भोटेकोशी बाढीमा बेपत्ता भएका परिवारसँग सांसद बोहरा

महेन्द्रनगर । कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य दिपक बोहराले गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका व्याक्तिका परिवारसंग भेटघाट गरेका छन । शनिबार सांसद बोहराले आफ्नो निर्वाचन क्षेत्रका बाढीमा परी बेपत्ता भएका एघार वटा परिवारसंग भेटघाट गर्नुभएको कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर दुई का क्षेत्रिय सभापति गणेश खड्काले जानकारी दिए । उनका अनुसार सांसद बोहराले हिजो र आज यहाँको कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका परिवारसँग भेट गरी उहाँहरुको अवस्था तथा समस्याबारे जानकारी लिएका हुन । भेटमा सांसद बोहराले बेपत्ता आफन्तको खोजी तथा परिवारले भोगिरहेका कठिनाइबारे जानकारी लिएका थिए । आइतबार बेदकोट नगरपालिका घर भएका प्रभावित परिवारसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ । भोटेकोशी नदीमा आएको बाढीका कारण कञ्चनपुरका २६ जना बेपत्ता छन ।




