महेन्द्रनगर । कञ्चनपुरमा वाई–वाई यू–१९ जिल्ला छनौट प्रतियोगिता सुरु भएको छ। कञ्चनपुर जिल्ला क्रिकेट संघको आयोजनामा बुधबारदेखि महेन्द्रनगरस्थित कवर्डहलको खेल मैदानमा प्रतियोगिता सञ्चालनमा आएको हो । प्रतियोगिताको उद्घाटन कार्यक्रममा जिल्ला क्रिकेट संघका अध्यक्ष विरेन्द्र बहादुर चन्द, सुदूरपश्चिम प्रदेश सचिव लक्ष्मण भट्ट, जिल्ला सचिव विशाल सोनार, संघका सल्लाहकार दीपक चालिसे तथा माया रावत साउँद लगायत संघका पदाधिकारी र खेलाडीहरूको उपस्थिति रहेको थियो । जिल्लास्तरीय उक्त प्रतियोगितामा जिल्लाभरिका ६ वटा एकेडेमी तथा क्लबहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ । उद्घाटन खेलमा होली फेमली क्रिकेट एकेडेमी र फार्वेष्टन क्रिकेट क्लबबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा होली फेमली क्रिकेट एकेडेमीले उत्कृष्ट प्रदर्शन गर्दै १९६ रनको फराकिलो अन्तरले शानदार जित हासिल गरेको छ । प्रतियोगिताअन्तर्गत बिहीबार दोधारा चाँदनी क्रिकेट एकेडेमी र खप्तड इन्डोर स्पोट्र्सबीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी तेस्रो खेल आदर्श युवा समाज र होली फेमली क्रिकेट एकेडेमीबीच हुनेछ । शनिबार ममताज क्रिकेट एकेडेमी र दोधारा चाँदनी क्रिकेट एकेडेमीबीच प्रतिस्पर्धा हुने कार्यक्रम रहेको छ। साथै अन्य खेलहरूमा फार्वेष्टन क्रिकेट क्लब र आदर्श युवा समाज तथा खप्तड इन्डोर स्पोट्र्स र ममताज क्रिकेट एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ ।

