महेन्द्रनगर । कञ्चनपुरमा पाँचौ पालिका स्तरीय भीमदत्त मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । जिल्ला क्रिकेट संघ कञ्चनपुरको आयोजनामा तथा भीमदत्त नगरपालिकाको मुख्य प्रायोजनमा आइतवारदेखी महेन्द्रनगर स्थित कवर्ड हलमा पालिका स्तरीय पाँचौ भीमदत्त मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगितासुरु भएको हो । प्रतियोगिताको उद्घाटन भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले गरे । प्रतियोगिताको उद्घाटन गर्दै उहाँले पछिल्लो समय क्रिकेट फस्टाइरहेको बताउँदै नेपाल प्रिमियर लिगमा भीमदत्त नगरपालिकाबाट मात्रै १३ जना खेलाडी सहभागी भएको बताए । “पालिका संग सिमित बजेट भएपनि क्रिकेटको विकासका लागि हामी प्रयत्न गरिराखेका छौ ।” नगर प्रमुख बोगटीले भने–“क्रिकेट मात्रै नभइ पालिकाले अन्य खेलकुदलाई पनि प्रोत्साहन गरिरहेको छ ।” जिल्ला क्रिकेट संघ कञ्चनपुरका अध्यक्ष विरेन्द्र वहादुर चन्दले हरेक पालिकामा रहेका प्रतिभाहरुको खोजी गर्न संघले उत्सवका रुपमा प्रतियोगिता सञ्चालन गरेको बताए ।

“खेलाडीहरुले यहाँ संघर्ष गरे मात्रै राष्ट्रिय स्तरमा छनौट हुन सहयोग पुग्छ ।” उनले भने–“खेलमा सबैभन्दा ठुलो अनुशासन हो यसले अगाडी बढ्न सहयोग पुग्छ ।” समयमा प्रतियोगिता सञ्चालन गर्न खेल मैदान अभाव भएको चन्दको भनाई थियो । “खेल मैदान नहुँदा प्रतियोगिता सञ्चालन गर्न निकै समस्या छ,एउटै खेल मैदान हुँदा प्रतियोगिता सञ्चालनका लागि पालो पखिर्नुपर्ने अवस्था रहेको छ ।” उनले भने–“कवर्डहलमा प्लानिङ भएको खेल मैदानमा पर्याप्त बजेट नआँउदा सम्पन्न हुन सकेको छैन ।” चालु आर्थिक वर्षमा समेत उक्त मैदान निमार्णका लागि रु पचास लाख बजेट आएको भएपनि पर्याप्त छैन ।
प्रतियोगितामा यहाँका ६ वटा टीमको सहभागिता रहेको छ । एक सातासम्म सञ्चालन हुने प्रतियोगितामा विजेता टीमले नगद रु १ लाख ५५ हजार पाँच सय ५५ ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छ । उपविजेता टोलीले ७७ हजार ७७७ नगद,ट्रफि र प्रमाणपत्र पाउने छ । त्यसैगरि मैन अफ द सिरिज ११ हजार १११,उत्कृष्ट विधाका खेलाडीलाई ५ हजार ५५५,उदयमान खेलाडीलाई ४ हजार ४४४ र प्लेयसर अफ द म्चयाच १ हजार १११ नगद,ट्रफि र प्रमाणपत्र पाउने क्रिकेट संघले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेल दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिकाबीच हुदैछ । दोधाराले टस जितेर फिल्डिङ रोजेको थियो । प्रतियोगिता अहिले कवर्डहलमा जारी छ ।



