मेगा सहकारीद्वारा भोटेकोशी बाढीपीडितलाई १ लाख १ हजार सहयोग

महेन्द्रनगर । कञ्चनपुरको प्रतिष्ठित मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भोटेकोशीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि रु. १ लाख १ हजार सहयोग गरेको छ । सहकारी संस्थाले आफ्नो वार्षिक बजेट तथा कार्यक्रमअन्तर्गत रहेको ‘प्राकृतिक प्रकोप राहत’ शीर्षकको रकमबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।
सहकारीले घाइते, विस्थापित तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ, सुरक्षित उद्धार र सहज जीवनयापनको कामना गर्दै विपद्को कठिन घडीमा पीडित परिवारलाई सहयोग गर्न सबैमा आग्रहसमेत गरेको छ । संस्थाले विपद्का कारण ज्यान गुमाएका व्यक्तिप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ताको शीघ्र खोजी तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । सहकारीले विभिन्न सामाजिक उत्तरलायित्वका कार्यक्रमहरु गर्दै आएको छ ।




