मान्छे लगायत पृथ्वीमा भएका सबै जीवजन्तुहरु प्रकृतिका सन्तान हुन्। पृथ्वीमा वा प्रकृतिमाजति अधिकार मान्छेको छ त्यतिकै अधिकार अन्य सबै जीवजन्तुको हुनुपर्छ ।मान्छे बाहेक अन्य सबै जीवजन्तु प्रकृतिमै रमाएका छन् । न कोहि धनी छ न कोहि गरिब छ वास्तविक साम्यवाद जीव जन्तुको संसारमा विस्तार भएको छ तर मान्छेले अन्य जीवजन्तुको अधिकार हनन गरेर भएपनि प्रकृतिको दोहन गर्दैकेवल मानवजातिको स्वार्थको लागि उपयोगगरिरहेको छ।अझ भनौं मानवजाति भन्दा पनि मान्छे आफैमा केन्द्रित भएको छ । आफ्नो निहितस्वार्थपूर्तिको लागि जे पनि गर्न तयार भएको छ ।शक्ति र पहुँच भएकाले पृथ्वीमा प्राप्त श्रोत र साधनमाथिको नियन्त्रण गर्दै आफुलाई धनी घोषित गरेका छन् भने उक्त नियन्त्रण नभएकाले आफुलाई निरिह र गरिब महसुस गर्नु परेको छ।
समाजमा को धनी ? र को गरिब ? भन्ने यक्षप्रश्न सतहमा हेर्दा व्यक्तिगत मेहनत, प्रतिभा वा भाग्यसँग जोडिएको जस्तो देखिन्छ। तर यसको जरो निकै गहिरो छ। वास्तवमा यो प्रश्न श्रोत र साधनमाथि कसको कति पहुँच र नियन्त्रण छ भन्ने यथार्थसँग प्रत्यक्ष रूपमा गाँसिएको छ। भूमि, धन, पूँजी, उद्योग, व्यापार, प्राकृतिक स्रोत र अवसरमाथि नियन्त्रण गर्न सक्ने व्यक्ति वा समूहलाई समाजले धनी र शक्तिशाली मान्छ, जबकि यिनै श्रोत–साधनबाट वञ्चित वर्ग गरिब र कमजोर ठहरिन्छ। यसरी श्रोत–साधनको स्वामित्व र पहुँच नै आर्थिक हैसियत, सामाजिक प्रतिष्ठा र राजनीतिक प्रभाव मापन गर्ने प्रमुख आधार बनेको छ।
मानव इतिहासमा शक्तिको स्वरूप समयसँगै परिवर्तन हुँदै आएको छ। प्रारम्भिक समाजमा भूमि नै शक्तिको केन्द्र थियो। उब्जाउ जमिन, पानीको स्रोत र वनजंगलमाथिको नियन्त्रणले समुदायको अस्तित्व, सुरक्षा र समृद्धि निर्धारण गर्थ्यो। जसको नियन्त्रणमा भूमि थियो, ऊ शक्तिशाली मानिन्थ्यो। त्यसपछि क्रमशः धन वा पूँजी र शारीरिक बल पनि शक्तिका आधार बने। युद्ध, विजय र अधीनस्थीकरणका माध्यमबाट स्रोतहरू सीमित व्यक्तिको हातमा केन्द्रीकृत हुँदै गए।
आधुनिक समाजमा भने शक्तिको स्वरूप थप जटिल बनेको छ। आज केवल भूमि वा धनले मात्र शक्ति निर्धारण गर्दैन। ज्ञान, सीप, शिक्षा, प्रविधि, नवप्रवर्तन, सूचना पहुँच, सामाजिक सञ्जाल र राजनीतिक प्रभाव समष्टिमा मानव पूँजी सबैभन्दा प्रभावशाली शक्ति बनेको छ। तर विडम्बना के छ भने यी आधुनिक शक्तिका स्रोतहरूमाथिको पहुँच पनि समान रूपमा सबैलाई उपलब्ध छैन। असमान शिक्षा, प्रविधिमा पहुँचको कमी र अवसरको अभावले नयाँ किसिमको असमानता जन्माइरहेको छ।
मानव सभ्यताको प्रारम्भिक चरणमा मानिसहरू फिरन्ते जीवन बिताउँथे। जब उनीहरू स्थायी बसोबासतर्फ उन्मुख भए, तब जीवनयापनका लागि आवश्यक प्राकृतिक स्रोतहरूमा कब्जा गर्ने प्रक्रिया सुरु भयो। खानाका लागि वन्यजन्तु पाइने जंगल, पिउने पानीका लागि नदी, नाला र तलाउ, खेतीका लागि उब्जाउ भूमि र पशुपालनका लागि चरनक्षेत्र मानव जीवनका आधार बने। कृषि र पशुपालनको विकाससँगै जमिन र पानीमाथिको नियन्त्रण झन् महत्वपूर्ण बन्यो।
जनसंख्या वृद्धि र सीमित स्रोतका कारण मानव समूहहरूबीच प्रतिस्पर्धा सुरु भयो। शक्तिशाली समूहले कमजोर समूहलाई अधीनमा राख्ने, विस्थापित गर्ने वा दास बनाउने अभ्यास देखिन थाल्यो। यही प्रक्रियाबाट सीमाङ्कित भूभाग, सुरक्षा संयन्त्र, सैन्य संरचना र अन्ततः राज्यको अवधारणा विकास भयो। समयक्रममा यिनै सीमाङ्कित भूभागलाई देश वा राज्य भनिन थालियो, जहाँ शासन प्रणाली र कानुनमार्फत स्रोतको व्यवस्थापन गरिन थालियो।
प्रारम्भिक राज्यहरूको प्रमुख उद्देश्य आफ्नो भूभागभित्र उपलब्ध प्राकृतिक स्रोतको नियन्त्रणमार्फत जनताको जीवन रक्षा र गांस, बास तथा कपासको सुनिश्चितता गर्नु थियो। यसै क्रममा सुनचाँदीजस्ता धातुहरूलाई मूल्यवान मानियो। ती धातुहरू गहना, सजावट र पछि मुद्राको रूपमा प्रयोग हुन थाले। जसको नियन्त्रणमा सुनचाँदी बढी थियो, ऊ धनी र शक्तिशाली ठहरिन थाल्यो। मुद्रा विकाससँगै व्यापार र कर प्रणाली स्थापित भयो।
कुनै वस्तुको मूल्य बढ्नु भन्नाले त्यसको भौतिक स्वरूप परिवर्तन हुनु होइन। मूल्य वृद्धि अभाव, माग र मानवीय मनोविज्ञानसँग सम्बन्धित प्रक्रिया हो। “जग्गाकोमूल्यबढ्यो”भनिँदाजग्गामाकुनैभौतिकपरिवर्तनआएकोहुँदैन, तर सामाजिक, आर्थिक र राजनीतिक परिस्थितिले त्यसप्रतिको महत्व बढेको हुन्छ। मूल्य वास्तवमा मानव चेतनामा निर्माण हुने अवधारणा हो।
समाज जटिल बन्दै जाँदा अतिरिक्त उत्पादन साटासाट गर्ने अभ्यास सुरु भयो, जुन व्यापारको प्रारम्भिक रूप थियो। वस्तु रवस्तु साटासाट, पैंचो प्रथा र सेवा आदानप्रदान आज पनि ग्रामीण समाजमा देखिन्छ। समयक्रममा सुनचाँदीका सिक्का, कागजी मुद्रा र आधुनिक बैंकिङ प्रणाली विकास भए, जसले व्यापार र अर्थतन्त्रलाई सहज बनायो। उत्पादन, वितरण र उपभोगबीचको सम्बन्ध विस्तार हुँदै गयो।
आजको युगमा विद्युतीय कारोबार, डिजिटल भुक्तानी, अनलाइन बैंकिङ र क्रिप्टो करेन्सीले धनको स्वरूपलाई झन् अमूर्त बनाइदिएको छ। तर स्वरूप जति बदलिए पनि धनमाथिको नियन्त्रणको संरचना भने धेरै हदसम्म उही छ। सीमित समूह र संस्थाले पूँजी, प्रविधि र बजारमाथि नियन्त्रण कायम राखेका छन्, जसले आर्थिक असमानतालाई थप गहिरो बनाइरहेको छ।
ऊर्जा संरक्षणको सिद्धान्तअनुसार ऊर्जा न त सिर्जना गर्न सकिन्छ न त नष्ट, उर्जाकोकेवल रूपान्तरण मात्र हुन्छ। यही दृष्टिकोणबाट हेर्दा धन पनि पृथ्वीमा उपलब्ध स्रोतहरूको रूपान्तरण र पुनःसंरचनाको परिणाम हो। मानव श्रम, सीप र प्रविधिले नयाँ मूल्य सिर्जना गर्छ, तर व्यवहारमा हेर्दा मुख्य प्रश्न धन कसले सिर्जना गर्यो भन्दा पनि धनमाथि कसको कति नियन्त्रण छ भन्ने नै हो।
पृथ्वीका अन्य जीवसरह मानिस पनि एक जीव मात्र हो, तर उसले आफ्नो बौद्धिक क्षमताको प्रयोग गरी प्राकृतिक स्रोतहरूमा व्यापक एकाधिकार स्थापित गरेको छ। यस प्रक्रियामा वन विनाश, जैविक विविधताको क्षय, जलवायु परिवर्तन र पर्यावरणीय संकट गहिरिँदै गएका छन्। मानिसले भविष्यका लागि स्रोत संचित गर्ने क्रममा वर्गीय असमानता र धनी तथागरिबबीचको खाडल झन् फराकिलो बनाएको छ।
सम्पत्ति सामान्यतया दुई माध्यमबाट प्राप्त हुन्छ पहिलोपुर्ख्यौली उत्तराधिकार र दोश्रोव्यक्तिगत श्रम वा सीप। पुर्ख्यौली सम्पत्तिको ठूलो असमानता इतिहासका कुनै कालखण्डमा स्रोतसाधनमाथिको असमान पहुँच, शक्ति प्रयोग, राज्यको कृपा वा कानुनी कमजोरीको परिणाम हुन सक्छ। समान सामाजिक परिवेशमा अत्यधिक धनी र अत्यधिक गरिबको उपस्थिति संरचनात्मक असमानताको स्पष्ट संकेत हो।
मेहनत सबैले गर्छन्, तर मेहनत मात्रले अस्वाभाविक धनसञ्चय सम्भव हुँदैन। विशिष्ट सीप, नवप्रवर्तन, विशेष अवसर वा शक्ति संरचनासँगको निकटताबिना सामान्य पेशाबाट अत्यधिक धन आर्जन हुनु प्रायः प्रणालीगत लाभ, एकाधिकार वा असमान पहुँचसँग जोडिएको हुन्छ।
वर्तमान धनी कहलिएका व्यक्तिहरुले वा तिनका पुर्खाले कुनै न कुनै काल खण्डमा श्रोत र साधनमाथि आफ्नो अवैधानिकपहुँचवा नियन्त्रण सिद्ध गरेको हुनुपर्छ वाअवैधानिकवा विधानमा भएका छिद्र पहिल्याएर वा जबर्जस्ति नियन्त्रण गरेर मात्र उक्त अवस्था निर्माण गरेको हुनुपर्दछ।धनी र गरिबबीचको अन्तर व्यक्तिगत प्रयास वा नैतिकताको परिणाम मात्र होइन, बरु ऐतिहासिक, सामाजिक र राजनीतिक संरचनाको उपज हो। सम्पत्ति आर्जनभन्दा महत्वपूर्ण प्रश्न सम्पत्तिको नियन्त्रण, वितरण र पुनर्वितरण हो। दिगो, समावेशी र न्यायपूर्ण समाज निर्माणका लागि स्रोतसाधनमा समान पहुँच, अवसरको न्यायोचित वितरण र पारदर्शी शासन अपरिहार्य छ। अन्यथा, श्रोत र साधनको असमान नियन्त्रणले समाजलाई झन् विभाजित बनाउँदै लैजानेछ।
लेखक : दीर्घ बहादुर चन्द
एमफिल. – पीएच. डी. कार्यक्रम ,अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति विभाग त्रिभुवन विश्वविद्यालय


1 Comment
निकै गहन बिश्लेषण र बिस्तृत लेख. लेखकलाई साधुबाद।