात्र पाँच पाण्डव र उनीहरूकी बहिनीको कथानक यसरि प्रस्तुत गरिन्छ––
पङ्क्तिको अर्थ र प्रसंगः
“पाँचै पाण्डु केदार चल्या, छोटी बैना लागिन् पछेट“अर्थः महाभारतको युद्ध र राज्यभोगपछि जब पाँचै भाई पाण्डवहरू (युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेव) स्वर्गारोहणका लागि हिमालय वा केदारनाथतर्फ प्रस्थान गछन्, तब उनीहरूकी सानी बहिनी (कुनै प्रसंगमा दीपा÷लटा वा भानी) पनि उनीहरूको पछि–पछि (पछेट÷पुछेट) लाग्छिन्।
यसपछिको संवादः
पाँचै पाण्डव केदार चल्या
छोटि बैनि लागिन् पछेट ।
जनगरौ कौरव सौराकि हाँच 
रक्तनदि बगलि । 
शिरको छेदन होलो, पाखुडि़ टुटलि
नलाग पछेट छोटि बैना मेरि ।
घर तेरा बियको भतार
वियको भतार फेरि पैला
तम जसा भाइल लै नाइँ पौं 
पछेट नलाग मेरि छोरि बैना
घर तेरा काखिको बालो ।
काखिको बालो दादा १ काखि बसि रलो
तमि जसा भाइल लै नाइँ पौं ।
नलाग पछेट छोटि बैना मेरि
घर तेरा घुेिणको पारो ।
घुेिणको पारो दादा १ फेरि पौंला
तमि जसा भाइल लै नाइँ पौं ।
ओरालि ओकालि हिड़न होलो
तमि बुइना कसेरि काँ हिटल्ल्यौ ?
जसि काइँ हिटन्ना कुन्ति माय
उसी कनाइँ मुञि लै हिटुँलो ।
जेठकि दोफरि हिटन होलो
तमि बुइना कसेरि काँइ हिटल्ल्यौ ?
जसि कनाइँ हिटन्ना कुन्ति माय
उसि कनाइँ मुञि लै हिँटलो ।
कुन्ति मायकि पाउ ल्यौंला
पाउनका सावर जुति
शिर ल्यौंला छात छतौरि ।
खुरि धार मुरिधार हिटन होलो
तमरा बुइना पौख सडि़ झान्ना ।
भुइेिसका ग्वाःलो सोहि बोल बोल
केदार कति नेड़, कति टड़ाः ?
धर्मकि हुन्ना टडाइका नेडः ।
पापिको यो खुरिडि धार 
रुकरुक्या थलि होलि, झुपु¥यालो बाज
भीमारौलले सुगा सामी
बैनि पतेइ घर लाइछ ।
गाइले गौंत्यो छलैछलै
धर्मिले गर्यो सनान
पापिया जति फर्कि आया 
धर्मि जति निसि गया केदार ।
हातकि लौडि  विनाइक छुटि
ताँइ थ्यो पापैको भार 
तत्ते रयो पापैको भार ।।

जब पाण्डवहरूले बहिनीलाई पछि नलाग्न र आफ्नो घर (सासू–ससुराको र) फर्कन आग्रह गर्छन्स्“पुछेट नलाग मेरी छोटी बैना, घर तेरा सासु ससुरा ॥“
तब बहिनीले अत्यन्तै मार्मिक जवाफ दिँदै भन्छिन्स्“सासु ससुरा दादा फेरी पाउँला, तमु जसा भाई (भालु) नाइ पाउ“
(अर्थात्ः सासू–ससुरा र घर त फेरि पाइएला  तर तपाईँहरू जस्ता माया गर्ने दाजुभाइ म संसारमा कतै पनि फेरि पाउन सक्दिनँ।)
यसले दिदीबहिनी र दाजुभाइबीचको अगाध प्रेम, बिछोडको पीडा र सुदूरपश्चिमेली जनजीवनमा व्याप्त पौराणिक लोक–आख्यानलाई जीवन्त रूपमा प्रस्तुत गर्दछ। गौरा पर्वमा बिरुडा धुने वा व्रत बस्ने समयमा पनि यस्ता  गाथाहरू फागका रूपमा महिलाहरूले सामूहिक रूपमा गाउने गर्दछन्।
“पाँचै पाण्डु केदार चल्या, छोटी बैना लागि पुछेट्।”
अर्थात् पाँचै पाण्डव केदारतर्फ लाग्दा उनीहरूकी छोटी बैना पछि लागिन्।
यही एउटा पंक्तिले दुई फरक संसारलाई आमनेसामने ल्याउँछ—
एकातिर मूल महाभारतको पाँच पाण्डवको वंशावली, अर्कोतिर डोटेली लोकस्मृतिको पाण्डव परिवारमा देखिने ‘छोटी बैना’।
के वास्तवमै पाण्डवकी एउटी बहिनी थिइन्?
यदि मूल महाभारतमा थिइनन् भने डोटेली लोकमहाभारतमा उनी किन आइन्?
के यो ऐतिहासिक पात्रको स्मृति हो, कि लोककल्पनाको सिर्जना?
वा यसको पछाडि सुदूरपश्चिमको आफ्नै पारिवारिक, धार्मिक र हिमाली सांस्कृतिक चेतना काम गरिरहेको छ?
यी प्रश्नको उत्तर खोज्न पहिले पाण्डवहरूको वास्तविक पारिवारिक संरचनातर्फ फर्किनुपर्छ।
पाण्डव को थिए?
महाभारतको आदि पर्वमा पाण्डवहरूको जन्मकथा विस्तारपूर्वक आउछ।
कुरुवंशमा विचित्रवीर्यका सन्तान नहुँदा व्यासको नियोगबाट धृतराष्ट्र, पाण्डु र विदुर जन्मिन्छन्। धृतराष्ट्र ज्येष्ठ भए पनि दृष्टिविहीन भएकाले पाण्डु राजा बन्छन्। पाण्डुका दुई पत्नी थिए—कुन्ती र माद्री।
आदि पर्वले स्पष्ट रूपमा भन्छ—
“पाण्डोः कुन्त्यां च माद्र्यां च पञ्च पुत्रा महारथाः...”
अर्थात् पाण्डुका कुन्ती र माद्रीबाट पाँच महारथी पुत्र भए।
यी पाँचै हुन्—
युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेव।
त्यसैले ‘पाण्डव’ मूलतः पाण्डुका यी पाँच पुत्रको सामूहिक नाम हो।
पाण्डवहरूको जन्म सामान्य जैविक जन्म थिएन
पाण्डवहरूको जन्मकथा महाभारतको सबैभन्दा विशिष्ट प्रसंगमध्ये एक हो।
पाण्डुले वनमा शिकार गर्दा ऋषि किन्दमालाई मृगरूपमा देखेर बाण हानेका थिए। मर्ने बेलामा ऋषिले पाण्डुलाई श्राप दिए—पत्नीको साथमा कामभावले सम्पर्क गर्दा उनको मृत्यु हुनेछ।
यस श्रापका कारण पाण्डु आफ्ना पत्नीबाट सामान्य रूपमा सन्तान प्राप्त गर्न असमर्थ भए।
त्यसपछि कुन्तीले ऋषि दुर्वासाबाट प्राप्त गरेको मन्त्र प्रयोग गरेर देवताहरूको आह्वान गरिन्।
धर्मबाट युधिष्ठिर, वायुदेवबाट भीम र इन्द्रबाट अर्जुन जन्मिए।
पछि पाण्डुको आग्रहमा कुन्तीले माद्रीलाई पनि मन्त्र दिइन्। माद्रीले अश्विनी कुमारहरूको आह्वान गरिन् र नकुल तथा सहदेव जन्मिए।
यसरी पाँच पाण्डवको जन्म भएको विवरण आदि पर्वमा स्पष्ट छ।
त्यसैले पाण्डवहरूको पारिवारिक संरचना मूल महाभारतमा यसरी देखिन्छ—
पाण्डु + कुन्ती → युधिष्ठिर, भीम, अर्जुन
पाण्डु + माद्री → नकुल, सहदेव
यहाँ छोरी वा बहिनीको उल्लेख छैन।
३पाण्डवकी बहिनी किन देखिँदैनन्?
यो प्रश्न हाम्रो मूल विषयको केन्द्र हो।
आदि पर्वको पाण्डव जन्मसम्बन्धी वर्णनले पाँच पुत्रको नाम स्पष्ट रूपमा दिन्छ। युधिष्ठिर, भीम र अर्जुन कुन्तीका पुत्र तथा नकुल र सहदेव माद्रीका पुत्र भएको वर्णन छ।
त्यसैले मूल व्यासमहाभारतको वंशावलीअनुसार पाण्डुका सन्तानका रूपमा पाण्डवकी कान्छी बहिनीको पात्र स्थापित छैन।
यसलाई अझ स्पष्ट बनाउन अर्को महिला पात्रसँग तुलना गर्नुपर्छ—दुःशला।
दुःशला ः पाण्डवकी होइन, कौरवकी बहिनी
महाभारतमा धृतराष्ट्र र गान्धारीका सन्तानको प्रसंग आउँदा सय जना पुत्रसँगै एउटी छोरीको उल्लेख हुन्छ।
उनी हुन्—
३दुःशला (दुश्शला)
आदि पर्वको ११६औँ खण्डमा जनमेजयले नै प्रश्न गर्छन्—धृतराष्ट्रका सय पुत्रबाहेक छोरी कसरी जन्मिइन्? त्यसपछि वैशम्पायनले दुःशलाको जन्मको विवरण दिन्छन्।
त्यसैले मूल महाभारतको पारिवारिक संरचना यस्तो हुन्छ—
धृतराष्ट्र + गान्धारी → १०० पुत्र + दुःशला
यी पुत्रहरू कौरव हुन्।    
दुर्योधन, दुःशासन, विकर्ण आदिसँगै दुःशला कौरवकी बहिनी हुन्।
त्यसैले कहिलेकाहीँ ‘महाभारतमा पाण्डवकी बहिनी दुःशला थिइन्’ भन्ने भ्रम देखिन्छ। त्यो तथ्यगत रूपमा सही होइन।
दुःशला . कौरवकी बहिनी।
पाण्डवकी बहिनी . मूल व्यासमहाभारतमा उल्लेखित छैन।
त्यसो भए डोटेली ‘छोटी बैना’ को हुन्?
३अब हामी लोकसाहित्यको संसारमा प्रवेश गर्छौँ।
सुदूरपश्चिममा प्रचलित लोकगाथा र डोटेली महाभारत परम्परामा पाण्डवहरूलाई स्थानीय सांस्कृतिक पात्रका रूपमा पुनःसृजना गरिएको पाइन्छ।
त्रिभुवन विश्वविद्यालयको एक शोध सामग्रीमा बैतडी क्षेत्रमा प्रचलित गमरासम्बन्धी गाथामा यस्तो पंक्ति अभिलेखित छ—
“पाँचै पाण्डु केदार चल्या,
छोरी बैना लगी पच्छेट।”
अर्को  सामग्रीमा पनि—
“पाँचै पाण्डु केदार चल्या, छोटी बैना लागि पुछेट्।”
भन्ने पंक्ति र त्यसपछि दाजुहरूले बहिनीलाई नआउन आग्रह गर्ने संवादसमेत अभिलेखित छ।
यसले एउटा कुरा निश्चित गर्छ—
‘छोटी बैना’ केवल आधुनिक कल्पना होइन; सुदूरपश्चिमको मौखिक÷लोकगाथा परम्परामा अभिव्यक्त भएको पात्र हो।
तर उनलाई मूल महाभारतकी पात्र भन्न मिल्दैन।

उनलाई डोटेली लोकमहाभारतले सिर्जना वा पुनर्संरचना गरेको पाण्डवकी बहिनीको लोकपात्र भन्नु बढी उपयुक्त हुन्छ।
‘छोटी बैना’ किन आवश्यक प¥यो?
यही प्रश्न सबैभन्दा रोचक छ।
लोकसाहित्यले मूल कथालाई जस्ताको तस्तै दोहो¥याउँदैन।
लोकले आफ्नो जीवन अनुभव त्यसमा मिसाउँछ।
डोटेली समाजमा दाजु–बहिनीको सम्बन्ध अत्यन्त गहिरो भावनात्मक सम्बन्ध हो। बहिनीको माइतीप्रतिको मोह, दाजुहरूसँगको आत्मीयता, बिदाइ, विवाहपछिको दूरी र फेरि भेटिने आशा—यी सबै लोकगीतका प्रिय विषय हुन्।
त्यसैले पाँच वीर पाण्डवको कथालाई स्थानीय समाजले आफ्नो पारिवारिक अनुभवसँग जोड्दा ८८‘छोटी बैना’८८को पात्र सिर्जना हुनु स्वाभाविक देखिन्छ।
‘छोटी बैना’ वास्तवमा पाण्डव परिवारको स्थानीयकरण हो
३लोकसाहित्यको एउटा महत्वपूर्ण विशेषता हो—स्थानीयकरण।
रामायणमा अयोध्या छ, तर गाउँका लोकगीतमा राम आफ्नै गाउँका जस्ता हुन्छन्।
महाभारतमा हस्तिनापुर, इन्द्रप्रस्थ र कुरुक्षेत्र छन्, तर लोकमहाभारतमा पाण्डवहरू स्थानीय पहाड, नदी, देउराली, मन्दिर र तीर्थसँग जोडिन्छन्।
यही प्रक्रियामा पाण्डव परिवार पनि स्थानीय सामाजिक संरचनाअनुकूल बन्न सक्छ।
पाँच दाजुभाइ छन्।
त्यसैले उनीहरूको एउटी कान्छी बहिनीको कल्पना लोकमनलाई अस्वाभाविक लागेन।
३यसरी ‘छोटी बैना’ ऐतिहासिक वंशावलीभन्दा लोकसामाजिक मनोविज्ञानकी पात्र बन्न पुग्छिन्।
‘केदार चल्या’ ः लोकभूगोलको अर्को महत्वपूर्ण संकेत
पंक्तिको अर्को अत्यन्त महत्वपूर्ण शब्द हो—
केदार।
“पाचै पाण्डु केदार चल्या...”
पाण्डवहरू केदारतर्फ गइरहेका छन्।
यो सामान्य यात्रा होइन। यसमा हिमालय, शिव, तीर्थ, वैराग्य र अन्तिम यात्राको गहिरो सांस्कृतिक अर्थ जोडिन्छ।
मूल महाभारतमा पाण्डवहरूको अन्तिम यात्रा हिमालयतर्फको महाप्रस्थानसँग जोडिन्छ। लोकपरम्पराले यस व्यापक हिमाली यात्रालाई आफ्नै धार्मिक भूगोलसँग गाँसेर केदारको स्मृतिसँग जोडेको हुन सक्छ।
सुदूरपश्चिम आफैँ हिमालयको दक्षिणी सांस्कृतिक काखमा रहेको क्षेत्र हो।
यहाँका लोकदेवता, केदार, शिव, हिमाल, नदी, देउराली र तीर्थ परम्पराहरू एकअर्कासँग गाेिसएका छन्।
त्यसैले लोकमहाभारतमा पाण्डवहरूको यात्रा केवल पुरानो भारतको कथा होइन; स्थानीय हिमाली धार्मिक भूगोलको कथा पनि बन्न पुग्छ।

‘पछेट’ लागेकी बहिनी ः एउटा मार्मिक लोकदृश्य
“छोटी बैना लागि पुछेट्” भन्ने पंक्ति केवल परिचयात्मक छैन।
यसमा एउटा दृश्य छ—
पाँच दाजुहरू यात्रामा निस्किएका छन्।
बहिनी उनीहरूलाई पछ्याइरहेकी छिन्।
दाजुहरू उनलाई रोकिरहेका छन्।
बहिनी भने दाजुहरूसँग छुट्न चाहन्नन्।
यो दृश्यमा इतिहासभन्दा बढी माइती–बहिनीको भावनात्मक संसार छ।
लोककथाले पाण्डवहरूको विराट आख्यानलाई घरआँगनको आत्मीयतामा झारिदिएको छ।
महाभारतका वीरहरू अब केवल कुरुक्षेत्रका योद्धा होइनन्।
उनीहरू दाजु हुन्।
उनीहरूका लागि एउटा बहिनी छ।
बहिनीका लागि उनीहरू संसार हुन्।
यहीँ लोकमहाभारतको शक्ति देखिन्छ।
पाण्डवहरूको मावली ः अर्को महत्वपूर्ण पारिवारिक सम्बन्ध
पाण्डवहरूको मातृपक्ष पनि अत्यन्त महत्वपूर्ण छ।
कुन्तीको जन्मनाम पृथा हो। उनी यदुवंशी राजा शूरसेनकी छोरी थिइन् र पछि कुन्तिभोजले पालनपोषण गरेकाले ‘कुन्ती’ नामले प्रसिद्ध भइन्।
यसैले पाण्डवहरूको मातृवंश यदुवंशसँग जोडिन्छ।
कुन्तीका भाइ थिए वासुदेव।
वासुदेवका पुत्र हुन्—
श्रीकृष्ण, बलराम आदि।
यस अर्थमा कृष्ण पाण्डवहरूका मामाका छोरा अर्थात् मातृपक्षीय ममेरे भाइ हुन्।
यही सम्बन्धले महाभारतको राजनीतिक र भावनात्मक संरचनामा ठूलो भूमिका खेल्छ।
कृष्ण केवल पाण्डवका मित्र मात्र होइनन्; उनी उनीहरूको मातृपक्षसँग जोडिएको नातेदार पनि हुन्।
यसले पाण्डवहरूको मावली सम्बन्ध कति महत्वपूर्ण थियो भन्ने देखाउँछ।
नकुल–सहदेवको मावली भने फरक थियो
यहाँ अर्को सूक्ष्म कुरा पनि छ।
पाँचै पाण्डवको मातृपक्ष एउटै होइन।
युधिष्ठिर, भीम र अर्जुनकी आमा कुन्ती हुन्।
नकुल र सहदेवकी आमा माद्री हुन्।
माद्री मद्रदेशका राजपरिवारकी राजकुमारी थिइन्।
त्यसैले नकुल र सहदेवको मातृपक्ष मद्रदेशसँग जोडिन्छ।
माद्रीका दाजु शल्य थिए, जो पछि महाभारत युद्धमा महत्वपूर्ण पात्र बन्छन्।
यसरी पाँच पाण्डवको पारिवारिक सम्बन्धलाई हेर्दा उनीहरू केवल हस्तिनापुरको कुरुवंशमा सीमित छैनन्।
उनीहरूको नातासम्बन्ध—
कुरुवंश + यदुवंश + मद्रवंश
सम्म फैलिएको देखिन्छ।
पाण्डवहरूको ‘बहिनी’ र उनीहरूको वास्तविक महिला नातेदारबीचको भ्रम
महाभारतका महिला पात्रहरूलाई एकअर्कासँग मिसाउँदा ‘पाण्डवकी बहिनी’सम्बन्धी भ्रम अझ बढ्छ।
दुःशला
कौरवकी बहिनी।
धृतराष्ट्र र गान्धारीकी छोरी।
सुभद्रा
श्रीकृष्णकी बहिनी।
अर्जुनकी पत्नी।
अभिमन्युकी आमा।
त्यसैले उनी पाण्डवकी जन्मबहिनी होइनन्। तर विवाहका कारण उनी पाण्डव परिवारसँग जोडिन्छिन्।
द्रौपदी
पाञ्चालराज द्रुपदकी पुत्री।
पाण्डव पाँचैकी पत्नी।
उनका भाइ धृष्टद्युम्न हुन्। महाभारतमा द्रौपदी र धृष्टद्युम्न यज्ञबाट प्रकट भएको वर्णन छ।
त्यसैले द्रौपदी पनि पाण्डवकी बहिनी होइनन्।
यसरी हेर्दा—
दुःशला . कौरवकी बहिनी
सुभद्रा . कृष्णकी बहिनी तथा अर्जुनकी पत्नी
द्रौपदी . पाँच पाण्डवकी पत्नी
छोटी बैना . डोटेली लोकमहाभारतमा देखिने पाण्डवकी लोकबहिनी
भन्ने भेद स्पष्ट हुन्छ।
मूल महाभारत र लोकमहाभारतबीचको अन्तरलाई कसरी बुझ्ने?
अब यहाँ एउटा महत्वपूर्ण साहित्यिक सिद्धान्त लागू हुन्छ—
लोकसाहित्यलाई मूलग्रन्थको त्रुटिपूर्ण संस्करणका रूपमा मात्र हेर्नु हुँदैन।
लोकले मूल कथालाई आफ्नै आवश्यकता र अनुभवअनुसार पुनर्सिर्जना गर्छ।
मूल महाभारतले पाण्डवहरूको वंश र जन्मलाई एउटा निश्चित संरचनामा प्रस्तुत गर्छ।
डोटेली लोकमहाभारतले त्यसमा स्थानीय समाजको अनुभव थप्छ।
मूल महाभारतमा पाण्डव पाँच भाइ हुन्।
लोकमहाभारतमा उनीहरूसँग ‘छोटी बैना’ जोडिन्छिन्।
मूल आख्यानमा अन्तिम हिमाली यात्रा व्यापक महाप्रस्थान हो।
लोकगाथामा त्यो यात्रा केदारको स्थानीय धार्मिक भूगोलसँग नजिक हुन्छ।
यसरी हेर्दा ‘छोटी बैना’ ऐतिहासिक प्रश्नभन्दा बढी लोकस्मृतिको सांस्कृतिक प्रश्न हो।
‘छोटी बैना’लाई ऐतिहासिक पात्र मान्ने कि प्रतीक?
यसमा दुई तह छुट्याउन आवश्यक छ।
पहिलो तह ः ग्रन्थीय इतिहास
व्यासमहाभारतको आदि पर्वका आधारमा पाण्डु र कुन्ती–माद्रीबाट पाँच पुत्र भएको स्पष्ट उल्लेख छ। पाण्डवकी छुट्टै बहिनीको वंशावलीगत उल्लेख पाइँदैन।
त्यसैले ग्रन्थीय दृष्टिले पाण्डवकी बहिनीको दाबी प्रमाणित हुँदैन।
दोस्रो तह ः लोकस्मृति
डोटेली लोकगाथामा भने ‘छोटी बैना’को उल्लेख अभिलेखित छ।
त्यसैले लोकसाहित्यिक दृष्टिले उनी अत्यन्त अर्थपूर्ण पात्र हुन्।
उनी सम्भवतः कुनै ऐतिहासिक राजकुमारीको वास्तविक स्मृति हुन् भन्ने प्रमाण अहिले हामीसँग छैन।
तर उनी स्थानीय सामाजिक चेतना, दाजु–बहिनी सम्बन्ध र पाण्डव कथाको स्थानीयकरणको प्रतीकका रूपमा भने महत्वपूर्ण छन्।
किन पाण्डवलाई नै बहिनी दिइयो?
यो प्रश्न अझ गहिरो छ।
पाण्डवहरूको कथा मूलतः संघर्ष, निर्वासन, युद्ध, राज्य र अन्ततः त्यागको कथा हो।
तर लोकसमाजका लागि महाभारत केवल राजवंशको कथा होइन।
यो परिवारको कथा पनि हो।
दाजुभाइको कथा।
आमाको कथा।
मावलीको कथा।
बहिनीको कथा।
विवाहको कथा।
बिछोडको कथा।
त्यसैले लोकमनले पाण्डवहरूको विशाल कथालाई आफ्नो सामाजिक जीवनसँग जोड्दा ‘छोटी बैना’ जन्मिनु एउटा सांस्कृतिक पुनर्सृजनाका रूपमा बुझ्न सकिन्छ।
‘छोटी बैना’ र सुदूरपश्चिमको दाजु–बहिनी संस्कृति
सुदूरपश्चिमको लोकजीवनमा दाजु–बहिनी सम्बन्धको भाव अत्यन्त बलियो छ।
बहिनी विवाह गरेर पराइघर जान्छिन्।
माइतीसँगको सम्बन्ध भावनात्मक सम्पत्ति हुन्छ।
दाजुको घरमा फर्कने, दाजुभाइसँग भेट्ने, बिदाइ हुने र फेरि भेट्ने आशा लोकगीतका स्थायी भाव हुन्।
त्यसैले जब लोकगाथाले भन्छ—
“पाँचै पाण्डु केदार चल्या, छोटी बैना लागि पुछेट्”
त्यो पाण्डवको मात्र कथा रहँदैन।
त्यो सुदूरपश्चिमेली बहिनीको कथा पनि बन्छ।
के ‘छोटी बैना’ कुनै पुरानो स्थानीय देवी वा नारी पात्रको रूपान्तरण हुन सक्छिन्?
यस सम्भावनालाई पूर्णतः अस्वीकार गर्न सकिँदैन, तर प्रमाणबिना निष्कर्ष निकाल्नु उचित हुँदैन।
लोकपरम्परामा ऐतिहासिक, पौराणिक र स्थानीय पात्रहरू एकअर्कामा मिसिने गर्छन्।
कुनै स्थानीय नारी–देवी, कुलदेवी, वीराङ्गना वा पारिवारिक स्मृतिले पाण्डव कथासँग जोडिएर नयाँ रूप लिएको हुन सक्छ।
तर यसको पुष्टि गर्न डोटेली लोकगाथाका विभिन्न संस्करण, पुराना हस्तलिखित सामग्री, स्थानीय देवस्थलका परम्परा, मौखिक इतिहास र स्थाननामको तुलनात्मक अध्ययन आवश्यक हुन्छ।
यसकारण अहिलेको अवस्थामा सुरक्षित निष्कर्ष यही हो—
‘छोटी बैना’ डोटेली लोकमहाभारतको महत्वपूर्ण लोकपात्र हुन्; तर उनलाई व्यासमहाभारतमा वर्णित पाण्डवकी ऐतिहासिक÷ग्रन्थीय बहिनी भन्न सकिँदैन।
पाण्डवको कथा सुदूरपश्चिममा किन यति बलियो भयो?
यस प्रश्नको उत्तर भूगोलमा पनि खोज्नुपर्छ।
सुदूरपश्चिम हिमालयको दक्षिणी काख हो।
यहाँ—
केदार, कैलाश, हिमाल, शिव, नदी, तीर्थ र पाण्डव
सम्बन्धी अनेक लोकस्मृति पाइन्छन्।
पाण्डवहरूको अन्तिम हिमालय यात्रा र स्थानीय हिमाली तीर्थ परम्परालाई लोकले स्वाभाविक रूपमा एकअर्कासँग जोडेको हुन सक्छ।
यस प्रक्रियामा पाण्डवहरू बाहिरका पात्र रहेनन्।
उनीहरू आफ्नै पहाडका यात्रु बने।
आफ्नै नदीका किनारबाट हिँडे।
आफ्नै केदार पुगे।
आफ्नै बहिनीले पछ्याइन्।
यही नै लोकसाहित्यको अद्भुत शक्ति हो।
३अन्तिम निष्कर्ष
महाभारतको मूल ग्रन्थ हेर्दा पाण्डव पाँच भाइ मात्र हुन्—युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेव। आदि पर्वले पाण्डुका दुई पत्नी कुन्ती र माद्रीबाट पाँच पुत्र जन्मिएको स्पष्ट रूपमा बताउँछ।
पाण्डवकी कान्छी बहिनीको उल्लेख मूल व्यासमहाभारतमा स्थापित छैन।
बरु दुःशला धृतराष्ट्र र गान्धारीकी छोरी तथा कौरवकी बहिनी हुन्। आदि पर्वले उनको जन्मसम्बन्धी छुट्टै प्रसंगसमेत प्रस्तुत गर्छ।
पण्डवहरूको मातृसम्बन्ध पनि बहुआयामिक छ—कुन्तीमार्फत उनीहरू यदुवंशसँग जोडिन्छन्; वासुदेव उनका मामाका भाइ÷मातृकाका दाजुभाइको सम्बन्धमा पर्छन् र कृष्ण उनीहरूका ममेरे भाइ हुन्। नकुल–सहदेव भने माद्रीमार्फत मद्रवंशसँग जोडिन्छन्।
तर सुदूरपश्चिमको डोटेली लोकपरम्परामा एउटा फरक सांस्कृतिक सत्य जीवित छ—
“पाँचै पाण्डु केदार चल्या, छोटी बैना लागि पुछेट्।”
यो पंक्ति मूल महाभारतको वंशावली सच्याउने प्रमाण होइन।
तर यसलाई त्यसै कारणले अस्वीकार गर्नु पनि लोकसाहित्यको मर्म नबुझ्नु हो।
यो पंक्ति एउटा ठूलो सांस्कृतिक प्रक्रियाको प्रमाण हो—
लोकले महाभारतलाई आफ्नो बनाएको छ।
उसले पाण्डवलाई आफ्नो भूगोलमा ल्याएको छ।
केदारसँग जोडेको छ ।
आ६नो दाजुभाइको संस्कारसँग जोडेको छ।
र पाण्डवका पाँच वीर दाजुभाइसँग एउटी ‘छोटी बैना’ थपेर विराट महाकाव्यलाई घर आगनको आत्मीय कथामा रूपान्तरण गरेको छ।
त्यसैले ‘छोटी बैना’को खोजी गर्दा हामीले केवल “महाभारतमा थिइन् कि थिइनन्?” भनेर सोध्नु पर्याप्त हुँदैन।
अझ महत्वपूर्ण प्रश्न हो—
“डोटेली लोकमनले उनलाई किन जन्मायो?”
त्यसको उत्तर सम्भवतः यहीँ छ—
महाभारतका पाण्डवहरू इतिहास र पुराडाका पात्र थिए स
तर लोकले उनीहरूलाई आनै दाजु बनायो।
र जब दाजुहरू केदारतिर लागे, लोकमनले एउटी बहिनीलाई पछाडि लगायो।
त्यही बहिनी हुन्—‘छोटी बैना’। र यहीबाट मूल महाभारत र डोटेली लोकमहाभारतबीचको दूरी होइन, लोकसृजनाको सेतु देखिन्छ।