शुक्रबार, २६ भदौ २०८३ || Sep 11, 2026
समाचार

बिक्री सुनिश्चित भएपछि कञ्चनपुरमा आलुखेती विस्तार गर्दै किसान

पश्चिमपाटी
99Shares
महेन्द्रनगर । कृषि ज्ञान केन्द्र कञ्चनपुरले किसानले उत्पादन गरेको आलु बिक्रिको सुनिश्चितता गरेको छ ।
केन्द्रको समन्वयमा यहाँका किसान र फस्ट च्वाइस फुड्स लिमिटेड संग कञ्चनपुरमा ८० विघा जमिनमा आलु उत्पादन सम्बन्धी सम्झौता भएको हो । कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख हरि प्रसाद पनेरुले उक्त सम्झौता अनुसार यहाँका किसानले उत्पादन गरेको आलु उद्योगले खरिद गर्ने जानकारी दिनुभयो । “यहाँ आलु उत्पादन बढी हुन्छ अब किसानले उत्पादन गरेको आलु बिक्रिका लागि बजार खोज्नुपर्ने समस्या हुँदैन ।” पनेरुले भन्नुभयो–“सम्झौता अनुसार उद्योगले किसानको बारीमै पुगेर आलु खरिद गर्नेछ यसले किसानको बजारको सुनिश्चितता गरेको छ ।”  उक्त सम्झौताले उत्पादन भएको आलु बिक्रिका लागि किसानले बजार खोज्नुपर्ने अवस्थाको अन्त्य हुने र किसानलाई व्यवसायिक खेतीमा प्रोत्साहन मिल्ने कृषि ज्ञान केन्द्रले जनाएको छ । उद्योगले किसानलाई आलुको बिउँ समेत उपलब्ध गराउने छ । 
बजारको सुनिश्चितता भएपछि आलुखेती गर्ने किसानहरु यस वर्ष खेती विस्तारको तयारीमा जुटेका छन ।  दुई विघा जमिनमा आलुखेती गर्दै आउनुभएका कञ्चनपुरको बेदकोट नगरपालिका–५ धरमपुरका कलुवा कामी यस वर्ष खेती विस्तार गरेर पाँच विघा पुर्याउने तयारीमा हुनुहुन्छ । उत्पादन गरिएको आलुको बजार सुनिश्चितता भएपछि खेती बढाउन लागेको उहाँले बताउनुभयो । “विगतका वर्षहरुमा बजारमा न्युन मुल्यमा बिक्रि गर्नुपर्ने र भण्डारणका लागि शीत भण्डार समेत नहुँदा समस्या हुने गरेको थियो ।” कामीले भन्नुभयो–“अहिले ज्ञान केन्द्रको समन्वयमा उद्योग संग सम्झौता भएपछि बजारको समस्या रहेन यस पटक पाँच विघा जमिनमा खेती गर्ने तयारीमा छु ।” उहाँले विगतमा दुई विघा जमिनमा आलु खेती गर्दै आएको बताउनुभयो । “यस पटक हामीले उत्पादन गरेको आलु खेतबाटै उठाउने सम्झौता भएको छ ।” उहाँले भन्नुभयो–“बजारको सुनिश्चितता भएपछि खेती विस्तारको योजना छ ।”
त्यसैगरी शुक्लाफाँटा नगरपालिका –३ जोनापुरका टिकाराम डगौरा समेत यस वर्ष आलु खेती विस्तारको तयारीमा लाग्नुभएको छ । गत वर्ष १२२ जनाको समुहमा १० विघा जमिनमा आलु खेती गर्दै आएका उहाँ यस वर्ष २० विघा भन्दाबढी जग्गामा खेती गर्ने तयारीमा हुनुहुन्छ । “विगतमा आलु भण्डारण गर्न समस्या थियो बजारमा न्युन मुल्यमा पनि बिक्रि गर्नुपर्ने बाध्यता थियो ।” डगौराले भन्नुभयो–“आलु चिप्स कम्पनीसंग किसानको बारीमै पुगेर आलु खरिद गर्ने सम्झौता भएपछि अब बजारको समस्या अन्त्य भएको छ ।” उहाँका अनुसार बजारमा आलुको कम मुल्य भएपनि उक्त कम्पनीले किसानलाई बजार मुल्यभन्दा बढीमा खरिद गर्नेछ । उहाँले गत वर्ष थारु आलुले बजार नपाएको बताउनुभयो ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार जिल्लामा एक हजार आठ सय हेक्टर जमिनमा आलुखेती हुँदै आएको छ । ज्ञान केन्द्रबाट प्रदान गरिने अनुदान र यसपटक किसानले उत्पादन गरेका आलुको बिक्रि सुनिश्चितता भएपछि आलुखेती बढ्दै गएको ज्ञान केन्द्रले जनाएको छ ।