महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशका सशस्त्र प्रहरी नायब महानिरीक्षक दिग विजय सुवेदीको स्वागत तथा परिचयात्मक कार्यक्रम आयोजना गरेको छ । संघका अध्यक्ष दिनेश मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्षहरू, कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक प्रेम प्रकाश सिग्देल, संघका पदाधिकारी, सदस्य तथा उद्योगी व्यवसायीहरूको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा नेपाल–भारत सीमा क्षेत्रमा देखिएका विभिन्न समस्या, चोरी पैठारी नियन्त्रण, लागूऔषध ओसारपसार रोकथाम तथा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो । संघका अध्यक्ष दिनेश मल्लले जिल्लामा बढ्दो लागूऔषध समस्या विकराल बन्दै गएको बताए । लागूऔषधले युवापुस्तालाई नराम्ररी असर गरिरहेको उल्लेख गर्दै यसलाई निर्मूल पार्ने गरी प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याए । “लागूऔषधको विषय आज कञ्चनपुरको सबैभन्दा गम्भीर समस्यामध्ये एक बनेको छ।” मल्लले भने–‘युवाहरू कुलतमा फसिरहेका छन्। तपाईंको नेतृत्वमा यसलाई निर्मम ढंगले नियन्त्रण गर्नुपर्छ ।” उनले सीमा क्षेत्रमा भइरहेको चोरी–तस्करी नियन्त्रणमा समेत सशस्त्र प्रहरीको भूमिका अझ प्रभावकारी हुनुपर्ने बताए ।
सहभागीहरूले सीमा क्षेत्रका चुनौतीहरू समाधान गर्न सुरक्षा निकाय र निजी क्षेत्रबीच समन्वय आवश्यक रहेको धारणा व्यक्त गरेका थिए । उक्त कार्यक्रममा सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगविजय सुवेदीले उद्योगी–व्यवसायीले उठाएका सबै विषयलाई गम्भीर रूपमा लिएको बताए । उनले व्यापार सहजीकरण र वैधानिक व्यापार प्रवद्र्धनका लागि सशस्त्र प्रहरीले विभिन्न पहल गरिरहेको जानकारी दिए । “नेपालका उद्योग व्यवसायहरूलाई सहज वातावरण उपलब्ध गराउने उद्देश्यले १०० रुपैयाँको इसु (ई–सिस्टम) कार्यान्वयन गराउन हामीले प्रयास गरेका छौं। यो पहल सफल पनि भएको छ,” उनले भने। उनले सशस्त्र प्रहरीको प्रमुख उद्देश्य वैधानिक व्यापारलाई प्रोत्साहन गर्नु र अवैध गतिविधि नियन्त्रण गर्नु रहेको स्पष्ट पारे । सुवेदीले सीमा क्षेत्रमा हुने चोरी–तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीले सक्रिय रूपमा काम गरिरहेको बताए । उनले वैशाख महिनामा मात्रै कञ्चनपुर जिल्लाबाट ७५ लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न सामान बरामद गरी भन्सार कार्यालयमा दाखिला गरिएको जानकारी दिए ।
उनले तस्करी नियन्त्रणलाई अझ प्रभावकारी बनाउन सीमा क्षेत्रमा निगरानी र गस्ती बढाइएको जानकारी दिए । सीमा क्षेत्र लागूऔषध ओसारपसारको मुख्य मार्ग बन्न नदिन सुरक्षा सतर्कता बढाइएको उनको भनाइ थियो । स्वागत तथा परिचयात्मक कार्यक्रममार्फत उद्योगी व्यवसायी र सुरक्षा निकायबीच आपसी सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
थप समाचार
Add A Comment
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
Copyright © 2026All right reserved to Paschimpati.

