महेन्द्रनगर । पछिल्लो समय कञ्चनपुरमा क्रिकेटप्रति युवाहरूको आकर्षण बढ्दै गएको छ । तर खेल मैदानको अभावले भने क्रिकेट गतिविधि प्रभावित बनेको छ । खेल मैदान नहुँदा प्रतियोगिता आयोजना गर्न समेत पालो पर्खिनुपर्ने अवस्था छ । महेन्द्रनगरस्थित कभर्डहलको खेल मैदानमा क्रिकेट बाहेकका अन्य खेल प्रतियोगिता हुन थालेपछि क्रिकेट प्रतियोगिता गराउन समस्या हुन थालेको कञ्चनपुर खेलकुद विकास समितिले जनाएको छ । समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले एउटै खेल मैदानमा सबै खेलहरु खेलाउनुपर्ने बाध्यता रहेको बताउनुभयो ।
“कञ्चनपुर विभिन्न खेलका धेरै खेलाडी उत्पादन भएको जिल्ला हो, तर यहाँ खेल पूर्वाधारको कमी छ”, उहाँले भन्नुभयो, “खेलकुद समितिसँग भएको १५ विघा जग्गामा खेल मैदान छ, त्यहाँ एउटै खेललाई मात्र दिन सकिने अवस्था छैन । उक्त मैदान सबै खेल अभ्यासका लागि प्रयोग हुने गरेको छ ।” जिल्लाका विभिन्न क्लब तथा संस्थाहरूले प्रतियोगिता आयोजना गर्न उपयुक्त मैदान नपाउँदा कार्यक्रम सञ्चालनमै कठिनाइ भोगिरहेका छन । यहाँको ब्रिष्टिन कलेजले रु एक लाख पुरस्कार राशिको क्रिकेट प्रतियोगिता सञ्चालन गरेको छ । कञ्चनपुर जिल्ला क्रिकेट सङ्घको आयोजनामा अन्तरमाध्यमिक विद्यालय स्तरीय जिल्ला छनौट प्रतियोगिता सञ्चालन गर्न मैदान उपलब्ध नहुँदा पालो पर्खिनुपरेको जिल्ला क्रिकेट सङ्घका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले बताउनुभयो ।
“यहाँ क्रिकेटप्रति युवाहरुको बढ्दो आकर्षण छ, प्रतियोगिताहरु हरेक महिनाजसो भइरहन्छन । तर मैदान अभावले प्रतियोगिता सञ्चालनमा समस्या हुने गरेको छ”, उहाँले भन्नुभयो, “सङ्घले आयोजना गर्ने जिल्ला छनौट प्रतियोगिता गर्न ब्रिष्टन कलेजको प्रतियोगिता दुई दिन ढिला गर्नुपर्यो ।” मैदान अभावले क्रिकेटका लागि नियमित अभ्यास र प्रतियोगिता आयोजना गर्न समस्या हुँदा खेलाडीको क्षमता विकास र प्रतिभा पहिचान प्रक्रियामा समेत असर परेको छ । क्रिकेटको इतिहास हेर्दा विगतदेखि अहिलेसम्म यो खेलका राष्ट्रिय स्तरका खेलाडी यहाँ उत्पादन भएका छन् ।”
अहिले पनि कञ्चनपुरका दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, भीम सार्की, सन्दिप जोरालगायतका खेलाडी नेपाली राष्ट्रिय टोलीबाट खेलिरहेका छन् । महिलातर्फ माया रावत, विन्दु रावललगायत खेलाडीले राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । कञ्चनपुरमा क्रिकेटको क्रेज गाउँगाउँसम्म रहे पनि यहाँ खेल मैदान बनाउने विषय भने हालसम्म प्राथमिकतामा पर्न सकेको छैन । महेन्द्रनगरस्थित कभर्डहल परिसरमा क्रिकेट मैदानका लागि जग्गा उपलब्ध रहेको भए पनि मैदान निमार्ण हुन सकेको छैन । आर्थिक वर्ष २०७६/७७ मा राष्ट्रिय खेलकुद परिषद्ले रकम विनियोजन गरी सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिति धनगढी मार्फत ठेक्का आह्वान गरेर क्रिकेट मैदान निर्माण थालेपनि अहिले बजेटलगायत कारणले निर्माण अघि बढ्न सकेको छैन ।
कभर्डहलमा गुरुयोजनाभन्दा बाहिर गएर धेरै संरचनाहरु बनेका कारण क्रिकेट मैदान बनाउन विनियोजित रु एक करोडभन्दा बढी बजेट माटो भरानमै सकिएको छ । अरु काम अघि बढ्न सकेको छैन । क्रिकेट मैदान निर्माणस्थलमै जिल्ला खेलकुद विकास समितिले विगतमा माछा पोखरी निर्माणका लागि जग्गा ठेक्कामा दिँदा अहिले क्रिकेटका लागि उपलब्ध भएको रकम त्यही पोखरी सम्याउनमा खर्च भएको छ । चालु आर्थिक वर्षमा विनियोजित रकम रु ५० लाख मैदानमा माटो भरानका लागि ठेक्का सम्झौता भएको छ ।
विभिन्न खेलमार्फत अन्तर्राष्ट्रिय स्तरमा मुलुकको नाम चिनाउन सफल यहाँका खेलाडीले न्यूनतम पूर्वाधारको सुविधा पनि पाउन नसकेका सरोकारवालाहरु बताउँछन् । नेपाल क्रिकेट सङ्घ (क्यान) का केन्द्रिय अध्यक्ष चतुरबहादुर चन्दले नेपाली राष्ट्रिय क्रिकेट टोलीमा सुदूरपश्चिमका खेलाडीको सहभागिता रहँदै आएको उल्लेख गर्दै यस क्षेत्रमा खेल पूर्वाधारको अभाव रहेको बताउनुभयो ।
“सिनियर टोली बाहेक हरेक उमेर समुहमा राष्ट्रिय टोलीमा सुदूरपश्चिमका खेलाडीको सहभागिता छ । तर यहाँ एउटा पनि स्तरीय खेल मैदान छैन”, अध्यक्ष चन्दले भन्नुभयो । राज्यले खेल पूर्वाधारका लागि यस प्रदेशमा लगानी गर्न नसकेको उहाँले गुनासो गर्नुभयो । पछिल्लो समय जिल्ला स्तरमा हुने प्रतियोगिताबाट प्रतिभावान खेलाडी उत्पादन हुने गरेको भए पनि खेलाडीलाई राज्यले उचित सेवा सुविधा तथा खेल संरचनामा लगानी गर्न नसकेको उहाँको भनाइ छ ।
थप समाचार
Add A Comment
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
Copyright © 2026All right reserved to Paschimpati.

