महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा व्यवसायीहरुलाई लक्षित गर्दै बीमा सचेतना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार संघको सभाहलमा आयोजित उक्त कार्यक्रममा जिल्लाभरका विभिन्न क्षेत्रका व्यवसायीहरुको सहभागिता रहेको थियो । शिखर इन्स्योरेन्सको सहयोगमा उक्त कार्यक्रममा बीमा सम्बन्धी आधारभूत जानकारी, बीमाको आवश्यकता, व्यवसायमा हुन सक्ने जोखिम व्यवस्थापन तथा क्षति न्यूनीकरणमा बीमाको भूमिकाबारे विस्तृत रूपमा जानकारी गराइएको थियो । कार्यक्रमका प्रमुख अतिथि शिखर इन्स्योरेन्सका महाप्रबन्धक उदिप प्रसाद काफ्लेले प्राकृतिक विपद्, आगलागी, चोरी तथा अन्य आकस्मिक घटनाबाट व्यवसायमा पर्न सक्ने असर न्यूनीकरणका लागि बीमा अत्यन्तै आवश्यक रहेको बताउनुभएको छ । उहाँले बीमाको महत्व बारे जानकारी दिनुका साथै बिमाबाट पाउने सुविधा बारे व्यवसायिहरुलाई जानकारी गराउनुभएको थियो ।
त्यसैगरी कार्यक्रममा शिखर इन्स्योरेन्सका क्षेत्रीय प्रमुख दिल्ली शर्माले देश विकासको मेरुदण्ड अर्र्थतन्त्र रहेको उल्लेख बताउनुभयो । उहाँले व्यवसायीहरुका चुनौती सामना,जोखिम न्यूनिकरण गर्न बीमा व्यवसायीक जीवनमा महत्वपूर्ण रहेकाले यसको सदुपयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश मल्लले वर्तमान समयमा व्यवसायमा अवसर संगै विभिन्न जोखिमहरु रहेकाले प्राकृतिक विपद,आर्थिक अनिश्चितता लगायतका कारणले कुनै पनि बेला उद्योग तथा व्यवसायमा क्षति हुन सक्ने भएकाले व्यवसायलाई सुरक्षित राख्न बीमा महत्वपूर्ण आधार भएको बताउनुभयो ।
“संघले उद्योगि व्यवसायीहरुलाई बीमाको महत्व,प्रक्रिया र फाइदाका बारेमा जानकारी गराउने उदेश्यले कार्यक्रमको आयोजना गरेका हो ।” उहाँले भन्नुभयो–“अझै पनि उद्योगी व्यवसायीहरुमा बीमाप्रति पर्याप्त जानकारी र सचेतनाको अभाव रहेको छ ।” उहाँले बीमा खर्च नभई भविष्यको सुरक्षा र स्थायित्वको लागि गरिने लगानी भएको बताउनुभयो । उहाँले व्यवसायलाई सुरक्षित बनाउन कार्यक्रमबाट प्राप्त जानकारीलाई व्यवहारमा उतार्दै आफ्नो उद्योग व्यवसायलाई सुरक्षित बनाउन आग्रह गर्नुभयो । बीमा कम्पनीलाई सेवा अझै सहज,पारदर्शी र विश्वसनीय बनाउने विश्वास समेत व्यक्त गर्नुभयो । संघले पछिल्लो समय व्यवसायि हितमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
शिखर इन्स्योरेन्स संग सम्झौता गरेर संघमा आवद्ध दुई हजार बढी व्यवसायीहरुको रु एक लाख सम्मको दुर्घटना बिमा गरिसकेको छ । व्यवसायिक क्षेत्रमा बढ्दो जोखिमलाई मध्यनजर गर्दै व्यवसायीहरुलाई बीमाको दायरामा ल्याई सुरक्षित र दिगो व्यवसाय वातावरण निर्माण गर्न संघ प्रतिबद्ध रहेको जनाएको छ । कार्यक्रममा सहभागी व्यवसायीहरुले पनि बीमाबारे धेरै जानकारी प्राप्त भएको र यसले आफ्ना व्यवसायलाई सुरक्षित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा निमार्ण व्यवसायी,हार्डवेयर व्यवसायी,यातायात व्यवसायी, औषधी व्यवसायी,होटेल व्यवसायी र प्याबसन तथा एनप्याबसन लगायतका संस्थाबाट उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो । त्यसैगरी बैंकका प्रतिनिधि र सहकारी संस्थाबाट समेत सहभागिता रहेको थियो । संघका महासचिव राहुल भट्टले सञ्चालन गरेको उक्त कार्यक्रममा संघका अध्यक्ष दिनेश मल्लले स्वागत मन्तव्य राख्नुभएको थियो भने वरिष्ठ उपाध्यक्ष दीपेन्द्र प्रकाश साउँदले सहभागी अतिथिहरुलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा संघका पूर्व अध्यक्षहरु यज्ञराज भट्ट,ऋषिराम खरेल,माधव प्रसाद भट्ट, हेमराज पाण्डे र जंग वहादुर मल्ल लगायतको उपस्थिति रहेको थियो ।




