विपीको समाजवाद र कांग्रेसमा मौलाएको विचलन

"लोकतन्त्र केवल शासन प्रणाली होइन, यो मानिसको जीवन जिउने संस्कृति हो।"
- विश्वेश्वरप्रसाद (विपी) कोइराला
नेपालको आधुनिक राजनीतिक इतिहासमा केही यस्ता व्यक्तित्व छन्, जसले आफ्नो जीवनकाल भन्दा धेरै टाढासम्म समाजलाई प्रभाव पार्ने विचार छोडेर गएका छन्। विश्वेश्वरप्रसाद (विपी) कोइराला त्यस्तै युगद्रष्टा नेता हुन्। उनले नेपाली राजनीतिलाई केवल सत्ता प्राप्तिको माध्यमका रूपमा हेरेनन,बरु राजनीतिको अन्तिम उद्देश्य नागरिकको स्वतन्त्रता, सम्मान, सामाजिक न्याय र समृद्धि हुनुपर्छ भन्ने मान्यता स्थापित गरे। यही दृष्टिकोणले नेपाली कांग्रेसलाई एउटा आन्दोलन, एउटा वैचारिक अभियान र एउटा लोकतान्त्रिक संस्थाका रूपमा स्थापित गर्यो।तर आज, विपीको जन्मजयन्ती वा स्मृति दिवसमा उनका विचारको चर्चा व्यापक रूपमा हुने गरे पनि व्यवहारमा उनको प्रजातान्त्रिक समाजवाद क्रमशः ओझेल पर्दै गएको अनुभूति हुन्छ। कांग्रेसको राजनीतिक यात्राले ऐतिहासिक गौरव त कमाएको छ, तर वर्तमानमा त्यो पार्टी आफ्नै मूल दर्शनबाट कति टाढा पुगेको छ भन्ने प्रश्न आज झन् गम्भीर बनेको छ।
विपीको समाजवाद न पुँजीवाद न साम्यवाद को मध्यमार्गी दर्शनवाट प्रभावित छ,राजनीतिक विचारधाराको इतिहासमा विपीको समाजवादलाई कुनै कट्टर समाजवादी वा मार्क्सवादी दर्शनसँग तुलना गर्न मिल्दैन। त्यसैगरी यो अनियन्त्रित बजारमुखी पुँजीवादको पनि समर्थक होइन। उनले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवाद स्वतन्त्रता र समानताको सन्तुलित समन्वय हो।विपीका अनुसार मानिसलाई मतदान गर्ने अधिकार मात्र दिएर लोकतन्त्र पूर्ण हुँदैन। यदि नागरिक बेरोजगार छ, अशिक्षित छ, स्वास्थ्य सेवाबाट वञ्चित छ वा गरिबीले थिचिएको छ भने राजनीतिक स्वतन्त्रताको अर्थ सीमित रहन्छ। त्यसैले उनले लोकतन्त्रलाई आर्थिक र सामाजिक न्यायसँग जोडेर हेरे।
उनको विचारमा राज्यको भूमिका नागरिकमाथि नियन्त्रण गर्ने होइन, अवसरको समानता सुनिश्चित गर्ने हो। निजी क्षेत्रलाई प्रोत्साहन दिन सकिन्छ, तर बजारको नाममा सामाजिक असमानता बढ्न दिनु हुँदैन। समाजवादको अर्थ सम्पत्ति खोस्नु होइन; अवसर, पहुँच र न्यायको समान वितरण गर्नु हो।
आज विश्वका धेरै लोकतान्त्रिक मुलुकहरूले अपनाएको Social Democracy वा Democratic Socialism को अवधारणासँग विपीको दृष्टिकोण धेरै हदसम्म मेल खान्छ। त्यसैले उनका विचार आज पनि समयानुकूल र सान्दर्भिक छन्।
ईतिहासलाई नियाल्ने हो भने नेपाली कांग्रेसको जन्म कुनै निर्वाचन जित्ने उद्देश्यले मात्र भएको थिएन। यसको स्थापना नै राणा शासनको अन्त्य, नागरिक स्वतन्त्रता र लोकतान्त्रिक शासन स्थापनाको लक्ष्यसहित भएको थियो।२००७ सालको प्रजातान्त्रिक आन्दोलन नेपाली कांग्रेसको नेतृत्वमा सफल भयो। त्यसले नेपाली जनतालाई पहिलो पटक लोकतान्त्रिक अधिकारको अनुभूति गरायो। त्यसपछि २०१५ सालमा सम्पन्न नेपालको पहिलो आमनिर्वाचनमा नेपाली कांग्रेसले स्पष्ट बहुमत प्राप्त गर्यो र विपी कोइरालाको नेतृत्वमा नेपालको पहिलो जननिर्वाचित सरकार गठन भयो।यद्यपि त्यो सरकार धेरै लामो समय टिक्न पाएन। २०१७ सालमा तत्कालीन राजा महेन्द्रले निर्वाचित सरकारलाई अपदस्थ गरी पञ्चायती शासन लागू गरे। त्यो घटना केवल एउटा सरकारको अन्त्य थिएन नेपालको लोकतान्त्रिक यात्रामाथि गम्भीर प्रहार थियो।विपीले सत्ता गुमाए, जेल परे, निर्वासन भोगे तर लोकतन्त्रको पक्षमा आफ्नो अडान छोडेनन्। उनले हिंसाभन्दा संवाद, प्रतिशोधभन्दा मेलमिलाप र निरंकुशताभन्दा जनअधिकारलाई प्राथमिकता दिए। यही कारणले उनी केवल दलका नेता नभई लोकतान्त्रिक चेतनाका प्रतीक बने।
नेपाली कांग्रेसको इतिहास केवल दलगत राजनितिको प्रतिबिम्ब मात्र होईन यो त लोकतन्त्रका लागि गरिएको त्याग र संघर्षको इतिहास थियो तर बिडम्बना अहिले यो पार्टी ईतिहासकै कठिन मोडमा पुगेको छ ।विगतमा यसले राणा शासनविरुद्ध सशस्त्र आन्दोलनको नेतृत्व गर्यो।पञ्चायतविरुद्ध लामो भूमिगत संघर्ष चलायो।२०४६ सालको जनआन्दोलनमा निर्णायक भूमिका खेल्दै बहुदलीय लोकतन्त्र पुनःस्थापित गर्यो।त्यसपछि संविधान निर्माण, शान्ति प्रक्रिया, सशस्त्र द्वन्द्वको राजनीतिक समाधान तथा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने प्रक्रियामा पनि कांग्रेसको महत्वपूर्ण भूमिका रह्यो।नेपालमा प्रेस स्वतन्त्रता, नागरिक अधिकार, निजी क्षेत्रको विकास, स्थानीय स्वशासन, खुला अर्थतन्त्र, शिक्षा विस्तार र लोकतान्त्रिक संस्थाहरूको विकासमा कांग्रेसले उल्लेखनीय योगदान दिएको तथ्यलाई अस्वीकार गर्न सकिँदैन।तर त्यसका साथसाथै देशमा मौलाएको व्यक्तिवाद र चरम भ्रष्टाचारको विजारोपोण मा कांग्रसको भुमिका पनि त्यत्तिकै छ ।त्यसैले नेपाली कांग्रेसको मूल्याङ्कन गर्दा केवल वर्तमानका कमजोरी हेरेर इतिहासलाई अस्वीकार गर्नु उचित हुँदैन। त्यस्तै, केवल ऐतिहासिक योगदानको आधारमा वर्तमान कमजोरीलाई ढाकछोप गर्नु पनि लोकतान्त्रिक चेतनासँग मेल खाँदैन।
राजनीतिक दलहरूको सबैभन्दा ठूलो सम्पत्ति उनीहरूको इतिहास होइन, त्यो इतिहासलाई वर्तमानमा कसरी जोगाइन्छ भन्ने हो।यही सन्दर्भमा नेपाली कांग्रेसमाथि केही गम्भीर प्रश्न उठ्न थालेका छन्।के आजको कांग्रेस अझै पनि विपीले कल्पना गरेको लोकतान्त्रिक समाजवादको मार्गमा छ? के पार्टीभित्र विचारको बहसले स्थान पाएको छ, वा गुटगत समीकरणले त्यसलाई विस्थापित गरिसकेको छ? के कांग्रेस आज पनि जनआकांक्षाको प्रतिनिधि शक्ति हो, वा केवल सत्ता व्यवस्थापनको केन्द्र बन्दै गएको छ? यी प्रश्नहरूको उत्तर सजिलो छैन। तर यति स्पष्ट छ कि आजको कांग्रेस आफ्नो इतिहासभन्दा बढी आफ्नो वर्तमान कार्यशैलीका आधारमा मूल्याङ्कित भइरहेको छ।
नेपालको सामाजिक संरचना विगत तीन दशकमा व्यापक रूपमा परिवर्तन भएको छ। शिक्षित युवाजमातको जनसंख्या बढेको छ। डिजिटल माध्यमले सूचना प्रवाह तीव्र बनाएको छ। नागरिकको अपेक्षा पनि बद्लिएको छ।आजका युवालाई केवल लोकतन्त्रको इतिहास सुनाएर सन्तुष्ट पार्न सकिँदैन। उनीहरू रोजगारी, सुशासन, पारदर्शिता, अवसर, गुणस्तरीय शिक्षा र उत्तरदायी नेतृत्व खोजिरहेका छन्।
तर कांग्रेसभित्रको राजनीतिक बहस अझै पनि नेतृत्वको प्रतिस्पर्धा, गुटीय समीकरण र शक्ति सन्तुलनमै केन्द्रित देखिन्छ। परिणामस्वरूप नयाँ पुस्ताले पार्टीसँग वैचारिक सम्बन्धभन्दा भावनात्मक दूरी बढाउँदै गएको अनुभूति हुन्छ।विपीले भनेका थिए, "राजनीतिक दल जनता भन्दा ठूलो हुन सक्दैन।" आज यही वाक्य कांग्रेसका लागि आत्मसमीक्षाको सबैभन्दा ठूलो आधार बन्न सक्छ।
नेपाली कांग्रेसको इतिहास त्याग, संघर्ष र लोकतान्त्रिक आदर्शले भरिएको अवश्य छ। तर इतिहासले मात्र कुनै दलको भविष्य सुनिश्चित गर्दैन। प्रत्येक पुस्ताले आफ्नो वैचारिक आधारलाई पुनः पुष्टि गर्नुपर्छ। विपीको समाजवाद कुनै संग्रहालयमा राख्ने स्मृति होइन ,बदलिँदो नेपालको आवश्यकता अनुसार पुनर्जीवित गर्नुपर्ने जीवन्त दर्शन पनि हो।
आज कांग्रेसको अगाडि चुनौती सत्ता जोगाउने वा प्राप्त गर्ने मात्र होइन, आफ्नो आत्मा जोगाउने पनि हो। यदि उसले आफ्नै मूल विचारसँग पुनः संवाद गर्न सकेन भने इतिहासको गौरव वर्तमानको कमजोरी ढाक्ने आवरण मात्र बन्न सक्छ।ईतिहासले कुनै राजनीतिक दललाई सम्मान दिलाउन सक्छ, तर जनताको विश्वास वर्तमानको कार्यशैलीले मात्र कायम राख्न सक्छ। नेपाली कांग्रेसको सन्दर्भमा यही सत्य आज झन् स्पष्ट देखिन्छ। सात दशकभन्दा लामो लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको यो दल अहिले आफैंभित्रको वैचारिक अन्योल, संगठनात्मक कमजोरी र नेतृत्वगत प्रतिस्पर्धासँग जुधिरहेको छ। प्रश्न उठ्न थालेको छ के कांग्रेस आफ्नो मूल दर्शन ‘प्रजातान्त्रिक समाजवादबाट क्रमशः विचलित हुँदै गएको हो?
यो प्रश्नको उत्तर खोज्दा इतिहासलाई नकार्न पनि मिल्दैन र वर्तमानका कमजोरीलाई ढाकछोप गर्न पनि मिल्दैन। वस्तुगत रूपमा हेर्दा, कांग्रेसभित्र देखिएका धेरै चुनौतीहरू कुनै एक व्यक्तिको कारण होइनन, ती संगठनात्मक संस्कृति, बदलिँदो राजनीतिक परिवेश र दीर्घकालीन वैचारिक शिथिलताको परिणाम हुन्।विपी कोइरालाको समयमा नेपाली कांग्रेसमा विचार, नीति र सिद्धान्तमाथि व्यापक बहस हुने परम्परा थियो। मतभिन्नता हुन्थ्यो, तर त्यसको आधार वैचारिक दृष्टिकोण हुन्थ्यो। आजको अवस्थामा भने धेरैजसो प्रतिस्पर्धा विचारको भन्दा नेतृत्व र गुटको वरिपरि केन्द्रित भएको देखिन्छ।
दलभित्र फरक मत हुनु लोकतन्त्रको स्वाभाविक विशेषता हो। तर जब मतभिन्नता नीति र कार्यक्रमभन्दा व्यक्तिप्रतिको निष्ठामा आधारित हुन थाल्छ, त्यसले संस्थागत लोकतन्त्रलाई कमजोर बनाउँछ। कांग्रेसभित्र पनि विभिन्न धार र समूहहरू लामो समयदेखि सक्रिय छन्। ती धारहरूले कतिपय अवस्थामा आन्तरिक लोकतन्त्रलाई जीवित राखेका छन् भने कतिपय अवस्थामा संगठनात्मक निर्णयलाई जटिल पनि बनाएका छन्।गुटको अस्तित्वभन्दा ठूलो समस्या गुट नै संगठनको विकल्प बन्नु हो। जब कार्यकर्ताको मूल्याङ्कन योगदानभन्दा समूहगत निकटताका आधारमा हुन थाल्छ, तब योग्य नेतृत्वको विकासमा अवरोध आउँछ।
नेपाली कांग्रेसको ऐतिहासिक पहिचान आन्दोलन, लोकतन्त्र र वैचारिक स्पष्टतामा आधारित थियो। पछिल्ला वर्षहरूमा भने पार्टीको राजनीतिक गतिविधि धेरै हदसम्म सत्ता समीकरण, गठबन्धनको गणित र सरकार निर्माणको रणनीतिमा केन्द्रित भएको देखिन्छ।लोकतान्त्रिक राजनीतिमा सत्ता आवश्यक हुन्छ, किनकि नीतिहरू कार्यान्वयन गर्न राज्यसत्ता चाहिन्छ। तर सत्ता साधनबाट उद्देश्यमा रूपान्तरण हुँदा वैचारिक राजनीति कमजोर हुन थाल्छ।आज जनताले कांग्रेससँग केवल सरकारमा सहभागी हुने क्षमता मात्र होइन, देशका ज्वलन्त समस्याबारे स्पष्ट दृष्टिकोण पनि खोजिरहेका छन्। आर्थिक असमानता, युवाको विदेश पलायन, कृषि संकट, शिक्षा सुधार, स्वास्थ्य सेवाको गुणस्तर, सार्वजनिक प्रशासनमा सुधार र सुशासनका विषयमा कांग्रेसको आवाज अझ प्रभावकारी र वैचारिक रूपमा स्पष्ट हुनुपर्ने अपेक्षा गरिएको छ।
विश्वका धेरै लोकतान्त्रिक दलहरूले समयअनुसार नेतृत्व हस्तान्तरणलाई संस्थागत गरेका छन्। नयाँ पुस्तालाई अवसर दिनु केवल उमेरको प्रश्न होइन, संगठनको दीर्घकालीन जीवन्तताको आधार पनि हो।
नेपाली कांग्रेसमा युवाको सहभागिता उल्लेख्य भए पनि निर्णय तहमा उनीहरूको प्रभाव अपेक्षाकृत सीमित रहेको टिप्पणी समय-समयमा हुने गरेको छ। यसले युवामा निराशा बढाउने र वैकल्पिक राजनीतिक शक्तिप्रति आकर्षण सिर्जना गर्ने सम्भावना रहि रहन्छ।तर पुस्तान्तरणको अर्थ अनुभवलाई अस्वीकार गर्नु पनि होइन। अनुभवी नेतृत्वको मार्गदर्शन र नयाँ पुस्ताको ऊर्जा तथा नवीन सोचबीच सन्तुलन कायम गर्नु नै सफल लोकतान्त्रिक दलको विशेषता हो। कांग्रेसले यही सन्तुलन खोज्नुपर्ने अवस्था आएको छ।
नेपाली कांग्रेसले विगतमा नागरिक अधिकार, विधिको शासन र लोकतान्त्रिक मूल्यका लागि ठूलो संघर्ष गरेको थियो। त्यसैले जनताको अपेक्षा पनि यो दलबाट तुलनात्मक रूपमा बढी रहन्छ।पछिल्ला वर्षहरूमा सार्वजनिक जीवनमा सुशासन, पारदर्शिता, राजनीतिक नियुक्ति, सार्वजनिक खरिद, प्रशासनिक सुधार र भ्रष्टाचार नियन्त्रणजस्ता विषयमा कांग्रेसमाथि पनि प्रश्नै प्रश्न उठ्ने गरेका छन्। यस्ता प्रश्नहरू केवल एउटा दलसँग सम्बन्धित होइनन्; समग्र राजनीतिक प्रणालीसँग जोडिएका छन्। तथापि, इतिहासले नैतिक राजनीतिको नेतृत्व गरेको दल भएकाले कांग्रेसमाथिको सार्वजनिक अपेक्षा अझ उच्च रहन्छ।
यदि कांग्रेसले सुशासनलाई केवल नारामा सीमित नराखी पार्टी सञ्चालनदेखि सरकार सञ्चालनसम्म व्यवहारमा उतार्न सक्छ भने त्यसले जनविश्वास पुनः स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ अन्यथा आज जुन डिलमा कांग्रेस उभिएको त्यसलाई केबल ईतिहासको बखानले जोगाउन सक्दैन ।
नेपाल आज नयाँ सामाजिक, आर्थिक र राजनीतिक चुनौतीहरूको सामना गरिरहेको छ। युवाको ठूलो हिस्सा रोजगारीका लागि विदेशिन बाध्य छ। आर्थिक असमानता, सेवा प्रवाहको कमजोरी, राज्यप्रतिको घट्दो विश्वास र राजनीतिक निराशा बढ्दो चिन्ताका विषय बनेका छन्।यस्तो अवस्थामा विपीको प्रजातान्त्रिक समाजवाद केवल ऐतिहासिक दस्तावेज होइन; लोकतन्त्र, सामाजिक न्याय, अवसरको समानता, नागरिक स्वतन्त्रता र उत्तरदायी शासनबीच सन्तुलन कायम गर्ने एउटा वैचारिक आधारका रूपमा पुनः अध्ययन गर्नुपर्ने आवश्यकता देखिन्छ।कांग्रेसले यदि आफ्ना ऐतिहासिक मूल्यलाई समकालीन सन्दर्भमा पुनर्परिभाषित गर्न सक्यो भने उसले नयाँ पुस्तासँग वैचारिक सम्बन्ध पुनः स्थापित गर्न सक्छ। तर यदि विचारभन्दा व्यक्तिलाई र संगठनभन्दा गुटलाई प्राथमिकता दिइयो भने त्यो प्रक्रिया अझ कठिन र अप्रिय बन्न सक्छ।
नेपाली कांग्रेसको आजको संकट केवल नेतृत्व परिवर्तनको संकट होइन; यो विचार, संगठन र राजनीतिक संस्कृतिको पुनर्समीक्षाको आवश्यकता हो। विपीले स्थापना गरेको प्रजातान्त्रिक समाजवादको आधारमा पार्टीले आफ्नो दिशा पुनः स्पष्ट गर्न सकेमा इतिहास र वर्तमानबीचको दूरी घटाउन सकिन्छ।
राजनीतिक दलहरू समयसँगै परिवर्तन हुन्छन्, तर परिवर्तनको आधार मूल्य र सिद्धान्त हुनुपर्छ, केवल सत्ता र समीकरण होइन। कांग्रेसले यही भिन्नता बुझ्न सकेमा लोकतान्त्रिक आन्दोलनको आफ्नो ऐतिहासिक भूमिकालाई भविष्यमा पनि अर्थपूर्ण रूपमा निरन्तरता दिन सक्नेछ।
राजनीतिक दलहरूको जीवनमा केही यस्ता क्षण आउँछन्, जहाँ उनीहरूले केवल नेतृत्व परिवर्तन गरेर होइन, आफ्नै आत्मासँग संवाद गरेर अगाडि बढ्नुपर्ने हुन्छ। नेपाली कांग्रेस आज त्यही मोडमा उभिएको देखिन्छ। यो केवल अर्को महाधिवेशनको तयारी वा अर्को निर्वाचनको रणनीतिको विषय होइन यो पार्टीले आफ्नो ऐतिहासिक वैचारिक आधारलाई नयाँ पुस्तासामु कसरी पुनर्जीवित गर्ने भन्ने मूल प्रश्न हो।विपी कोइरालाले नेपाली कांग्रेसलाई एउटा चुनाव जित्ने संगठनका रूपमा परिकल्पना गरेका थिएनन्। उनले यसलाई लोकतान्त्रिक संस्कार, सामाजिक न्याय, आर्थिक समान अवसर र नागरिक स्वतन्त्रताको आन्दोलनका रूपमा परिभाषित गरेका थिए। आजको कांग्रेसले पनि आफ्नो भविष्य त्यही दर्शनमा खोज्न सक्यो भने मात्र इतिहास र वर्तमानबीचको दूरी घटाउन सक्छ।आज कांग्रेसलाई सबैभन्दा बढी आवश्यक परेको कुरा अर्को गुट निर्माण होइन, अर्को वैचारिक पुनर्जागरण को हो ।कुनै पनि लोकतान्त्रिक दलको दीर्घकालीन सफलता संस्थागत संस्कृतिमा निर्भर हुन्छ।निर्णय प्रक्रिया पारदर्शी, समावेशी र विधिसम्मत हुनुपर्छ।
नेपाली कांग्रेस आज इतिहास र भविष्यको दोसाँधमा उभिएको छ। एउटा बाटो पुरानै गुटीय प्रतिस्पर्धा, व्यक्तिकेन्द्रित राजनीति र अवसरवादतर्फ जान्छ। अर्को बाटो विपीले देखाएको प्रजातान्त्रिक समाजवाद, संस्थागत लोकतन्त्र, सुशासन र सामाजिक न्यायतर्फ फर्किन्छ। कुन बाटो रोज्ने भन्ने निर्णय कांग्रेस स्वयंले गर्नुपर्नेछ।इतिहासले कांग्रेसलाई सम्मान दिएको छ। तर भविष्यले सम्मान दिन्छ कि दिँदैन, त्यो वर्तमानको निर्णयमा निर्भर रहनेछ।लोकतन्त्रमा अन्तिम निर्णायक जनता हुन,आज यही वाक्य नेपाली कांग्रेसका लागि सबैभन्दा ठूलो सन्देश हो। जनता केवल इतिहासका कारण विश्वास गर्दैनन्; उनीहरू वर्तमानको व्यवहार र भविष्यको दृष्टिकोणका आधारमा विश्वास गर्छन्।यदि कांग्रेसले आफ्नो मूल दर्शन, संगठनात्मक संस्कृति र नैतिक राजनीतिको पुनर्निर्माण गर्न सक्छ भने ऊ फेरि नेपालको लोकतान्त्रिक यात्राको अग्रणी शक्ति बन्न सक्छ। यदि त्यसो गर्न सकेन भने इतिहासको गौरव मात्र भविष्यको ग्यारेन्टी बन्न सक्दैन।
विपीको समाजवाद कुनै पुस्तकालयमा थन्किएको राजनीतिक सिद्धान्त होइन; त्यो लोकतन्त्रलाई सामाजिक न्यायसँग जोड्ने जीवन्त दर्शन पनि हो। नेपाली कांग्रेसको पुनर्जागरण नयाँ नारा, नयाँ गठबन्धन वा नयाँ अनुहारबाट मात्र सम्भव छैन। त्यो तब मात्र सम्भव हुन्छ, जब पार्टीले आफ्नो आत्मा—प्रजातान्त्रिक समाजवाद, नैतिक नेतृत्व, संस्थागत लोकतन्त्र र जनउत्तरदायित्व लाई पुनः केन्द्रमा स्थापित गर्छ।यही बाटोले कांग्रेसलाई केवल निर्वाचन जित्ने दल होइन, राष्ट्रलाई दिशा दिने लोकतान्त्रिक संस्थाका रूपमा पुनः स्थापित गर्न सक्छ।
