मर्यादा पुरुषोत्तम रामको कथा वर्णन गर्ने र रामको जीवन पद्धति सिकाउने पुस्तकनै रामायण हो । मूलत: रामायणलाई हिन्दु ग्रन्थ मानिए तापनि हरि अनन्त हरिकथा अनन्ता भने जस्तै यो ग्रन्थ हिन्दुहरुमा मात्र सिमित छैन । यो ग्रन्थ सबै धर्महरु भन्दा माथि रहेको छ र सबै धर्मका धर्मावलम्बिहरुले सहजरुपमा ग्रहण गरेका छन् तसर्थ गैह्र हिन्दु धर्मावलम्बीहरुले समेत यो ग्रन्थले दिने ज्ञानलाई जीवन पद्धतिको रुपमा आफ्नो जीवनमा लागु गर्ने प्रयास गरेका छन् । रामायणमा वर्णन गरिएका क्षेत्रहरु हिमालय पर्वतको साथै हाल नेपाल, भारत लगायत श्रीलंकामा पर्दछन् तथापी रामायणको प्रभाव क्षेत्र मध्य एसिया देखि दक्षिण पूर्वी एसिया, चीन, जापान र मंगोलिया सम्म पर्दछ । सर्व प्रथम रामायणको वाचनगरि भगवान शिवले पार्वतीलाई सुनाएको सोहि समयमा चलाख पन्छी कागले सुनेको तत्पश्चात काग(काग भुशुंडी)ले रामायण वाचन गरेको र गरुड तथा ऋषिमुनीहरुले श्रवण गरेको भन्नेकुरा शास्त्रहरुमा वर्णन गरिएको छ ।
त्यस्तै रामभक्त हनुमानले सर्वप्रथम रामायण लेखेको मानिएको छ भने भौतिक रुपमा प्राप्त पहिलो रामायण महर्षि वाल्मीकि द्वारा लिखित रामायणलाईनै मानिएको छ । देवर्षि नारदको नीतिवचनबाट प्रेरित भएर रामका समकालीन ऋषि वाल्मीकिले संस्कृत भाषामा २४००० श्लोकमा, ६ काण्ड/अध्यायमा रामायण रचना गरेका थिए । वाल्मीकिले रामायणमा ६ काण्ड वा ७ काण्ड रचना गरेका थिए भन्नेमा विद्वानहरु एकमत छैनन् तथापी युद्ध काण्ड पछिको कथा महर्षि वाल्मीकिले रचना गरेको होइन भन्नेमा बढी विद्वानहरुको एकमत रहेको छ । वाल्मीकि रामायण अनुसार श्री रामले रावण वध पश्चात अयोध्या फर्किए र एघार हजार वर्ष सम्म राम राज्य चलाए । राम राज्य भनेको त्यस्तो राज्य हो जसमा कोहि दीन दु:खि हुँदैन, कोहि भोको नाङ्गो रहँदैन, समाजमा कुनै जालझेल हुँदैन, सबै अनुशासित र मर्यादित रहन्छन तथा त्यहाँ कुनै रोग व्याधि र शत्रु हुँदैन समाजमा मात्र सुख शान्ति र अमन चैन हुन्छ ।
हाल अनेकौं भाषामा ३०० भन्दा बढी किसिमका रामायण पाउन सकिन्छ भने हजारौ किसिमका लोक रामकथाहरु अस्तित्वमा रहेका छन् । हिन्दि अवधि भाषामा लेखिएको गोस्वामी तुलसीदास कृत रामायण (राम चरित मानस) र नेपाली भाषाका आदिकवि भानुभक्त आचार्य द्वारा अनुदित रामायण मुख्यरुपमा नेपाली र भारतीय समाजमा प्रख्यात छन् । त्यसको अलावा भारतमा प्रचलित अधिकांश भाषाहरुका साथै सिंहाली, उर्दु, फारसी, अरबी, अंग्रेजी, बर्मेली, थाई, चाइनिज, इन्डोनेसियन, मलेसियन, कोरियन, जापनिज, मंगोलियन लगायत उक्त देशहरुमा प्रचलित अन्य भाषाहरुमा पनि रामायण पढिने, गाइने र रामलीलाको रुपमा नाटक मन्चन समेत गरिने गरेको पाइन्छ भन्नुको तात्पर्य उपर्युक्त देशहरुमा रामायणको गहिरो छाप रहेको छ ।
विश्वको सबैभन्दा बढी मुस्लिम जनसंख्या भएको देश इन्डोनेसियामा धेरै व्यक्तिको नाम रामायण तथा महाभारत जस्ता महाकाव्यहरुका पात्रहरुको नाम बाट प्रेरित छन् । इन्डोनेसियाको मुद्रामा गणेशको मुर्ति अंकित हुनु, विष्णुको वाहन गरुडलाई शक्ति र सामर्थ्यको प्रतीकको रुपमा राष्ट्रिय चिन्हमा अंकित गरिनु र सरस्वतीमातालाई विद्याकी देवी मानिनु पनि हाम्रा धर्मशास्त्रहरुको प्रभाव नै हो । थाईल्याण्डको राजाको पदवी “द रामा” पनि विष्णुको दस अवतार मध्येको एक रामबाट लिइएको र थाईल्याण्डमा पनि राजालाई विष्णुको अवतार मानिन्छ । त्यस्तै मंगोलियामा चंगेज खानको मुर्ति संगै त्रिशुललाई राखिनु पनि हाम्रा पौराणिक साँस्कृतिक दस्तावेजबाट प्रेरित हुनु नै हो ।
प्राकृतिक समाजमा जुनसुकै चर्चित व्यक्ति, वस्तु, संस्कृति, धरोहर, कथा र घटनाको समर्थन गर्ने ठूलो समुह हुन्छ भने त्यसको आलोचना वा विरोध गर्ने समुह पनि अवश्य हुन्छ । कसैको सफलताबाट अत्तालिएको समुहले अनेकौं हथकण्डा अपनाएर उक्त सफलतालाई विवादित गर्ने वा तेजोवध गर्ने प्रयास अवश्य गर्दछन । साथै, उक्त सफलतालाई केहि तोडमरोड गरेर आफ्नो दुनो सोझ्याउने वा अर्थोपार्जन गर्ने समूह पनि समाजमा सक्रिय हुन्छन् । विभिन्न चर्चित सिनेमा वा टेलिसिरियलहरुमा अनावश्यक कथा थपथाप गरेर उक्त सफलतालाई क्याश गर्ने र सिक्वल बनाउने वा एपिसोड थप्ने कार्य भए जस्तै रामायणको पनि कथा तोड मरोड़ भएनहोला भन्न सकिन्न । मूलरुपको वाल्मीकि रामायणमा पनि पछि थप कथाहरु लेखिएको हुनसक्ने यथेष्ठ सम्भावना रहन्छ । अनेकौं लेखकले भिन्न भिन्न भाषामा रामायण लेख्दा केहि थप थाप गर्दा अनावश्यक र विवादित कन्टेन्ट थपिएको वा जानाजान विवादित कन्टेन्ट घुसाइएको हुन सक्दछ । वाल्मीकि रामायणका पहिलो छ अध्याय वा काण्डमा कुनै विवाद नरहे पनि पछि थप गरिएको भनिएको उत्तर काण्ड र लवकुश काण्डमा मर्यादा पुरुषोत्तम रामलाई दलित जाति विरोधी, पुरुष प्रधान समाजको पक्षपोषक, स्त्री विरोधी, शंकालु राजाको रुपमा चित्रण गर्ने प्रयाश गरिएको छ ।
सौतेनी आमा कैकेयीलाई भरत जस्तो त्यागी भाई जन्माउने साक्षात् देवीको रुप मान्ने, चरित्रमा शंका गरेर पति द्वारा श्रापित गौतम ऋषि पत्नी अहिल्याको उद्धार गर्दा तपाइंको कुनै गल्ति छैन भन्ने, दलित भनिएकी रामभक्त सबरिको जुठो बयर खाने र आफ्नो परम शत्रु रावण पत्नी मंदोदरिलाई देवी पुकार्ने रामले उत्तरकाण्डमा एकाएक आफ्नै प्राण भन्दा प्यारी सीतामातालाई चारित्रिक आक्षेप लगाउने दलित भनिएको शम्बुकले तपस्या गरेर कुनै गैह्र दलितको सन्तान विरामी भएको भनेर शम्बुक को वध गरेको भनि दलित विरोधी देखाउनु पनि कता कता हिन्दु सनातन विरोधी मानसिकताको उपज नहोला भन्न सकिन्न ।
मुस्लिम, क्रिस्चियन आदि धर्ममा धर्मग्रन्थमा उल्लेखित कथा वा निर्देशनलाई छेड छाड गर्ने छूट छैन तसर्थ उक्त धर्मका धर्मग्रन्थ वा निर्देशनहरु सुरुवात देखि जस्ताको तस्तै पाइन्छ तर सबै भन्दा प्रजातान्त्रिक सनातन धर्ममा कुनै बन्देज नभएको कारणले पनि स्वछन्द रुपले सबैले आफ्नो अनुकुल लेखन र व्याख्या गरेको हुन सक्दछ । अल्पज्ञानी वा हिन्दु विरोधी चलाख तत्वले विभिन्न रामायणहरुमा उल्लेखित कथाहरुको गलत व्याख्या गर्दै हिन्दु धर्ममा प्रहार गरेको हुँदा सम्पूर्ण हिन्दुहरु सचेत हुनु जरूरी छ र विशेष गरि नयाँ पिढीलाई सहि दिशा दिनु जरूरी छ ।
पशुबलिको कदापी राम्रो होइन र हिन्दु धर्मले कुनैपनि रुपमा पक्षपोषण गरेको छैन तर बलिप्रथाले समाजमा गहिरो रुपमा जरो गाडी सकेको हुनाले कुरोको चुरो पहिल्याउन नसक्ने समाजलाई दिग्भ्रमित गर्न पशु अधिकारको कुरागर्ने हिन्दु विरोधी परिचालित समूहहरुले हिन्दुहरुको महान चाड दशैंको सेरोफेरोमा पशुबलीको विरोध गर्दछन् र अन्य समयमा शान्त रहन्छन । दशैं र तिहार पर्व रामायणको विजय दिवस संग सम्बन्धित रहेको कुरा भनि रहनु नपर्ला । त्यस्तै भगवान श्रीकृष्ण लाई पनि स्त्री लम्पट र चरित्रहीन भनि चिनाउन खोज्ने त्यो समुहलाई के थाहा १६१०८ जना महिला संग श्री कृष्णको सम्बन्ध भन्नु भनेको श्रीकृष्णको सम्बन्ध गृहस्थ व्यवहारको लागि वेदमा रहेका १६१०८ ऋचा संग हो भनेर ।
रामायणले आदर्श समाज निर्माण गर्न के कस्तो मर्यादाको आवश्यकता पर्दछ भन्ने कुरा सिकाउँछ भने महाभारतले के के कुराहरु गरेमा आदर्श समाज मर्यादाविहीन हुन्छ र त्यस्ता कुराहरु गर्नु हुँदैन भन्ने कुरामा बढी जोड दिन्छ । तसर्थ, मर्यादित समाज निर्माण र नयां पिंढीलाई सो दिशा तर्फ डोर्याउन रामायण वाचन, श्रवण र रामलीला मन्चनले कोशेढुंगाको काम गर्न सक्दछ । सूचना प्रविधिको क्षेत्रमा भएको विकासले विभिन्न सामाजिक संजाल मार्फत नयाँ पिढीलाई पश्चिमा संस्कृतिले गांजी रहेको वर्तमान सन्दर्भमा थोरै भएपनि रामायणको अध्ययनले हाम्रो धर्म संस्कृति र परम्परा जोगाउन अवश्य मद्दत गर्ने छ ।
रामायण: कल्पना वा सत्यकथा
विशेष गरि पश्चिमा विद्वानहरुले रामायणको वास्तविकता माथि प्रश्न उठाउने गरेको र ठोस सबुत प्रमाणको अभावमा प्रश्नकर्ताहरुलाई विश्वस्त पार्न नसकिएको अवस्था पक्कै हो । हामी कुनै तर्कको प्रामाणिकताको लागि सन्दर्भ ग्रन्थहरुको अपेक्षा गर्दछौं । यस्तो कुरा कहाँ लेखिएको छ देखाऊ त भनेर स्वाभ्वाविक प्रश्न गर्दछौं र कतै लेखिएको देखिएमा आश्वस्त हुन्छौं । रामकथा वर्णन गर्ने रामायण मात्र एक्लो ग्रन्थ होइन रामको प्रसंग विभिन्न युग र कालखण्डमा लेखिएका अनेकौं पौराणिक पुस्तक र कथाहरुमा उल्लेख गरिएको छ । सबै भन्दा पुराना वेद पुराण देखि लिएर उपनिषद् लगायत महाभारत जस्ता ग्रन्थहरुमा उल्लेख गरिएका रामका प्रसंग/कथाहरुमा एकरुपता र सत्यता भेटिन्छ । यसरि विभिन्न युग र लामो अन्तरालमा लेखिएका कथाहरुमा तादात्म्यता देखिनु पनि सत्यतालाई पुष्टि गर्ने बलियो आधार हुन सक्दछ । उक्त ग्रन्थहरुमा वर्णित स्थान, शहर, गाउँ, मन्दिर, वन, जंगल, जाति, नदि, तलाउ आदि आज पर्यन्त पनि भेटिनु पनि सत्यतालाई पुष्टि गर्ने माध्यम हो । वानर सेनामा भएका नल नीलले लंकामा चढाई गर्न निर्माण गरेको रामसेतु आज पर्यन्त भग्न अवस्थामा रहनु, भगवान रामले लंकामा आक्रमण गर्नुपूर्व आराध्य देव शिवको पुजा गर्न स्थापित शिवलिंग रामेश्वरमको नामले प्रख्यात रहनु आदि केहि तथ्य प्रमाणहरुले पनि रामकथालाई सत्यताको केहि नजिक पुर्याउन सक्छन ।
हाम्रो पूर्वीय साहित्य र ज्ञान भण्डार तत्कालिन पश्चिमाहरुको तुलनामा अतिनै धेरै समृद्ध थियो । पश्चिमाहरू पृथ्वी गोलो छ कि च्याप्टो छ? वा सूर्य पृथ्वीको वरिपरी घुम्छ कि पृथ्वी सूर्यको वरिपरी घुम्छ? भन्ने प्रश्नको वरिपरी रुमल्लि रहेको बेला हाम्रो ज्योतिष विज्ञानले हरेक ग्रह नक्षत्रको चालको गणना गरिसकेको र सम्पूर्ण सौर्य मण्डलको सत्य तथ्य ज्ञान हासिल गरिसकेको हुनाले हाम्रा धर्म ग्रन्थ हरुमा उल्लेख भएका कथाहरु सत्य थिए भन्न सकिन्छ । वैज्ञानिक अल्बर्ट आइन्सटिनले सापेक्षता वादको सिद्धान्तमा समयको रुपमा चौथो आयाम पत्ता लगाउनु भन्दा हजारौं वर्ष अगाडिनै हाम्रो पूर्वीय सभ्यताले समयको सुक्ष्म गणना गरेको जुन पृथ्वीको उत्पत्ति देखिको नै समय हो भन्ने यथेष्ट प्रमाण हाम्रो संकल्प मन्त्रमा पाउन सकिन्छ । उदाहरणको लागि संस्कृतमा लेखिएको निम्न संकल्प मन्त्रलाइ एक छिन मनन गरौँ:
संकल्प मन्त्र: ओम् विष्णुर्विष्णुर्विष्णु: श्री मद्भाग्वतो महापुरुषश्य विष्णोराज्ञयाप्रवर्तमानश्य ब्रह्मणो द्वितीय परार्धे श्री श्वेत वराहकल्पे सप्तमे वैवश्वत मन्वन्तरे वौद्धावतारे अष्टविशतितमे कलियुगे कलि प्रथम चरणे भुलोके भारतवर्षे भरतखण्डे जम्बुद्विपे आर्यावर्तान्तर्गत ….देशे… प्रदेशे…मण्डलान्तर्गत…. क्षेत्रे… नगरे… तटे… विक्रम शके देव ब्राह्मणानाम संनिधो प्रभवादी अमुक सम्बत्सरे अमुकायने अमुक नक्षत्रे अमुक राशिस्थिते चन्द्रे अमुक राशिस्थिते सुर्ये अमुक राशिस्थिते देवगुरो शेषेसु ग्रहेशु यथायथा स्थान स्थितेशु सत्सु एवम् ग्रह गुण विशेषण विशिष्टतायाम् पुण्यतिथौ अमुक गौत्रो ममात्मनम् श्रुतिस्मृति पुराणोक्तम फल्वाप्तये सह सकलादी व्याधि निरसनपूर्वक दीर्घायुश्य वलपुष्टि नेरुज्यादी अमुक ग्रह सम्बंधे अमुक रत्ने प्राण प्रतिष्ठा सिध्यर्थम करिश्ये ।
अर्थात:
महाविष्णु द्वारा पर्वर्तित अनन्त कालचक्रमा वर्तमान ब्रह्माको आयुको दोस्रो परार्ध (आधा भाग) अर्थात् दोस्रो पचास वर्ष ब्रह्माको ५१ औं वर्षको पहिलो दिन श्री श्वेत वराह कल्पमा, सातौं मन्वन्तर वैवश्वतमा बुद्धावतार अट्ठाइसौं चतुर्युगी कलियुगको पहिलो चरणमा पृथ्वीको भारतीय उपमहाद्विपको जम्बुद्विपमा आर्यवर्त अन्तर्गतमा …देशमा …प्रदेशमा …मण्डलमा …क्षेत्रमा … नगर/गाउँमा … नदीको तटमा …विक्रम शक सम्वतमा देव ब्रह्माको सान्निध्यमा …संवत …आयन…नक्षत्र…राशिमा चन्द्र…राशिमा सूर्य…राशिमा देवगुरु… शेष ग्रहहरु यथास्थानमा ग्रह गुण विशेषमा विशिष्ट पुण्य तिथिमा ….गोत्र …मेरो आत्मा …श्रुति स्मृति र पुराण अनुसारको फल प्राप्ति गर्न रोग व्याधि निर्मुल गर्न दीर्घायु र वल प्राप्त होस् भनि …ग्रह सम्बन्धमा …रत्न प्राण प्रतिष्ठा सिद्ध होस् ।
उपर्युक्त संकल्प मन्त्रले सापेक्षताको सिद्धान्तलाई अङ्गीकार गरि यस अन्तरिक्षमा लम्बाई चौडाई र उचाइको अलावा समय सम्मिलित चौथो आयाम पनि राखेर अरबौं वर्षको श्रृष्टिमा अरबौं मान्छेको पृथ्वीमा समेत संकल्प लिने व्यक्तिको विस्तृत र सुक्ष्म परिचय अर्थात् विज्ञानको भाषामा डी. एन. ए. सम्मको परिचय दिन सक्षम छ र निजको कार्य सिद्धिको लागि पूजा संकल्प हो भनेर प्रतिवद्ध भएको छ । यस्तो विराट समय गणनाको विधि बुझ्न केहि प्राविधिक शव्द बुझ्नु जरूरी हुन्छ ।
अनन्त काल चक्र: महा विष्णु द्वारा पर्वर्तित समय अनन्त छ र यो घुमी रहन्छ
ब्रह्माको आयु: ब्रह्माको सय वर्ष मानिएको छ र हाल यो ब्रह्माको एकाउन्नौं वर्षको पहिलो दिन हो । ब्रह्माको सय वर्ष बुझ्न निम्नानुसार थप व्याख्या गरिएको छ ।
कलि युग: ४३२००० वर्ष, द्वापर युग: ८६४००० वर्ष , त्रेता युग: १२९६००० वर्ष, सत्य युग: १७२८००० वर्ष
एक चतुर्युग: ४३२०००० वर्ष
एकहत्तर चतुर्युग बराबर एक मन्वन्तर: ३०६७२०००० वर्ष
चौध मन्वन्तर बराबर एक कल्प जुन ब्रह्माको एक दिन मानिएको छ: ४२२००००००० वर्ष (हाल सम्मको पृथ्वीको आयु)
ब्रह्माको एक वर्ष: पृथ्वीको १५४०३०००००००० वर्ष
ब्रह्माको सय वर्ष: पृथ्वीको १५४०३०००००००००० वर्ष (पृथ्वीको जम्मा आयु)
वैज्ञानिक दृष्टिकोणबाट समेत पृथ्वीको आयु संग हाम्रा पुर्खाहरुले गणना गरेको समय काल चक्र मेल खाने देखिन्छ तसर्थ हाम्रा धर्मग्रन्थमा वर्णित ज्ञान र कथाहरु तथ्यहीन छैनन् र सत्यताको नजिक छन् भनि यसलाई बलियो तर्क मान्न सकिन्छ ।
वैज्ञानिक तर्क अनुसार समय प्रकाशको गति संग सापेक्ष हुन्छ यदि हामीले आफुलाई समयको गतिको सापेक्ष सोहि गतिमा राख्न सक्यौं भने हाम्रो दिन र वर्ष पनि ब्रह्माको दिन र वर्ष समान लामा हुन सक्छन् ।
यहाँ श्रीकृष्णका दाई बलराम र रेवतिको कथा जान्नु सान्दर्भिक हुन्छ । छोटकरीमा भन्दा सत्य युगमा राजा रेवत पुत्री रेवतिको लागि समस्त पृथ्वीमा योग्य वर नभेटिए पछी राजा रेवत पुत्री सहित ब्रह्मलोक गए र ब्रह्मा समक्ष रेवतिको लागि उपयुक्त वर खोजि दिन आग्रह गरे । ब्रह्माजीले पृथ्वीमा योग्य वर जन्मी सकेकोले रेवत राजालाई पुनः पृथ्वीमा गएर श्रीकृष्णका दाई वलराम संग विवाह गर्न सुझाव दिएका थिए । राजा रेवत ब्रह्मलोक बाट तुरुन्त पृथ्वीमा फर्किंदा सत्य युग बितेर पनि द्वापर युगको अन्तहुन लागि रहेको थियो । राजा रेवतले ब्रह्माजीको सुझाव अनुसारनै पुत्री राजकुमारी रेवतिको विवाह बलराम संग गरेका थिए । यहाँ के बुझ्न सकिन्छ भने ब्रह्मलोक पृथ्वीलोक भन्दा गतिशील छ र समय ढिलो व्यतित हुन्छ जुन वैज्ञानिक तर्क संग मेल खान्छ ।
तसर्थ रामायण सत्यकथा वा काल्पनिक कथा जे भए पनि यसले हाम्रा मूल्य मान्यताको उच्चतम प्रतिनिधित्व गर्दछ र रामायणमा वर्णित रामको जीवन पद्धति अनुशरण गर्न सकेमा मर्यादित समाजको निर्माण हुन्छ तथा शासक वर्गले रामको सिद्धान्त अनुशरण गरि राज्य संचालन गरेमा राम राज्यको स्थापना हुन सक्दछ । राम सर्व व्यापी छन् कण कणमा व्याप्त छन् । हरि अनन्त र हरिकथा अनन्ता भने झैँ राम अनन्त छन् जसको न कुनै आदि छ न कुनै अन्त छ रामनाम अनन्त छ । समय अनन्त छ ।
रामलीला मन्चन: एक उत्कृष्ट महायज्ञ
रामलीला समिति कंचनपुरले २०७२ सालबाट निरन्तर रुपमा महेन्द्रनगरमा रामलीला मन्चन जस्तो महायज्ञको आयोजन गर्ने गरेको अतिनै सह्रानीय कुरा हो । कुनै १ घन्टाको सामाजिक कार्य सम्बन्धिको सभाको आयोजन गर्नु पनि आजको समयमा चुनौतिपूर्ण छ भने कम्तिमा पन्ध्र दिनको दैनिक चार घन्टाको हजारौँ जनसमुदायको उपस्थितिमा धार्मिक अनुष्ठानको आयोजना गर्नु कुनै तपस्या भन्दा कम होइन । कलाकार तयार गर्नु, तालिम दिनु, साज सज्जाको समान तयार गर्नु, रामलीला मंचनको लागि आवश्यक पोशाकको व्यवस्था गर्नु, निर्देशन गर्नु संगीत सामग्रीको व्यवस्था गर्नु, मंच तयार गर्नु, दर्शक को लागि व्यवस्था गर्नु, शान्ति सुरक्षा कायम गर्नु, ठुलो जनसमुहको मनोदशा अनुसार काम गर्न सक्नु, अतिथि निम्त्याउनु, प्रहरी प्रशासन संग सामन्जस्य गर्नु र सबै भन्दा ठुलो र गहन कुरा रामलीला मन्चन गर्नु र उक्त मन्चन गर्न आर्थिक जोहो गर्नु भनेको कम चुनौतिपूर्ण कार्य होइन । यो सबै कार्यकोलागी अहोरात्र खटिने रामलीला समिति कन्चनपुरका अध्यक्ष समाज सेवी धर्मप्रेमी श्री समरजंग बहादुर चन्द लगायत रामलीला समिति कंचनपुर, रामलीला मूल आयोजक समितिका साथै सबै महानुभावहरु धन्यवादको पात्र हुनुहुन्छ । सभ्य र भव्य तरिकाले बिगत नौ वर्ष बाट निरन्तर सफलतापुर्वक रामलीला सम्पन्न गर्नु आफैमा एक ठुलो उपलब्धि हो ।
बिगतमा हिन्दि र अवधिमा मन्चन गरिने रामलीला लाई नेपाली र डोटेली भाषामा उल्था गरि लिपिवद्ध पुस्तक तयार गर्नुपनि अतिनै उच्चकोटीको कार्य हो । काम गर्ने मान्छेको आलोचना हुन्छ तर कुनै काम नगर्ने मान्छेलाई निकृष्ट मान्छे बाहेक थप आलोचना हुने सम्भावना कम हुन्छ । सकारात्मक आलोचनालाई मार्गदर्शनको रुपमा ग्रहण गरेमा काममा अझै निखार आउँछ । कलाकारहरुले उच्चकोटिको व्यवहार प्रदर्शन, समय पालना र थप अभ्यास सहित गम्भीरता पूर्वक भाग लिने र विषयवस्तुको संवेदनशीलतालाई मध्यनजर गरि सोहि अनुरुप दृश्य संयोजन गर्न सके सुनमा सुगंध हुनेमा कुनै दुइमत हुन सक्दैन । धार्मिक ग्रन्थ जस्तो गहन विषयमा हल्का टिका टिप्पणी, हाश्य विनोद र हल्का पात्रताले सकल जनमानसको धार्मिक भावनामा ठेश पुग्न सक्ने तथा रामलीलाको गहनता घट्न सक्ने तर्फ पनि सचेत रहनु पर्दछ । रामलीला मन्चन, व्याख्यान र औपचारिक कार्यक्रमहरुमा कुनैपनि राजनैतिक गन्ध आउनु हुँदैन । रामलीला जस्तो धार्मिक महायज्ञमा सके सम्म औपचारिक कार्यक्रम कम गर्ने, वास्तविक व्यक्तिको मात्र सम्मान गर्ने र दर्शकको अमूल्य समयको पनि ख्याल गरिदिने हो भने सुनमा सुगन्ध थपिने छ । यस्तो महान कार्यको निरन्तरता भैरहोस् र श्रीरामले अझै उच्च मनोवलको साथमा आउँदा वर्षहरुमा रामलीला मन्चन गर्ने शक्ति प्रदान गरुन भन्ने कामना गर्दै जय सीताराम ।

