विविधताको बीचमा सहिष्णुता, दुःख-सुख साटासाट गर्ने भातृत्व र एक-अर्काको पीडाप्रति संवेदनशीलताको जगमा उभिएको नेपाली समाज सदियौंदेखि एउटा जीवन्त उदाहरण थियो — हिमाल, पहाड र तराईको भौगोलिक विविधतासँगै जातजाति, भाषा, धर्म र संस्कृतिको बहुलता भए पनि यो समाजले “हामी सबै नेपाली” को भावनालाई सधैं जीवन्त राखेको थियो। गाउँको पिपल चौतारी देखि चोकको चिया पसल सम्ममा छिमेकीको समस्या आफ्नै जस्तो ठानेर छलफल हुन्थ्यो, गाउंघरमा कसैको घरमा शुभकार्य हुंदा होस् वा कुनै आपद-विपद पर्दा होस, बाढीपहिरो वा भूकम्प आउँदा स्वतः सहयोगका हातहरू फैलिन्थ्यो र विवाद भए पनि “भाइ-भाइ” को सम्बन्धले अन्ततः समाधान खोजिन्थ्यो। तर आज यो जग नै हल्लिँदै छ। तीव्र आधुनिकीकरण, राजनीतिक अस्थिरता, सामाजिक सञ्जालको दुरुपयोग र आर्थिक दबाबले नेपाली समाजलाई यति छिटो स्खलनतर्फ धकेलेको छ कि परम्परागत मूल्यहरू मात्र होइन, समाजको नैतिक आधार नै कमजोर बन्दै गएको छ।
यो स्खलनको पहिलो र स्पष्ट प्रमाण हो “सहिष्णुताको ह्रास” पहिले जातजाति, धर्म वा क्षेत्रीयताको आधारमा मतभेद भए पनि त्यसलाई “समाजको सौन्दर्य” मानिन्थ्यो। अहिले भने सामाजिक सञ्जालमा एउटा पोस्टले नै घृणाको आगो बल्किन्छ। फेसबुक, टिकटक र एक्स (ट्विटर) मा जातीय, क्षेत्रीय र पार्टीगत टिप्पणीहरूले हिंसात्मक भाषा प्रयोग गर्न थालेका छन्। २०७६ को नाकाबन्दीदेखि २०८० को विभिन्न आन्दोलनसम्मका घटनाहरूले देखाएजस्तै, सानो मुद्दालाई पनि “ तेरो-मेरो र हाम्रो-उहाँको” बनाएर समाजलाई ध्रुवीकृत गर्ने प्रवृत्ति बढ्दो छ। राजनीतिक दलहरूले पनि निर्वाचनमा “ पहिचानका नाममा हाम्रो जाति/क्षेत्र” को कार्ड खेल्न थालेका छन्, जसले संघीयताको नाममा पहिले नै एकीकृत रहेको समाजलाई टुक्र्याउने काम गरेको छ।संघीयताको सुन्दर बगैंचामा जातिय ,भेगिय तथा क्षेत्रीय धुर्विकरणको विषालु कांडा रोपिएको छ ।
हामीले चाहेको सभ्य समाजको लागी भातृत्वको क्षयीकरण अझ पीडादायी छ। एक समय गाउँको एउटा घरमा विवाह हुँदा सारा गाउँ जुट्थ्यो, मृत्यु भएमा शोकमा सँगै रुन्थ्यो। अहिले शहरको बसाइँ र वैदेशिक रोजगारीले परिवार नै टुक्रिएको छ। युवाहरू रोजगारीका लागी खाडी र मलेसिया पसेका छन् भने विदेशी शहरको रौनकमा रमाउने अभिलाषाले युरोप र अमेरिका दौडिएकाछन, बृद्ध बाबुआमा एक्लै छन्। रेमिट्यान्सले घर बनाए पनि भावनात्मक सम्बन्ध भत्किएको छ। अध्ययनहरूले देखाएअनुसार नेपालमा ४० प्रतिशतभन्दा बढी युवा विदेशिन्छन्, जसले गाउँहरू रित्तिएका छन्। यसले “भाइचारा” को भावना मात्र होइन, सामुदायिक जिम्मेवारी पनि गुमाएको छ। पहिले कसैको घरमा आगो लागे सबैले पानी बोकेर दौडिन्थे; अहिले “ आफ्नो वाहेक अरु को होर ” भन्ने सोच हावी भएको छ।
सबैभन्दा दुखद् पक्ष भने संवेदनाको मृत्यु हो। धेरै टाढा जानुपर्दैन २०७२मा आएको महाभूकम्पमा जुन एकताको लहर देखियो, त्यही संवेदना अहिले हराइसकेको जस्तो लाग्छ। सडक दुर्घटनामा कोही मर्दा मोबाइल निकालेर भिडियो खिच्ने, अस्पतालमा बिरामीको पीडा देखेर “ट्रोल” गर्ने र विपत्तिमा पनि राजनीतिक फाइदा खोज्ने प्रवृत्ति बढ्दो छ। मानसिक स्वास्थ्य समस्या आकाशिँदै छन् — नेपालमा आत्महत्या दर विश्वमै उच्च छ, खासगरी युवा र महिलामा। संवेदनाको अभावले गर्दा डिप्रेसन, एन्जाइटी र पारिवारिक हिंसा बढेका छन्। महिला हिंसा, बालश्रम र वृद्धहरूको उपेक्षा जस्ता मुद्दाहरूले समाजको संवेदनशीलताको मापन गरिरहेका छन्।
यस स्खलनले पारेको सामाजिक प्रभाव
सामाजिक एकताको विघटन एउटा अत्यन्तै तिव्रगतिमा हाम्रो समाजमा भित्रिएको ठुलो समस्या हो, समाज अब “सङ्कुचित समूह” मा विभाजित भएको छ। पार्टी, जाति वा क्षेत्रको घेराभित्र मात्र विश्वास गरिन्छ। यसले सामुदायिक कार्यक्रम, सहकारी र स्थानीय विकासमा बाधा पुर्याएको छ यसका साथै मानसिक स्वास्थ्य सङ्कट पनि त्यत्तिकै डरलाग्दो अवस्थामा पुगेको छ । संवेदनाको कमी र भातृत्वको अभावले एक्लोपन बढाएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा १८ प्रतिशतभन्दा बढी जनसंख्याले मानसिक समस्या भोगिरहेका छन्। यसले उत्पादकत्व घटाएको छ र अपराध दर पनि बढाएको छ।युवा पुस्ताको विचलन तपाईं हाम्रो हरेक परिवारले भोगिरहेको वर्तमानको यथार्त हो, नयाँ पुस्ताले “मैले मात्र” को संस्कृति सिकिरहेको छ। सामाजिक सञ्जालले तत्कालीन सन्तुष्टि र तुलनात्मक ईर्ष्या बढाएको छ। फलस्वरूप पढाइ, करियर र सम्बन्धहरूमा अस्थिरता आएको छ। आर्थिक र सांस्कृतिक क्षतिका करण सामाजिक अस्थिरता निम्तिएको छ जसले लगानीकर्तालाई डराएको छ। पर्यटन र कृषिमा आधारित अर्थतन्त्रलाई समेत असर परेको छ। सांस्कृतिक रूपमा नेपाली पहिचान नै कमजोर बन्दै छ।संवेदनशील समाज विपत्तिमा एकजुट हुन्छ तर अहिलेको विभाजित समाजले भूकम्प, बाढी वा महामारीमा समेत सामूहिक प्रतिक्रिया दिन सकिरहेको छैन।
के यो स्खलन अपरिवर्तनीय हो?
होइन। नेपाली समाजको जग अझै पनि बलियो छ — गाउँका केही ठाउँमा अझै सहयोगको भावना जीवित छ, धार्मिक सहिष्णुता कायम छ र युवाहरूमा परिवर्तनको चाहना छ। तर यसलाई बचाउन शिक्षा, परिवार र राज्यको भूमिका अपरिहार्य छ।यसका लागी शिक्षा प्रणाली मा नैतिक शिक्षा र सामाजिक संवेदनशीलतालाई अनिवार्य बनाउनुपर्छ भने सामाजिक सञ्जाल लाई जिम्मेवार बनाउन कानुन र जागरण आवश्यक छ। परिवार लाई पुनः केन्द्रमा राखेर सम्बन्ध सुधार्ने अभियान चलाउनुपर्छ।राजनीतिक दल हरूले “विभाजन” होइन “एकता” को राजनीति गर्नुपर्छ र सञ्चार माध्यम ले सकारात्मक र अनुकरणीय सामाजिक कथाव्यथा हरुलाई प्राथमिकता दिनुपर्छ।
नेपाली समाजको स्खलन भविष्यका लागी एउटा चेतावनी हो। यदि हामीले सहिष्णुता, भातृत्व र संवेदनालाई फेरि जगमा उभ्याउन सकेनौं भने यो समाजको भविष्य अन्धकारमय हुनेछ। तर यदि हामीले आजै “म” बाट “हामी” तर्फ फर्कन सके भने यो स्खलनलाई रोक्न सकिन्छ। नेपाली समाजको सौन्दर्य नै यसको विविधता र एकतामा छ — यो जग फेरि बलियो बनाउनु हामी सबैको दायित्व हो।राजनितिको घृणित खेलवाट विखण्डित भएको यो समाज र स्वर्थको जालोवाट प्रेरित मानसिकतालाई वाहिर निकाल्न तपाईं हाम्रो सबैको समान दायित्व र जिम्मेवारीवोध आवश्यक छ ।

