महेन्द्रनगर । लामो समयदेखि अवरुद्ध रहेको महाकाली सिचाइ व्यवस्थापन अन्तर्गतको नहरमा डेढ वर्षपछि पुनः पानी सञ्चालनमा आएको छ ।
कञ्चनपुरको बेलडाडी र शिवनरमा क्षेत्रमा बाढीले मुल नहर भत्काएपछि डेढ वर्षदेखी सिचाइ सेवा अवरुद्ध रहेको थियो । नहर भत्किएर अवरुद्ध भएपछि यहाँका किसान सिचाइ सुविधाबाट वञ्जित भएका थिए । महाकाली सिचाइ व्यवस्थापन कार्यालय कञ्चनपुरले भत्किएको नहर निमार्ण सम्पन्न गरेपछि नहरमा पानी सञ्चालनमा आएको छ । नहर अवरुद्ध हुँदा सिचाइ समस्या झेल्दै आएका यहाँका किसानलाई राहत मिलेको स्थानीय मिलन थापाले बताउनुभयो । “नहरमा पानी नआउँदा धेरै नै समस्या भएको थियो ।” उहाँले भन्नुभयो–“यस पटक सिचाइ गर्न सहज हुन्छ ।” नहर जीर्ण हुँदा विभिन्न ठाउँमा भत्किएर पानी चुहावट हुँदा किसानका खेतसम्म पानी पुग्न कठिन भएको यहाँका अर्का स्थानीय केशव विष्ट बताउँछन । “सिचाइ व्यवस्थापन कार्यालयले नहरको स्तरोन्नती गर्न जरुरी छ अहिले पनि नहरमा धेरै स्थानमा पानी चुहावट भइरहेको छ ।” उहाँले भन्नुभयो–“चुहावटका कारण हिउँदमा किसानको खेतसम्म पानी थोरै मात्रामा पुग्छ ।”
सिचाइ व्यवस्थापन कार्यालयका इन्जिनियर उपेन्द्र उप्रेती बेलडाडी र शिवनगर क्षेत्रमा नहर निमार्ण सम्पन्न भएपछि पानी सञ्चालनमा आएको जानकारी दिनुभयो । उहाँका अनुसार शिवनगरमा २९० मिटर नहर संगै आवश्यक संरचना निमार्ण गरिएका छन । त्यसैगरि बेलडाडीमा १०२ मिटर मुल नहर निमार्ण गरिएको हो । “बाढीले नहर भत्काएपछि उक्त क्षेत्रमा डेढ वर्षदेखी सिचाइ अवरुद्ध थियो ।” उहाँले भन्नुभयो–“नहर निमार्ण संगै अन्य आवश्यक संरचनाहरु समेत निमार्ण सम्पन्न गरेपछि पुनःपानी सञ्चालनमा आएको छ ।” डेढ वर्षदेखी रोकिएको सिचाइ सेवा पुनः सञ्चालनमा आएपछि यहाँका स्थानीय कृषकहरुलाई राहत मिलेको छ । उक्त नहरबाट यहाँ तीन हजार चार सय हेक्टर क्षेत्रफलमा सिचाइ सुविधा उपलब्ध हुँदै आएको छ ।
सिचाइ व्यवस्थापन कार्यालयले उक्त नहर निमार्णका लागि २०८१ फागुन १३ मा रु ४ करोड ५१ लख ८१ हजारमा पिसि एस एन एस एसएसडि जेभीसंग सम्झौता गरेको थियो । सम्झौता अनुसार २०८२ पुस १५ मा निमार्ण गरिसक्नुपर्ने थियो । कार्यालयका अनुसार उक्त क्षेत्रमा नहर संरचनाहरु जीर्ण हुँदा विभिन्न स्थानमा नहरमा चुहावट हुने समस्या देखिएको छ । “हामीसंग पर्याप्त बजेट नहुँदा नहरको स्तरोन्नती गर्न समस्या भएको छ ।” सिचाइ व्यवस्थापन कार्यालयका इन्जिनियर उप्रेतीले भन्नुभयो–“उक्त नहरमा पानीको चुहावट रोक्न करिब १० करोड बजेट आवश्यक देखिएको छ ।” व्यवस्थापन कार्यालयले सोहि क्षेत्रमा किसानको सिचाइ सुविधाका लागि सोलार प्रविधिबाट समेत दुई सय हेक्टरमा सिचाइ सुविधा उपलब्ध गराएको छ ।
कञ्चनपुरमा कुल खेतीयोग्य जमिन एक लाख ६१ हजार सात सय ४१ हेक्टर रहेको छ । जसमध्ये ५९ हजार छ सय दुई हेक्टर अर्थात् ३६ प्रतिशत जमिनमा खेती हुने गरेको छ । यसको २९ प्रतिशत क्षेत्रफलमा मात्रै सिचाँइ सुविधा उपलब्ध हुने गरेको छ ।
हाल महाकाली सिचाँइ आयोजना पहिलो र दोस्रो चरणबाट ११ हजार ६ सय हेक्टर क्षेत्रफलमा सिचाँइ सुविधा उपलब्ध छ । २०४२ मा सुरु भई ०४८ मा सम्पन्न भएको महाकाली सिचाँइ पहिलो चरणबाट ४ हजार ८ सय हेक्टर र ०५२ मा सम्पन्न भएको दोस्रो चरणबाट ६ हजार ८ सय हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ ।
थप समाचार
Add A Comment
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
Copyright © 2026All right reserved to Paschimpati.

