महेन्द्रनगर । निर्माण कार्य अलपत्र पारिएका कञ्चनपुरका १५ वटा सडक आयोजनाका ठेक्का तोडिएको छ । पूर्वाधार विकास कार्यालयले निर्माण व्यवसायी र पूर्वाधार विकास कार्यालयबीच भएको सम्झौताअनुसार ठेक्का सम्पन्न गरिसक्नुपर्नेमा थप म्यादसमेत समाप्त भइसक्दा पनि काम सम्पन्न नभएपछि ती आयोजनाका ठेक्का तोडेको हो ।पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणराज जोशीका अनुसार काम नगरी ठेक्का अलपत्र पार्ने निर्माण कम्पनीको ठेक्का तोडिएको छ । “कार्यालयसँग सम्झौता गरेर समयमै काम नगर्ने २५ वटा ठेक्का तोड्ने प्रक्रिया सुरु गरेका थियौँ”, उहाँले भन्नुभयो, “दश वटाले अहिले धमाधम काम गरिरहेका छन् असार मसान्तमा काम सम्पन्न नगरिए ती ठेक्का अन्त्य गरिनेछ ।”कार्यालयका अनुसार आव २०७८/७९ देखि सुरु भएका धेरैजसो सडक आयोजनामा प्रगति न्यून देखिएपछि यस्तो कदम चालिएको हो । ठेक्का लिएका निर्माण व्यवसायीले काममा ढिलासुस्ती गर्दै आएपछि स्थानीयवासीले चर्को गुनासो गर्दै आएका थिए । केही सडकमा त प्रारम्भिक काम सम्पन्न नगरी वर्षौंदेखि अलपत्र छाडिएको अवस्था छ ।
कार्यालयका अनुसार एसएन निर्माणका चार, नागार्जुनको चार, राधाभानुका दुई, गणपतिका चार तथा आरपी कन्स्ट्रक्सनको एक वटा ठेक्का तोडिएको हो । ठेक्का रद्द गरिएका निर्माण व्यसायीबाट सार्वजनिक खरिद नियमावली, ०६४ को नियम १४१ र ठेक्का सम्झौताको प्रावधानबमोजिम कालोसूचीमा राख्न सिफारिस गरिने र ठेक्का सम्झौताको प्रावधानबमोजिम कार्य सम्पादन जमानत, धरौटीबापतको रकम पेस्की जफत गरिने कार्यालयले जनाएको छ ।
कार्यालयले ठेक्का सम्झौता तोड्दै १५ दिनभित्र निर्माण व्यवसायीलाई वित्तीय फरफारक गर्न समय दिएको छ । ठेक्का तोडिने सूचीमा ग्रामीण भेगका अधिकांश सडक परेका छन् । यी सडक नबन्दा स्थानीय बासिन्दाले दैनिक आवतजावत, कृषिउपज ढुवानी तथा आधारभूत सेवा लिन कठिनाइ भोग्दै आएका छन् । वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकका कारण जोखिम बढेको छ ।
थप समाचार
Add A Comment
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
Copyright © 2026All right reserved to Paschimpati.

