शुक्रबार, २६ भदौ २०८३ || Sep 11, 2026
समाचार

महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निमार्ण

पश्चिमपाटी
54Shares
महेन्द्रनगर । महाकाली नदीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा एक हजार २२० मिटर पक्की तटबन्ध निर्माण सम्पन्न भएको छ ।
महाकाली नदीको बाढीबाट बर्सेनि नदी किनारका बस्ती र खेतीयोग्य जमिनमा हुँदै आएको क्षति न्युनीकरणका लागि सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय कञ्चनपुरले गत आर्थिक वर्षमा महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निमार्ण सम्पन्न गरेको छ । कार्यालयले महाकाली नदी नियन्त्रण तथा व्यवस्थापनका लागि नदी किनार ग्याबियन रिटेनिङ वाल र आरसिसि ब्लक लगायतका संरचना निमार्ण गरिएको आयोजनाका प्रमुख रञ्जन राज भट्टराईले जानकारी दिनुभयो । 
उहाँका अनुसार दोधारा चाँदनी नगरपालिका स्थित महाकाली नदीमा पाँच सय ७ मिटर र जोगबुढा नदीमा २५५ मिटर पक्की तटबन्ध निमार्ण गरिएको छ । त्यसैगरी भीमदत्त स्थित दोधारा चाँदनी झोलुङ्गे पुल क्षेत्रमा चार सय ५८ मिटर आरसिसि तटबन्ध निमार्ण गरिएको छ । त्यसका लागि रु ११ करोड ६५ लाख रकम खर्च भएको प्रमुख भट्टराईले जानकारी दिनुभयो । तटबन्ध निमार्णपछि हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको दोधारा चाँदनी नगरपालिकाको कुतियाकवर बस्ती सुरक्षित बनेको छ । उक्त बस्ती जोगाउन आयोजनाले ७६२ मिटर तटबन्ध निमार्ण गरेको छ । तटबन्ध निमार्ण भएपछि वर्षौदेखी बाढीको समस्या झेल्दै आएको कुतियाकवरमा बाढीको त्रास हटेको छ । 
पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर हरेक वर्ष जोगबुढा नदी र महाकाली नदीको बाढीबाट प्रभावित हुदै आएको थियो । वर्षायाममा डुबानबाट विस्थापित हुने यहाँका स्थानीयले जोगबुढा नदीमा तटबन्ध निमार्णपछि सुरक्षित महशुस गरेका छन । “चालु आर्थिक वर्षमा कुतियाकवरमा पनि जोखिम देखिएका स्थानमा काम गर्ने हाम्रो योजना छ ।” आयोजना प्रमुख भट्टराईले भन्नुभयो–“महाकाली नदी नियन्त्रण र व्यवस्थापनका लागि पुराना संरचनाहरु मर्मत गर्ने काम नियमित भइराखेका छन ।” उहाँका अनुसार महाकाली नदीमा २५ वर्ष पुरानो तटबन्ध जीर्ण हुँदै गएकाले कार्यालयले मर्मत सम्भार गर्दै आएको बताउनुभयो । “महाकाली पारी दोधारा चाँदनीमा सुख्खा बन्दरगाहर निमार्ण भइरहेको छ ।” उहाँले भन्नुभयो–“पुरानो तटबन्ध मर्मत गर्नुपर्ने आवश्यकता भएपछि आयोजनाले कार्यक्रममै समावेश गरेर काम गरिरहेको छ ।” उहाँले आयोजना कार्यालयले जोखिमयुक्त क्षेत्र पहिचान गरी प्राथमिकताका आधारमा नदी नियन्त्रणका संरचना निर्माण गर्दै आएको बताउनुभयो ।