कैलाली । सुदुर पश्चिम प्रदेशमा सशस्त्र प्रहरी बल, नेपालले आज निर्वाचन प्रहरीलाई विधिवत रुपमा बिदाई गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालयले प्रदेशका सबै जिल्लाहरुमा गरि जम्मा १५१६ जना निर्वाचन प्रहरीको बिदाई गरिएको जनाएको छ ।
फाल्गुण २१ गते सम्पन्न भएको निर्वाचन सुरक्षामा सुदुर पश्चिम प्रदेशको सबै जिल्लाहरुमा गरि १५१६ जना निर्वाचन प्रहरीहरु सशस्त्र प्रहरी बल, नेपाल मार्फत परिचालन भएका थिए । निर्वाचन प्रहरीहरुलाई निर्वाचनका बेला सशस्त्र प्रहरी कर्मचारीहरु संगै परिचालन गरिएको थियो ।
प्रदेशका सम्बन्धित कार्यालयका कार्यालय प्रमुखहरुले आज निर्वाचन प्रहरीहरुलाई अविर टिका लगाएर प्रमाण पत्र प्रदान गरेका हुन् । सशस्त्र प्रहरी बल, नेपाल मार्फत निर्वाचन प्रहरीले तालिम प्राप्त गरि निर्धारित कार्यक्षेत्रमा सशस्त्र प्रहरी बल, नेपालको साथमा खटिई निर्वाचन कार्यलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुनाले उल्लेखित योगदानको उच्च मुल्यांकन गर्दै सबै निर्वाचन प्रहरीहरुलाई निर्वाचन प्रहरीको रुपमा सेवा गरेको प्रमाण पत्र समेत प्रदान गरिएको बाहिनीका निमित्त बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक दिग बिजय सुवेदीले बताए ।
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले निर्माण गरेको बिपद सुचकको समुहमा समेत निर्वाचन प्रहरीहरुलाई जोडिएको छ । सशस्त्र प्रहरीले समाजमा हुन सक्ने विपद्का समयमा समेत सहयोग लिन सक्ने गरि भविष्यमा हुन सक्ने विपद्का समयमा सहकार्य गर्नका लागी बिपद् सुचकको रुपमा कार्य गर्नका लागी छुट्टै अनुशिक्षण समेत संचालन गरेको जनाईएको छ । यस संगै सुदुर पश्चिम प्रदेशमा विपद् सुचक १५१६ जना थप भएका छन् ।

