पौराणिक महाकाव्य महाभारत अनुसार महाभारतको युद्ध हुँदा सबैभन्दा युवा महारथी अभिमन्यु पौराणिक जेन-जी थिए र चक्रव्यूहको अर्धज्ञानको कारण अल्पायुमै वीरगति प्राप्त गरे । अभिमन्यु संग असीमित उर्जा थियो, साहस थियो, युद्ध कौशल थियो, हतियार थियो, सेना थियो तर यौटै कुराको कमि थियो त्यो हो चक्रव्यूह भेदन पश्चातको मार्ग चित्र । त्यस्तै सत्तापलट गर्न सक्षम जेन-जी क्रान्ति पश्चात हाम्रा जेन-जीहरु संग न कुनै स्पष्ट योजना छ, न कुनै ज्ञान र अनुभव । यस्तो राजनैतिक कुइरीमण्डलमा फेरी पनि जेन-जी क्रान्तिको उपलब्धी अभिमन्युको मृत्यु जस्तो हुने त होइन ? भन्ने संसय खडा भएको छ किनकि शकुनी र दुर्योधन जस्ता कपटी राजनैतिक महारथीहरू टाउको उठाउंदैछन् र जुनसुकै समयमा अभिमन्यु अर्थात् जेन-जी क्रान्तिको उपलब्धी माथि आक्रमण गर्न उद्धत छन् ।
सांस्कृतिक जनगणना लगायत इतिहासकार विलियम स्ट्रास र निल हावे, जनसंख्याविद मार्क मक क्रिंडल, डग्लस कुप्लंड आदि अनेकौं व्यक्ति र संस्थाहरुको संयुक्त अध्ययनले विद्यमान पुस्ताहरुको वर्गीकरण गरेको हो । उक्त अध्ययन अनुसार सन् १९९७ देखि २०१२ सम्म जन्मेको पुस्तालाई जेनेरेसन जेड जेन-जी भनिएको हो । उपर्युक्त वर्गीकरण हेर्दा लगभग १५ वर्षमा पुस्ता परिवर्तन भएको मानिएको छ र वर्तमान परिप्रेक्षमा १३ वर्ष देखि २८ वर्ष सम्मको युवा पुस्तानै जेन-जी हो । मेरो बुवाले म इन्टरमिडियटमा पढ्दा मलाई भनेको कुरा अक्षरशस् याद छ “पन्ध्र – पच्चीसको तिमीहरुको जस्तो उमेरमा गर्न नसकेको काम जिन्दगीमा कहिल्यै गर्न सकिँदैन” । पन्ध्र – पच्चीस यानी कि वर्तमान जेन(जी को उमेर अर्थात् जे पनि गर्न सकिन्छ भन्ने असीमित उर्जा भएको जीवनको कालखण्ड ।
२०८२ भाद्र २३ र २४ गतेको जेन-जीले गरेको दुई दिने प्रदर्शनले केहीमात्रामा राजनैतिक भाष्य परिवर्तन गरेको, विश्व रेकर्डनै स्थापित गर्ने गरि जम्मा छत्तीस घन्टामा सरकार ढालेको, स्थापित राजनैतिक संरचना माथि बलियो प्रहार गरेको र नयाँ किसिमको राजनैतिक शक्ति सन्तुलन स्थापित गरेकोले यसलाई जेन-जी आन्दोलनको सट्टा जेन-जी क्रान्ति भन्न उपयुक्त हुन्छ । हुन त धेरै विश्लेषकहरुले यसलाई आन्दोलन र कसैले युवा विद्रोह पनि भनेका छन् । पन्ध्र – पच्चीसे असीमित उर्जा, अठोट र साहसको परिचायक बनेको छ जे-जी क्रान्ति तर चक्रव्यूहमा फसेको अभिमन्यु जस्तो ।
प्रख्यात अध्यात्मिक दार्शनिक आचार्य रजनीश (ओशो)को अनुसार चक्रव्यूहमा सात चक्र हुन्छन् । महाभारतको चक्रव्यूहको भौतिक संरचना सिपाहीहरु द्वारा निर्मित हुन्छ तर हाम्रो वास्तविक जीवनमा भने चक्रव्यूहका सात चक्रको प्रतिनिधित्व बाहिरबाट भित्र तर्फ क्रमशः आकर्षण, भ्रम, भय, संघर्ष, मोह, थकान र समर्पणले गरेको हुन्छ । जेन-जी क्रान्तिले हाल सम्म चक्रव्यूहको पहिलो चक्र मात्र भेदन गरेको छ अर्थात् पूर्ववर्ती सरकार ढालेको छ र जेन-जी समर्थित सरकार निर्माण भएको छ । जेन-जीहरु चक्रव्यूहको दोश्रो चक्र अर्थात् भ्रममा पुगेका छन् । अहिले उनीहरु संग न त कुनै पूर्ववर्ती योजना छ न त कुनै समय सापेक्ष दिशा निर्देश गर्ने नेतृत्व ।
चुनावी काम चलाउ सरकार गठन भएको छ तर उक्त सरकारले पनि जेन-जी क्रान्तिको भावना समेट्न सकेको छैन फलस्वरूप जेन-जी का अनेकौं गुटहरुले नै वर्तमान सरकारको राजीनामा मागिसकेको छ साथै प्रधानमन्त्रीज्यूले सरकारको कामबारे हुने टिप्पणी र दबावको कारण हालसालै आफ्नो वितृष्णा सार्वजनिक गर्दै नेपाल पनि बंगलादेश जस्तो नहोस् भन्ने आशंका व्यक्त गरिसक्नु भएको छ । बंगलादेशमा जुलाई २०२४ मा भएको विधार्थी – जनता विद्रोह वा जुलाई क्रान्ती वा जेन-जी क्रान्ती पश्चात शेख हसिनाको सरकार अपदस्थ भै भारत पलायन भएको सन्दर्भमा गठित मोहम्मद युनुसको नेतृत्वमा गठित बंगलादेशी सरकारले २०२५ फरवरीमा तोकिएको आम निर्वाचन हाल सम्म हुन सकेको छैन । यद्धपि, २०२६ फरवरीमा हुनेगरि नयाँ मिति तोकिए पनि चुनाव हुनेकुरामा ढुक्क हुने अवस्था छैन ।
नेपालमा अहिले सम्म जेन-जी क्रान्तिले ओशोले भने अनुसारको चक्रव्यूहको दुईवटा चक्र पनि पूर्ण रुपमा भेदन गर्न सकेको छैन । तेश्रो चक्र अर्थात् भय तत्पश्चात शृजना हुने अवस्था हो । कुनै मार्ग चित्र स्पष्ट भए पो उक्त मार्गचित्र अनुसार काम हुने हो कि होइन भन्ने भय रहन्छ तर यहाँ त भ्रमको जालो नै पन्छिन सकेको छैन । त्यस पछिको क्रम मा आउने चक्रहरुमा संघर्ष, मोह, थकान र समर्पण त धेरै टाढाको कुरा भए ।
जेन-जी अगुवाहरुले जेन-जी समर्थित सरकार प्रमुखको राजिनामा माग्नु, संविधानको संवेदनशीलतालाई नबुझी हल्का टिप्पणी गर्नु, जुन संविधानले परिकल्पना गरेको संरचनाहरुबाट नै वर्तमान अवस्थाको शृजना भएको हो त्यसै संविधानलाई संसोधन वा पुनर्लेखन नगरी देशमा आमुल परिवर्तनको अपेक्षा गर्नु, बेला कुबेला जेन-जी अगुवाहरुले नै संसद पुनर्स्थापनाको कुरागर्नुलाई जेन-जीको क्रान्तिको एजेन्डा अपहरण भएको मान्न सकिने प्रशस्त आधारहरु तयार हुँदै गएका छन् ।
स्थापित पुराना राजनैतिक पार्टीहरुले पनि युवाहरु समेट्दै जेन-जी संगठन निर्माण गर्दै लगेका छन्, पार्टी संगठनमा युवाको प्रतिनिधित्व बढाउने प्रयत्न गरेका छन् । केहि पुराना नेता र पार्टीहरुले अप्रत्यक्ष रुपमा भएपनि जेन-जीले उठाएका माग सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गर्दै आफुबाट गल्ती भएकोले सुध्रिने अवसर दिन अनुरोध गरेका छन् । अनेकौं समूहमा विभक्त जेन-जी हरुले आफ्नो एक भरपर्दो नेतृत्व छनौट गर्न सकेको छैन । जेन-जी समूहहरुले २०८२ मंसिर २४ गते सरकार संग गरेको दस बुंदे (धेरै उप बुंदा भएको) सम्झौता हस्ताक्षर भएकै स्थानमा विवादित हुनु र च्यातिनु, कुनै जेन-जी समूहले सरकारको विरोध गर्दै प्रदर्शनमा उत्रिनु, कुनै जेन-जी समूहले संसद पुनर्स्थापनाको समर्थन गर्नु, कुनै समूहहरु काठमाण्डौका मेयर बालेन साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेको पछि भौंतारिनु आदिले साँच्चिकै भ्रम पैदा गरेको छ ।
यसै परिप्रेक्षमा धमिलो पानीमा माछा मार्न सकिन्छ किरु भनि च्याउ जस्तै उम्रेका सय भन्दा बढी पार्टीहरु जसमा कसैले आफुलाई जेन-जीकै पार्टी भनेर प्रस्तुत गरिरहेका छन्, मन्त्री कुलमान घिसिंग र मेयर बालेन साह समर्थित नयाँ खुलेका पार्टीहरु रास्वपा संग चुनाव केन्द्रित एकीकरण गर्न तत्पर हुनु, नेपाली कांग्रेस र एमाले जस्ता ठूला भनिएका पार्टीहरु एकीकृतरुपमा चुनाव लड्न सक्ने संकेत दिनु, प्रचण्ड नेतृत्वको मावोवादीले दस भन्दा धेरै पार्टीहरुसंग एकीकरण गरेर नेपाली कम्युनिष्ट पार्टी बनाई सक्नुले पनि चक्रव्यूहको भुमरी अझै सशक्त भएको छ ।
दुई दिने जेन-जी क्रान्तीको दौरान लुटिएका हतियार फिर्ता नभएको, जेलबाट भागेका हजारौं अपराधी यहि समाजमा हुनु, निवर्तमान प्रधानमन्त्री केपी ओलीले निर्वाचनमा सुरक्षा व्यवस्था यथेष्ठ नभएको भनि सुरक्षा माग गर्नु, नेत्र विक्रम चन्द विप्लवको पार्टीको कम्युनमा ठूलो मात्रामा विष्फोटक पदार्थ बरामद हुनु तथा उक्त पार्टीले समेत चुनाव हुन नदिने धम्कि दिनु र जेन-जी कै एक नेता सुदन गुरुंगले समेत चुनाव हुन नदिने धम्कि दिनुले वर्तमान परिस्थितिमा २०८२ फागुन २१ मा चुनाव हुने सम्भावना न्यून छ तथापी विद्यमान संविधानमा कुनै परिवर्तन नगरी यदि चुनाव भै हाले पुराना पार्टीहरुको केहि मत वा सीट संख्या अवश्य घट्ला तर तिनीहरुकै वर्चस्व देखिन सक्छ किनकी नेपाली समाज वंशाणुगत भोटबैंक हो र स्थापित किल्ला सितिमिति भत्किन सक्दैन जसलाई हरेक गाउँ र टोल सम्म फैलिएको पुरानो पार्टीहरुको संगठनले जोगाएर राख्दछ । वैकल्पिक शक्ति भनिएका पार्टीहरुले केहि सिमित चर्चित अनुहारहरुलाई जिताउन सक्ला । यद्धपि, कमजोर संगठन भएका नयाँ पार्टीहरुलाई पुराना संग देशव्यापी रुपमा प्रतिस्पर्धा गर्नु फलामको च्युरा चपाए सरह हुनेछ । फलस्वरूप, कुनैपनि पार्टीको एकल बहुमत आउने सम्भावना धेरै कम रहनेछ ।
तत्पश्चात विद्यमान संविधान अनुसार नै गठन गर्नुपर्ने वाध्यता रहनेछ जसले सत्ताकेन्द्रित राजनीतिलाई नै मलजल गर्नेछ । सिद्धान्तहीन र औचित्यहीन फोहोरी गठबन्धनको चक्रव्यूहमा रुमल्लिनु बाहेक नेपाली जनता संग कुनै विकल्प रहने छैन । त्यस्तो अवस्थामा दस वर्षे मावोवादी द्वन्द्वमा भन्दा बढी हतियार लुटिएको, २०७२ सालको भूकम्पभन्दा बढी भौतिक सम्पत्ति नष्ट भएको र सबैभन्दा पीडादायक ७६ जना जेन-जी सहिदको रगत सम्झिँदै आफु नेपाली हुनुमै पछुतो मानेर विखण्डित नेपाल वा वैदेशिक हस्तक्षेपको इन्तजारमा आँसु झार्दै बस्ने नेपालीजनलाई जेन-जीहरुले कसरि जेन-जी क्रान्तिको औचित्य पुष्टि गर्लान्रु यदि त्यसो भएमा जेन-जीहरु भने चक्रव्यूहको दोश्रो चक्रमै थकित, समर्पित, स्खलित र श्रापित किंवदन्ती महसुस हुनेछन् । स्मरण रहोस्, अभिमन्युले चक्रव्यूहका सात वटै चक्र भेदन पश्चात मृत्यु वरण गरेर असफल भएपनि अमर भएका थिए ।


4 Comments
सारै राम्रो छ यस्तै यस्तै लेख पढ्न पाईरहु सर ।
Sahi bislesan
अति उत्कृष्ट बिश्लेषण सहितको लेख दिर्घ कर्साब ।
जसरी अभिमन्नुलाई महाभारत युद्दका महानायक श्रीकृष्णले सम्पूर्ण कुराको ज्ञात हुदाहुदै पनि चक्रभ्युमा फस्नबाट वचाउन चाहेनन अर्थात यथार्थमा अभिमन्नुको बलिदान रोजेका थिए तेसैगरी यहा पनि केही तेस्तै खेल हुदै छ जस्तो लाग्दैछ ,
अर्को कुरा
यही फागुनमा चुनाब हुनै संकेत देखिदैन सायद कुनै निहुमा तेसलाई टारीनेछ ।
हेरौ परिस्थितिले के भन्छ ।
देशके जय होस ,
जय नेपाल !
पौराणिक पात्रको दृश्टान्तसहितको धुंवाधार लेख