शुक्रबार, २६ भदौ २०८३ || Sep 11, 2026
समाचार

नीतिगत अप्ठेरा सुल्झाएर भूमिहीनको समस्या समाधान गर्छौैं : मन्त्री रावल

पश्चिमपाटी
3Shares

महेन्द्रनगर । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन र वास्तविक सुकुमवासीको समस्या समाधानका लागि सरकार अग्रसर रहेको बताउनुभएको छ ।
    कञ्चनपुरको कृष्णपुर नगरपालिकाका विभिन्न वडामा भूमिहीन, सुकुमवासी र अव्यवस्थित बसोबासीसितको भेटघाट तथा अवस्थाबारे जानकारी लिँदै मन्त्री रावलले कानुन संशोधन गरेर भए पनि पीडितका समस्या समाधान गरेर सरकार अघि बढ्ने बताउनुभयो । “वास्तविक भूमिहीनको समस्या समाधान गर्छौँ । तपाईहरुका समस्या समाधान गर्नका लागि नीतिगत अप्ठेरा फुकाल्ने काम सरकारले गर्छ”, मन्त्री रावलले भन्नुभयो, “भूमिहीन सुकुमवासीका नाममा नियत खराब राखेर ठगी गर्नेलाई फिल्टर गर्न सरकार लागि परेको छ । बाधा व्यवधान फुकाएर सरकार अघि बढ्छ ।” मन्त्री रावलले एक÷डेढ महिनाभित्र कृष्णपुरमा भूमिहीन, सुकुमवासीलाई लालपुर्जासमेत वितरणको तयारी गरिरहेको बताउनुभयो ।

 “जिल्ला भूमि समस्या समाधान समितिले काम गरिरहेको छ । समितिलाई काम गर्न सरकारले सहज वातावरण बनाउँछ ।” ग्रामीण भेगसम्म भूमिहीन, सुकुमवासीका समस्याबारे आफू जानकार भएको बताउँदै उहाँले सुरक्षासँगै पुर्जा वितरणमा सरकार गम्भीरताका साथ लागिपरेको बताउनुभयो । “केही स्थानमा वास्तविक सुकुमवासी, भूमिहीनले फारम भर्न नपाएको पनि देखेँ”, मन्त्री रावलले भन्नुभयो, “त्यसको हकमा नीतिगत कुरा संशोधन गरेर समाधान निकाल्छौँ ।” मन्त्री रावलका साथमा सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशी र जिल्ला भूमि समस्या समाधान समितिका पदाधिकारीहरु हुनुहुन्थ्यो ।