महेन्द्रनगर । प्राविधिक शिक्षा अध्ययनको सौख तथा परिवारको आर्थिक अवस्थाले भ्याउन अपठयारो हुँदा पनि हुम्ला ताँजाकोट गाउँपालिका–१ का कमल खड्का प्राविधिक शिक्षा अध्ययनका लागि कञ्चनपुरको महेन्द्रनगर आइपुग्नुभयो । हुम्लाको विकट बस्तीबाट एसइई अध्ययन सकेर खड्का अहिले महेन्द्रनगरस्थित महाकाली बहुप्राविधिक शिक्षालय तीन वर्र्षे डिप्लोमा कोर्ष ‘फार्मेसी’ को दोस्रो वर्षमा अध्ययनरत छन् । भीमदत्त नगरपालिका–६ ऐठपुरमा डेरा गरी बस्ने खड्का महेन्द्रनगर आउनुको मुख्य उद्देश्य नै प्राविधिक शिक्षा हासिल गर्नु हो ।
“ बुवा गाउँमा ज्याला मजदुरी गरेर मलाई पढाई खर्च जेनतेन जुटाइरहनु भएको छ, कृषिबाट परिवारको जोहो गर्न मुश्किल पर्छ ।” राससकर्मीसितको कुराकानीमा खड्काले भन्नुभयो, “बुवा भीरबाट लडेर अस्वस्थ्य भएपछि पढाइका लागि पहाडबाट पैसा नपठाएको वर्ष दिन भयो, शुल्क तिर्न बाँकी छ ।”
कर्णालीको हुम्लाका अधिकांश विद्यार्थीहरुको उच्च शिक्षा अध्ययनका लागि सुर्खेत, नेपालगञ्ज, काठमाडौै लगायतका सहर आउने गरेको भए पनि खड्का भने प्राविधिक शिक्षा अध्ययनका लागि न्यून खर्च लाग्ने भएकाले महेन्द्रनगर झरेको बताउँछन् ।
भीमदत्त नगरपालिका र सिटिइभिटीको साझेदारीमा २०७८ सालदेखि महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालनमा छ । “अन्त निजी कलेजभन्दा यहाँ डिप्लोमा कोर्स (तीन वर्षे) को शुल्क झण्डै ५० प्रतिशत सस्तो छ ।” उहाँले भन्नुभयो, “शुल्क आधा जस्तो लाग्ने भएकाले हामी जस्ता न्यून आए भएका विद्यार्थीहरुको रोजाइमा यो शिक्षालय परेको हो ।”
बाजुराको बुङ्गल नगरपालिका–१ का नवराज धामी यहाँ फर्मेसी दोस्रो वर्षमा अध्ययरत छन् । शिक्षालयको नतिजा राम्रो भएको थाहा पाएर अध्ययनका लागि यहाँ आएको बताउँछन् । “यो शिक्षालयबाट पास आउट भएको पहिलो र एक मात्रै व्याजमा अहिले धेरै जागिरमा छन् ।” उहाँले भन्नुभयो, “जीवनमा अझ बढी उपयोगी ठानेर प्राविधिक शिक्षा आर्जनका लागि डेरामा बसेर अध्ययन गर्दैछु ।”
प्रवीणता प्रमाणपत्र तह तीन वर्षे एचए, डिप्लोमा फार्मेसी, नेत्र विज्ञान र ल्याव टेक्निसियन गरी चार विधामा ४५० जना विद्यार्थी अध्ययरत रहेको महाकाली बहुप्राविधिक शिक्षालयका निर्देशक प्रमल साउदले जानकारी दिनुभयो ।
“कर्णाली र सुदूरपश्चिमका अधिकांश जिल्लाबाट न्यून आयस्रोत भएका परिवारका विद्यार्थीहरु यहाँ अध्ययनका लागि धेरै आइरहेका छन् ।” निर्देशक साउदले भन्नुभयो, “दूध बेचेर, मजदुरी गरेर यहाँ छोराछोरी पढाइका लागि पढाउने परिवार धेरै छ ।”
स्थापनाको छोटो समयमै दुई पटक सुदूरपश्चिमको नमूना प्राविधिक शिक्षालय बनेको महाकाली बहुप्राविधिक शिक्षालय भीमदत्त नगरपालिका र सिटिइभिटीको सहकार्यमा सञ्चालित शैक्षिक संस्था हो ।
“दुई पटक नमूना शिक्षालय घोषित भएर प्रदेश सामाजिक विकास मन्त्रलायबाट सहयोग स्वरुप रु ३० लाख प्राप्त गरेका छौँ ।” निर्देशक साउदले भन्नुभयो, “अहिले पनि सिटिइभिटीले तोकेको भन्दा ३३ प्रतिशत कम शुल्कमा विद्यार्थी पढाइरहेका छौैँ ।”
भीमदत्त नगरपालिकाले आगामी वर्षदेखि यहाँ अध्ययनरत विद्यार्थीहरुबाट छनौट गरी छात्रवृति दिने गृहकार्यसमेत अघि बढाएको साउदको भनाइ छ । “शिक्षालयले प्रयोगात्मक अभ्यास शिक्षणका लागि कोहलपुर मेडिकल कलेज, गेटा आँखा अस्पताल, महाकाली प्रादेशिक अस्पताल लगायतसित सम्झौता गरेर विद्यार्थी अध्ययनका लागि गइरहेका छन् ।” साउदले भन्नुभयो–“ विद्यार्थीको चाप बढिरहेकाले भविष्यमा नर्सिङ र डेन्टल साइन्सको अध्ययन सुरु गर्ने गरी अघि बढेका छौँ ।” यहाँ झण्डै ८० प्रतिशत छात्रा विद्यार्थी अध्ययरत छन् । यहाँबाट पहिलो समूहमा पढाइ पूरा भएका ६५ मध्ये आठ÷नौ जना सरकारी सेवामा र बाँकी निजी संस्थामा संलग्न छन् ।
पालिकास्तरबाट सञ्चालन भएको सफल शिक्षालयका रुपमा महाकाली बहुप्राविधिक शिक्षालय रहेको छ ।
थप समाचार
Add A Comment
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
Copyright © 2026All right reserved to Paschimpati.

