महेन्द्रनगर नाम आफैमा एउटा इतिहास हो । यो सहरको जग कसरी बस्यो कसैले प्रश्न उठायो भने इतिहासले स्पष्ट रूपमा एउटै नामतर्फ इङ्गित गर्छ – राजा महेन्द्र । तर आज यही सहरमा उभिएर त्यो इतिहासलाई स्वीकार गर्न सङ्कोच किन ?
यही बजारको मुटुमा रहेको महेन्द्र स्मारकमा अहिले यहाँका युवाहरुले मर्मतसम्भार गरेर राजा महेन्द्रको शालीक पुनःस्थापना गर्ने जमर्को गरिरहेका छन । यो विषयलाई केन्द्रमा राखेर सामाजिक सञ्जालमा पक्ष विपक्षमा तर्क आइरहेका छन । इतिहास स्वीकार्नु कुनै राजनितिक विषय होइन । यो इतिहास स्वीकार गर्ने कि बिसिर्ने यत्ति मात्रै हो ।
कसरी बन्यो महेन्द्रनगर बजार ?
कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर सुन्दर र ऐतिहासिक छ । महेन्द्रनगरमा फरक पहिचान र विशेषता बोकेका गल्ली छन । हरेक गल्लीको आफ्नै विशेषता छ ।
यो नेपाल अधिराज्यकै प्लानिङ सहर हो । राजा महेन्द्रले गुरुयोजना बनाएर यो सहरको विकास गरेका हुन । विपद्को बेला पनि यहाँ सहज हुने गल्लीहरूको निर्माण गरिएको छ । गल्लीहरूमा बनेको कुनै घर ढलिहाले पनि अर्को घरमा कुनै असर गर्दैन । राजमार्ग भन्दा ठुला यहाँका गल्ली छन । बसपार्कदेखी मदन चोकसम्म र मदन चोकदेखी पूर्वतर्फको बजारलाई स्पेशल लाईनको रुपमा हेरिन्छ । २०१४ सालमा राजा महेन्द्रले देश दर्शनका क्रममा पूर्वको झापा, ताप्लेजुङ, पश्चिमको दार्चुला हुँदै बैतडी पैदल भ्रमण गरेका थिए । सो भ्रमण गर्ने क्रममा बाटोमा भेटिने व्यक्तिहरूलाई सोधपुछ गर्दा त्यहाँको नाजुक स्थिति गरिबी, खान नपुग्ने कमाइ खान जमिन पनि नभएको अवस्था थाहा पाए । त्यसपछि राजा महेन्द्रले त्यहाँका जनतालाई तराई झर्न आग्रह गरेको इतिहासका जानकार जोसुकैलाई थाहा छ । २०१८ सालदेखि पहाडबाट तराई बसाइँ सर्न सुरु भएकोे हो । त्यति बेला महेन्द्रननगर बजार गौचरण, खेत र जंगल थियो भने थारुहरूको बस्ती पनि त्यो बेला यहाँ रहेको पाइन्छ । २०१८ सालमा राजा महेन्द्रले ब्रह्मदेवको बजारलाई महेन्द्रनगर सार्न आदेश दिएका थिए ।
यहाँ बस्ती बस्न थालेपछि २०२५ सालमा प्रशासनिक भवन निर्माण हुन थाले । सुरुमा यहाँ प्रशासकीय भवन, कारागार, जिल्ला हुलाक, स्वास्थ्य केन्द्र र कर्मचारीहरूको आवास निर्माण सुरु भएको थियो । प्रशासकीय भवन निर्माण सुरु भएसँगै त्यतिबेलाको बेलौरी सदरमुकाम पनि महेन्द्रनगर स¥यो । यो सहरको विस्तार यसरी गरियो कि सरकारी कार्यालय स्थापना गर्दा पनि हेभी गाडी सञ्चालन हुने कार्यालय राजमार्गसँग जोडेर बनाइयो र प्रशासनिक भवन महेन्द्रनगर बजारको एकातर्फ बनाएको हो । २०२७ सालमा राजा महेन्द्र अवलोकनका लागि वनबासा पुलमा पुग्दा यहाँ सिँचाइको समस्या रहेको थाहा पाएपछि महाकाली सिँचाइ नहरको सुरुवात गरेका हुन् । उक्त नहरको डीपीआर इंग्ल्यान्डको कम्पनीले तयार पारेको थियो ।
हाल महाकाली सिँचाइ नहरबाटै महेन्द्रनगरमा सिँचाइ सुविधा उपलब्ध छ । त्यति बेला बर्माबाट नेपाल फर्कन बाध्य नेपालीहरूलाई राजा स्वयं बर्मा गई त्यहाँबाट नेपाल आउने सबैका लागि महेन्द्रनगर, भैरहवा, बुटवलमा प्रवासी नेपालीहरूको बसोबास गराएका हुन । महेन्द्रनगर बजारको स्थापना पश्चात् पञ्चायतको रजत जयन्तीका बेला महेन्द्रनगर बजारमा राजा महेन्द्रस्मारक स्थापना गरिएको हो । महेन्द्रनगर स्थापनापछि त्यति बेला यहाँको प्रहरीले बाटो बनाएको थियो । राजा महेन्द्रले त्योबेला भुतपूर्व सैनिकहरुलाई सीमानाकामा बसाएका थिए ।
इतिहास स्वीकार्ने कि बिर्सिने ?
स्पष्ट ऐतिहासिक योगदान हुँदाहुँदै पनि महेन्द्रनगरमा राजा महेन्द्रको सम्झनालाई स्थायी रूपमा झल्काउने कुनै प्रतीक छैन । महेन्द्रनगरको मुख्य बजार क्षेत्रमा महेन्द्र स्मारक छ । त्यहाँ रहेको राजा महेन्द्रको शालीक आन्दोलनका क्रममा तोडफोड भयो । त्यसको लामो समयपछि महेन्द्रनगर आज जाग्दै छ सोहि स्थानमा राजा महेन्द्रको शालीक पुनः स्थापना गर्न ।
शहरको नाम उनकै नामबाट राखिएको छ । तर उनको योगदान दृश्य रूपमा कतै देखिँदैन । यस्तो अवस्थामा राजा महेन्द्रको शालिक स्थापना गर्नु विवाद होइन, इतिहासप्रतिको कर्तव्य हो । शालिक कुनै राजनीतिक एजेन्डा होइन । यो एउटा पुस्ताबाट अर्को पुस्तामा इतिहास हस्तान्तरण गर्ने माध्यम हो । यो कसैको पूजा पनि होइन । यो महेन्द्रनगर कसरी जन्मियो भन्ने तथ्यलाई सार्वजनिक रूपमा स्वीकार गर्ने साहस हो । शालिक इतिहासको मौन भाषा हो । जसले नयाँ पुस्तालाई प्रश्न सोध्न र उत्तर खोज्न प्रेरित गर्छ । महेन्द्रनगरको विकास कसरी सुरु भयो भन्ने कुरा भावी पुस्ताले बुझ्न पाउनुपर्छ । शालीक स्थापना गर्दा राजावादी र गणतन्त्रवादीको कुरा गुर्न जायज होइन ।
त्यसैले आजको महेन्द्रनगरले आत्मसम्मानका साथ भन्न सक्नुपर्छ यहाँ राजा महेन्द्रको शालीक स्थापना होस । यदि राजा महेन्द्रको योगदान स्वीकार गर्न सकिँदैन भने, महेन्द्रनगर नाम नै किन बोकेर हिँड्ने ?
महेन्द्रनगरको नाम परिवर्तन गरेर भीमदत्तनगर भएपनि महेन्द्रनगर बिना भीमदत्तनगरको चिनारी अधुरो र अपुरो छ ।

