जयपृथ्वी कप विजेता सुदूरपश्चिम विश्वविद्यालयको टोलीद्वारा राहत कोषमा रु ५० हजार सहयोग

महेन्द्रनगर । जयपृथ्वी कप भलिबल प्रतियोगितामा विजेता बनेको सुदूरपश्चिम विश्वविद्यालयको टोलीले पुरस्कार रकमबाट रु ५० हजार प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सहयोग गरेको छ । विश्वविद्यालय केन्द्रीय क्याम्पसको भलिबल टोलीले खेलकुदबाट प्राप्त पुरस्कार रकममध्ये रु ५० हजार राहत कोषमा सहयोग गरेको विश्वविद्यालयका सूचना अधिकारी नवीनबहादुर बमले जानकारी दिनुभयो । उहाँका अनुसार यही भदौ ६ गतेदेखि आयोजित जयपृथ्वी कप भलिबल प्रतियोगितामा विजेता बनेपछि टोलीले प्राप्त गरेको पुरस्कार रकमबाट आवश्यक खर्च कटाएर बाँकी रकम राहत कोषमा जम्मा गरेको हो । खेलकुदमार्फत प्राप्त पुरस्कार रकमलाई विपद्मा परेका नागरिकको राहत तथा उद्धारमा सहयोग गर्ने उद्देश्यले कोषमा प्रदान गरिएको उहाँले बताउनुभयो । विश्वविद्यालयको टोलीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको थियो । पुरस्कार रकमलाई सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् प्रभावितको सहयोगमा प्रयोग गर्ने निर्णय गरिएको हो ।


