होली फेम्ली क्रिकेट एकेडमीद्धारा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालनमा

महेन्द्रनगर । होली फेम्ली क्रिकेट एकेडेमीले इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याएको छ ।
ट्रेनिङ सेन्टरको मंगलवार कञ्चनपुर जिल्ला क्रिकेट संघका अध्यक्ष विरेन्द्र वहादुर चन्दले र एकेडेमीका अध्यक्ष भुपालसिंह बिष्टले उद्घाटन गर्नुभयो । एकेडेमीका अध्यक्ष बिष्टको एकल लगानीमा स्थापना गरिएको उक्त इन्डोर क्रिकेट ट्रेनिङ सेन्टरले नियमित अभ्यास गर्ने वातावरण सिर्जना गर्ने विश्वास गरिएको छ । यसबाट कञ्चनपुरका उदीयमान क्रिकेट खेलाडीहरूलाई आधुनिक अभ्यास सुविधा उपलब्ध हुने र जिल्लामा क्रिकेट खेलको विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले खेलकुदले युवापुस्तालाई अनुशासित, स्वस्थ र जिम्मेवार नागरिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । एकेडेमीका अध्यक्ष भुपालसिंह बिष्टले वर्तमान युवाको रुचि, आवश्यकता र समयको मागलाई मध्यनजर गर्दै इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याइएको बताए । उनका अनुसार सेन्टरको मुख्य उद्देश्य खेलकुदमार्फत बालबालिका तथा युवामा स्वस्थ जीवनशैली, अनुशासन, नेतृत्व क्षमता र सकारात्मक सोचको विकास गर्नुका साथै लागुऔषध तथा अन्य कुलतबाट टाढा राख्दै राष्ट्र निर्माणमा योगदान पु¥याउने हो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश क्रिकेट संघका सचिव लक्ष्मण भट्ट, जिल्ला क्रिकेट संघका सचिव विशाल सोनार, कार्यक्रममा एकेडेमीका उपाध्यक्ष महादेव प्रसाद भट्ट,होली फेम्ली माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणदत्त लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

