शुक्रबार, २६ भदौ २०८३ || Sep 11, 2026
अर्थ / बजार

सहकारीको समस्या समाधानसँगै विश्वास पुनःस्थापनामा जोड

पश्चिमपाटी
196Shares
महेन्द्रनगर । सहकारी क्षेत्रमा देखिएका समस्या समाधानसँगै सहकारी प्रति सदस्य तथा सर्वसाधारणको गुम्दै गएको विश्वास पुनःस्थापित गर्नुपर्नेमा सहकारीकर्मीहरुले जोड दिएका छन । 
सोमबार महेन्द्रनगर स्थित उदयदेव बहुउदेश्यीय सहकारी संस्थामा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष रमेश राज पोखरेलको आतिथ्यतामा आयोजित सहकारी क्षेत्रको समसामयिक अवस्था चुनौति र आगामी कार्यदिशा सम्बन्धि छ्लफलमा सहकारीकर्मीहरुले सहकारीमा देखिएका समस्या समाधान संगै सहकारी प्रति गुम्दै गएको विश्वास पुनःस्थापित गर्नुपर्नेमा जोड दिएका हुन । कार्यक्रममा बोल्दै उदयदेब बहुउदेश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दले सहकारीको ऐन निमार्ण हुने ठाउँमा सहकारी अभियान पनि हुनुपर्ने धारणा राख्नुभयो । “आ–आफ्नो ठाउँबाट सहकारीले गरेका राम्रा कामहरु बाहिर ल्याउन कुनै संकोच नमानौ ।” उहाँले भन्नुभयो–“सहकारी मैत्री ऐन ल्याउन महासंघले भूमिका खेल्नुपर्छ ।” त्यसैगरी जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भवानी चन्दले राज्यका एक दर्जन निकायबाट सहकारीको नियमनका लागि फरक फरक निर्देशन आउने गरेको बताउनुभयो । “राज्यका निकायबाट फरक फरक निर्देशनहरु आउने गरेका छन, हामीले कसलाई मान्ने कसलाई नमान्ने अन्योल छ ।” उहाँले भन्नुभयो–“अहिले थप राष्ट्रबैंकले समेत नियमन गर्ने कुरा आएको छ ।” उहाँले सरकारले बदमासी गरेको सहकारीको नियमन गर्नुपर्नेमा सबै सहकारीलाई एउटैमा राखेर नियमन गर्न खोजेको बताउनुभयो । 
त्यसैगरी कोअपरेटिभ म्यानेजर्स क्लब कञ्चनपुरका अध्यक्ष सुनिल सेठीले सहकारीमा देखिएका विभिन्न समस्याका विषयमा महासंघका अध्यक्षको ध्यानाकर्षण गराउनुभएको थियो । “सहकारीहरुले दुई दुई पटक कर तिरिराखेको अवस्था छ ।” अध्यक्ष सेठीले भन्नुभयो–“सहकारीमा देखिएका अहिलेका विभिन्न समस्यामा महासंघको भूमिका के हो?”  कञ्चनपुर बहुउदेश्यीय सहकारी संघका अध्यक्ष प्रेम सिंह भाटले एउटा सहकारीको गल्तीका कारण सबै सहकारीले सजाय भोग्नुपरेको बताउँदै महासंघले अभिभावकिय भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । “बागमतीको सहकारीले गल्ती गर्दा कञ्चनपुरका सहकारीहरुले सजाय भोग्नु परेको छ ।” उहाँले भन्नुभयो–“महासंघको भूमिका के हो? महासंघले के गरिरहेको छ ?
कार्यक्रममा सहकारी क्षेत्रको समसामयिक अवस्था, चुनौती तथा आगामी कार्यदिशाका विषयमा सहभागी वक्ताले सहकारी संस्थालाई थप व्यवस्थित र गुम्दै गएको विश्वास पुनःस्थापित हुनुपर्नेे धारणा राखेका छन । सहकारीप्रति सदस्यको विश्वास कायम गर्न सुशासन, वित्तीय अनुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्नुपर्नेमा सहभागीहरुको जोड थियो ।
सहभागीले सहकारी क्षेत्रमा देखिएका समस्या, संस्थागत सुशासन, ऋण असुली, बचतकर्ताको हित संरक्षण तथा सहकारी अभियानलाई थप प्रभावकारी बनाउने उपायबारे धारणा राखेका थिए । सहकारी अभियानलाई उत्पादन, रोजगारी र आर्थिक समृद्धिसँग जोडेर अघि बढाउनुपर्नेमा सहभागीले जोड दिएका थिए । 
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष रमेश राज पोखरेलले सहकारी मैत्री ऐन निमार्णका लागि महासंघले सरकारसंग समन्वय गरिरहेको बताउनुभयो । उहाँले  सरकारलाई सहकारीमैत्री ऐन ल्याउन आग्रह गरिएको बताउँदै बेवास्था गरिए सडकमा जानुपर्ने अवस्था आउनसक्ने बताउनुभयो । “सहकारी पछिल्लो अवस्था मजबुत छ यो अभियानमा ५६ प्रतिशत महिला जोडिएका छन ।” उहाँले भन्नुभयो–“३० वटा सहकारी मात्रै संकटग्रस्त सहकारी घोषणा गरिएको हो त्यसको प्रभाव अरु सहकारीमा समेत परेको छ ।” उहाँले संवेदनशिल भएर काम गर्नुपर्ने समय आएको उल्लेख गर्दै सहकारीका राम्रा कुराको उजागर गर्नुपर्नेमा जोड दिनुभयो । “एकद्धारबाट निमयन हुनुपर्छ प्राधिकरण ऐन पनि आउने तयारीमा छ ।” अध्यक्ष पोखरेलले भन्नुभयो–“सहकारीका ४६ वटा ऐन अन्तरसम्बन्धीत रहेका छन ती ऐन समेत तीन खम्बे अर्थनिति अनुसार हुनुपर्छ ।” उहाँले समस्याग्रस्त सहकारीका पीडितले बचत रकम फिर्ता पाउनुपर्ने बताउनुभयो । 
“राज्य कोषबाट नभएर ती सहकारीको चल अचल सम्पत्ति बिक्री गरी गरेर बचतकर्ताको रकम फिर्ता गर्नुपर्छ ।” उहाँले भन्नुभयो–“राजनितिक संक्रमणका बेला गलत नियत भएका व्यक्तिले सहकारी खोलेर बदनाम गरेका हुन ।” भीमदत्त नगर सहकारी सञ्जालका अध्यक्ष ईश्वरी प्रसाद खरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कञ्चनपुरका विभिन्न सहकारी संस्थाका अध्यक्ष एंव व्यवस्थापकहरुको उपस्थिति हरेको थियो ।