सुदुरपश्चिम प्रदेशमा मनाइने विशु पर्व नेपालको सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा नयाँ वर्षको आरम्भसँग जोडिएको एक मौलिक तथा रमाइलो सांस्कृतिक चाड हो। यो पर्व मुख्य रूपमा वैशाख १ गते (नेपाली नयाँ वर्षको दिन) मनाइन्छ , बिशु पर्वको नाम विशाखा नक्षत्र बाट आएको मानिन्छ। वैशाख महिनाको पहिलो दिनलाई यसै कारण विशु भनिन्छ कतिपय ठाउंमा स्थनीय भाषामा यसलाई विषुवत संक्रान्ति, बिष्पती वा बिशु संन्क्रान्ति भनेर पनि भनिन्छ, पौराणिक किंवदन्ती अनुसार यो पर्व हिन्दू सम्राट विक्रमादित्य को जन्मोत्सव र पराक्रमको खुसीयालीमा मनाइन्छ भने अर्को विश्वास अनुसार सूर्यले पृथ्वीको परिक्रमा पूरा गरेको दिनको रूपमा पनि यो मनाइन्छ। नेपाल बाहेक भारतका केही भागमा यसलाई बैशाखी को नामले चिनिन्छ, जसमा गंगा स्नानको विशेष महत्व रहने गरेको छ ।यो पर्व विशेष गरी सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाहरूमा धुमधामका साथ मनाइन्छ, यसका साथै पहाडबाट बसाइँ सरेका कैलाली र कञ्चनपुरका बासिन्दाहरूले पनि यो पर्व उल्लासपूर्वक मनाउने गर्छन्। कतिपय ठाउँमा कर्णाली प्रदेशका केही क्षेत्रमा पनि यसको प्रभाव देखिन्छ।गौरा र दशैंपछिको सबैभन्दा ठूलो पर्व मानिने बिशुले पुरानो वर्षको विदाई र नयाँ वर्षको स्वागत गर्दछ।
कसरी मनाइन्छ ? (परम्परा र रीतिरिवाज)
विशु पर्वको मुख्य आकर्षण सिस्नु हानाहान (सिस्नो लगाउने) हो। यो दिन परिवारका सदस्यहरूबीच विशेष गरी निम्न सम्बन्धहरूमा रमाइलो र प्रेमपूर्ण खेल खेलिन्छ:
- देवर-भाउजु (देवरले भाउजु र भाउजुले देवरलाई सिस्नु लगाउने)
- नन्द-भाउजु (नन्दले भाउजु वा भाउजुले नन्दलाई)
- साली-भिनाजू (साली र भिनाजुबीच)
यो खेल हल्का रमाइलो र प्रेमपूर्ण हुन्छ प्राचिन जनविश्वास अनुसार सिस्नु लगाउँदा शरीरमा भएका खटिरा लगायत छाला सम्बन्धी रोगबाट बचिन्छ र वर्षभरि स्वास्थ्य राम्रो रहन्छ भन्ने मान्यता छ। यसका साथै योर्वलाई विशेष बनाउन अन्य मुख्य क्रियाकलापहरू समेत संगसंगै गरिन्छन :
- घरहरूलाई रातो माटो र कमेरो ले पोतेर सफा र चिटिक्क पारिन्छ।
- कुलदेवता वा परिवारको देवताको पूजा गरिन्छ।
- नयाँ बाली (विशेष गरी गहुँ) को प्रसाद खाइन्छ।
- मीठा-मीठा परिकार पकाइन्छ (लौन, सेल, पुरी, खीर, माणा लगायत मिठो परिकारहरु)।
- आफन्त, साथीभाइसँग भेटघाट, खुसीयाली साटासाट र नयाँ वर्षको शुभकामना आदानप्रदान।
- विगतका झगडा मेटाएर नयाँ सम्बन्ध र मित्रता कायम गर्ने प्रचलन।
- नयां लुगा किनमेल
यो पर्व अधिकांश ठाउंमा चैत्रको अन्तिम दिन र वैशाख १ गते गरी दुई दिनसम्म मनाइन्छ।
सांस्कृतिक महत्व
विशु पर्व सुदूरपश्चिमको सांस्कृतिक पहिचान को महत्वपूर्ण हिस्सा हो। यसले निम्न कुराहरू प्रतिनिधित्व गर्छ:
- नयाँ वर्षको स्वागत र नवीकरण — पुरानो वर्षको अन्त्यसँगै नयाँ सुरुवात, शुद्धीकरण र आशाको प्रतीक।
- परिवार र सामाजिक बन्धन — विशेष गरी देवर-भाउजू, साली-भिनाजु जस्ता सम्बन्धहरूलाई मजबुत बनाउने र रमाइलो बनाउने माध्यम। यो खेलले सामाजिक दूरी घटाउँछ र प्रेमपूर्ण वातावरण सिर्जना गर्छ।
- प्रकृति र स्वास्थ्यसँग जोड — सिस्नु जस्तो काँडेदार बिरुवा प्रयोग गर्दा स्वास्थ्य लाभ र प्रकृतिसँगको निकटता झल्किन्छ।
- सांस्कृतिक निरन्तरता — यो पर्व पौराणिक कालदेखि (किंवदन्ती अनुसार राजा विक्रमादित्यसँग जोडेर) मनाइँदै आएको छ। सूर्यको पृथ्वी परिक्रमा र ऋतु परिवर्तनसँग पनि यसलाई जोडिन्छ।
- सामुदायिक एकता — यो समयमा परदेशबाट घर फर्किनेहरूको भीड लाग्छ, मेला लाग्छ र सामूहिक खुसीयाली मनाइन्छ। यो सुदूरपश्चिमेलीहरूको मौलिक संस्कृति झल्काउने एक जीवन्त उदाहरण हो।
यसका साथै नयां बर्ष अथवा विशुको अबसर पारेर सुदुरपश्चिममा गेहायका नबिन कार्यहरुको थालनी गर्ने परम्परा समेत रहेको छ :
- विवाह का लागी यो दिनलाई दुलही दुलाहाको चिना (ग्रहहरु) मिलाई रहनु पर्दैन यो दिन नै शुभ दिन भएकोले यस दिन गरिने विवाहलाई राम्रो मानिन्छ
- यस दिन उपनयन संस्कार(व्रतबन्ध), अन्नप्राशन गर्ने चलन पनि रहिआएको छ
- त्यसै गरि कान छेड्न वांकी रहेका वालवालिकाहरुको कान छेड्ने कर्य पनि गरिन्छ , कान छेडने कार्य अझै विशेष गरि सरस्वती पुजा को अबसर पारेर गरिन्छ तर त्यो दिन छुटरका हरुको कान छेड्ने काम पनि नयां बर्षको पहिलो दिन अर्थात विशु को अबसर पारेर गरिन्छ
- नयाँ घर निर्माण तथा नयां गृह प्रवेश
- नयाँ व्यापार सुरु गर्ने जस्ता महत्त्वपूर्ण अनुष्ठान गरिन्छ।
आधुनिक समयमा पनि यो पर्वले सुदूरपश्चिमको पहिचानलाई जीवन्त राखिरहेको छ। पहाडबाट तराई झरेका मानिसहरूले पनि यसलाई आफ्नो संस्कृति जोगाउन प्रयास गरिरहेका छन्।
विशु पर्वले सिकाउँछ — नयाँ वर्षमा पुराना कुरा मेटाएर, स्वास्थ्य र सम्बन्धलाई प्राथमिकता दिएर, रमाइलो र सद्भावका साथ अगाडि बढ्नु पर्छ। यो सुदूरपश्चिमको मात्र नभई समग्र नेपाली सांस्कृतिक विविधताको सुन्दर पक्ष हो।बिशु पर्व केवल नयाँ वर्ष मनाउने अवसर मात्र होइन, यो स्वास्थ्य, शुद्धीकरण, पारिवारिक सम्बन्ध, सांस्कृतिक निरन्तरता र नयाँ सुरुवातको प्रतीक हो। सुदूरपश्चिमका ग्रामिण बस्तिहरूमा यो पर्वले जीवनलाई उज्यालो र आशावादी बनाउने ऊर्जा दिन्छ। आधुनिक समयमा पनि यो पर्वले नेपाली संस्कृतिको विविधता र समृद्धिलाई विश्वसामु चिनाउने माध्यम बनेको छ।
बिशु पर्वको अवसरमा सबैलाई शुभकामना! नयाँ वर्षले सुख, समृद्धि र स्वास्थ्य प्रदान गरोस्।

