सन् १९८१ मा स्थापना भएको गेटा आँखा अस्पतालले हाल “तमसोमा ज्योतिर्गमय” अर्थात् अन्धकार बाट प्रकाश तर्फ भन्ने आदर्श वाक्य रहेको नेपाल नेत्रज्योति संघको छातामा रही सुदरपश्चिम प्रदेशमा ३ वटा सेकेण्डरी आँखा अस्पताल र २६ वटा आँखा उपचार केन्द्रहरु सञ्चालन गरिरहेको छ । सबै स्थानीय तहमा कम्तिमा एक आँखा उपचार केन्द्र स्थापना गर्ने उद्धेश्य अनुरुप हाल सम्म अस्पतालले प्रदेशका ९ वटै जिल्लामा आफ्नो आँखा उपचार सेवालाई विस्तार गरिसकेको छ तथा करिब ८० प्रतिशत समस्याहरु त्यही केन्द्रहरु मार्फत समाधान हुने तर केहि जटिल समस्या भएमा टेलिमेडिसिनको माध्यमबाट गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञबाट परामर्श र उपचार गरिने भएकोले ती उपचार केन्द्रहरुबाट थोरै मात्रै आँखाका बिरामीहरुलाई अस्पतालमा रिफर गरिन्छ ।
गेटा आँखा अस्पतालमा आँखा परिक्षण गराउन आउने बिरामीको करिब ३५ प्रतिशत बिरामी भारतीय नै हुन्छन् भने अप्रेशन गराउन आउने बिरामीहरु मध्ये करिब ५५ प्रतिशत भारतीय हुने गरेको कुरा तथ्यांकले प्रमाणित गरेको छ । अस्पतालले नेपालीहरुका लागि सुदुर पश्चिम प्रदेशका ३ स्थान महेन्द्रनगर, डडेल्धुरा र टीकापुरमा सेकेण्डरी स्तरका अस्पतालहरु स्थापना गरी सेवा प्रवाहको साथै धनगढीमा हप्तामा एक पटक शल्यक्रिया सेवा प्रदान गर्ने गरेको छ । चिकित्सक उपलब्ध भएमा कंचनपुरको बेलौरीमा पनि महिनामा एक पटक शल्यक्रिया सेवा प्रदान गरिन्छ । वाह्य कार्यक्रम अन्तर्गत घरदैलोमा नै सेवा पुर्याउने उद्देश्यले सुदूरपश्चिम प्रदेशका विविन्न स्थानमा गई शिविरहरु समेत सञ्चालन गर्ने हुनाले अस्पातलमा हुने शल्यक्रियामा नेपाली भन्दा भारतीय नागरिकहरु नै बढी हुने तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०८१/८२ मा यस अस्पताल र अन्तर्गतमा जम्मा २७९८३३ जनालाई आँखा उपचार सेवा प्रदान गरिएको थियो जसमध्ये २२१५२ जनाको आँखाको शल्यक्रिया गरिएको थियो । सोहि आर्थिक वर्षमा ३२६३० जना भारतीय आँखाका विरामीलाई सेवा प्रदान गरिएको तथा ७७४२ जना भारतीय आँखाका विरामीहरुको मोतिविन्दु लगायत शल्यक्रिया भएको थियो ।
अस्पताल र शाखाहरुबाट उपलब्ध गराईने नियमित उपचार सेवाको अतिरिक्त प्रत्येक वर्ष विभिन्न सरकारी तथा गैर सरकारी सामाजिक संस्थाहरुबाट सहयोग जुटाई यस प्रदेशका ९ वटै जिल्लाहरुमा ग्रामीण क्षेत्रसम्म आँखा उपचार सेवाको पहूँच बढाउन वर्षमा ६० भन्दा बढि स्थानमा आँखा शिविर सञ्चालन गरी निःशूल्क सेवा प्रदान गर्दै आईरहेको छ ।
नेपाल नेत्रज्योति संघको नीति अनुसार आर्थिक अभावका कारण कोहि पनि नागरिकले दृष्टि विहीन जीवन यापन गर्न बाध्य नहुन भन्ने हेतुले जनताको घर दैलोमै सहज, सुलभ र सस्तो रुपमा गुणस्तरिय सेवा प्रदान गरिरहेको र सोका लागि विभिन्न निकायहरुसंगको साझेदारिमा उज्यालो अभियान कार्यक्रम समेत सञ्चालन गदै आएको छ जसबाट धेरै गरिबीको रेखामुनी रहेका नेपाली नागरिकहरुले निःशुल्क आँखा जाँच तथा शल्यक्रिया सेवा समेत पाइरहेका छन् ।
सन् १९८० मा गरिएको सर्वेक्षण अनुसार नेपालमा अन्धोपनाको शिकार भएका जनताको संख्या ०.८४ प्रतिशत हुँदा सुदूरपश्चिममा १.०२ प्रतिशत जनसंख्यामा अन्धोपन थियो त्यसै तथ्यलाइ मध्यनजर गरि सुदूर पश्चिम प्रदेशको कैलाली जिल्लाको गोदावरी नगरपालिका – ४ मा गेटा आँखा अस्पतालको स्थापना भएको थियो । यस अस्पतालले आँखाको स्वास्थ्यमा उल्लेखनीय सेवा दिएको हुँदा सकारात्मक नतिजा प्राप्त हुँदै गयो जस अनुसार २००८ मा गरिएको सर्वेक्षणमा सुदूर पश्चिममा अन्धोपना ०.४१ प्रतिशतमा झर्यो । हालसालै गरिएको सर्वेक्षणमा सुदूर पश्चिममा अन्धोपना प्रतिशत देशैभरिमा सबै भन्दा थोरै ०.२१ प्रतिशतमा झरेको छ । अन्धोपनामा आएको यो सुधारमा मुख्यतया गेटा आँखा अस्पतालको योगदान रहेको कुरा निर्विवाद छ । अस्पतालको अभिलेख अनुसार स्थापनाकाल देखि २०८२ फाल्गुन सम्म गेटा आँखा अस्पताल र अन्तर्गतका आँखा अस्पताल तथा उपचार केन्द्रहरुले ५५८७१३३ जनालाई आँखा उपचार सेवा प्रदान गरेको छ जस मध्ये ७३४२०७ जनाको मोतिविन्दु लगायत आँखाको अन्य शल्यक्रिया गरेको छ । स्थापनाकाल देखि २०८२ फाल्गुनसम्म जम्मा २००५७८३ (३६%) जना भारतीय आँखाका बिरामीलाई उपचार सेवा प्रदान गरिएको छ जसमध्ये ४२७८४४ (५८%) जनाको शल्यक्रिया गरिएको छ ।
हाल एक दर्जन दक्ष नेत्र विशेषज्ञ लगायत करिब २०० जना विभिन्न तहका प्राविधिक र अन्य कर्मचारी रहेको गेटा अस्पताल एक वैशिष्ट्य केन्द्रको रुपमा विकास भएको छ । यहाँ आँखाको उपचार सम्बन्धिको लगभग सबै उप-विशेषज्ञता सेवा उपलब्ध हुनुको साथै चिकित्सा शिक्षा प्रदान गर्ने संस्थानको रुपमा समेत सक्षम भएको छ यहाँ प्राविधिक शिक्षा तथा व्यावशायिक तालिम परिषद संग सम्बन्धन प्राप्त डिप्लोमा इन अफ्थाल्मिक साइन्समा मा अध्ययनरत ७९ जना र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको सम्बन्धनमा स्नातकोत्तर तहमा २ जना चिकित्सकहरु अध्ययनरत छन् । नजिकै सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना हुनुले भविष्यमा उक्त विश्वविद्यालय संगको सहकार्यमा आँखा स्वास्थ्यको क्षेत्रमा थप शैक्षिक कार्यक्रम संचालन हुने यथेष्ठ सम्भावना रहेको छ ।
बहिरंग विभागमा रेफ्र्याक्सन, ओ. पी. डी. क्लिनिक, जल विन्दु क्लिनिक, रेटिना क्लिनिक, युभिया क्लिनिक, कर्निया क्लिनिक, अकुलोप्लास्टी क्लिनिक, वाल क्लिनिक, विशेष (पेयिंग) क्लिनिक, वायोमेट्रि तथा माइनर अपरेसन जस्ता सेवाहरु प्रदान गरिन्छ । विरामीको समस्या अनुसारको उपचारकोलागि लाग्ने सामान्य शूल्क तिरे पछी अपरेसन गर्नु पर्ने भए वार्ड तथा शल्यक्रिया कक्ष तिर पठाउने गरिएको छ । गेटा आँखा अस्पतालको शल्यक्रिया कक्षमा दैनिक ९० – १०० को हाराहारीमा मोतिविन्दु लगायत आँखा सम्बन्धि अन्य शल्यक्रिया हुने गरेको छ । यहाँ आँखा सम्बन्धि आवश्यक परीक्षणको लागि सुविधासम्पन्न प्रयोगशाला पनि रहेको छ । गेटा आँखा अस्पताल तथा अन्तर्गतका अस्पताल र उपचार केन्द्रहरुमा आवश्यक उपचार सामग्री र चस्मा आपूर्ति गर्ने स्टोर, चस्मा बनाउने वर्कसप, चस्मा वितरण कक्ष, औषधि वितरण कक्ष जस्ता सबै सेवाहरु समेत उपलब्ध छन् । ४०० शैय्याको वार्ड सेवा, १५ वटा सुविधा सम्पन्न क्याबिन, धर्मशाला र नि:शूल्क धर्मशालाहरु पनि विरामीहरुले आ-आफ्नो सुविधा अनुसार प्रयोग गर्ने गरेका छन् । स्मरण रहोस् यस अस्पतालमा रहेका धर्मशाला हरुमा भारतीय विरामी र कुरुवाहरु नि:शूल्क रुपमा बस्ने, आफै खाना पकाएर खाने व्यवस्था गरिएको छ जसको उपचार गराउन आउने भारतीय नागरिकहरुले मुक्त कण्ठले प्रसंसा गर्ने गरेका छन् ।
फोहोर जलाउने कार्यलाई पूर्णतया निषेध गरिएको तथा सरसफाई र वातावरण सरक्षणमा प्रतिवद्ध रहने नीति अनुसार नै सुविधा सम्पन्न फोहर व्यवस्थापन गृह निर्माण गरिएको छ । अस्पताल परिसरमा विरामी लगायत सबै आगन्तुक र कर्मचारीको लागि सहुलियत दरमा चमेना गृह (क्यान्टिन)को व्यवस्था रहेको छ । अस्पतालका विशेषज्ञ चिकित्सक लगायत जरूरी सेवा संचालन गर्नका लागि आवश्यक न्युनतम जनशक्तिको आवासको लागि कर्मचारी आवास उपलब्ध छ भने अन्य कर्मचारिकोलागी यातायात खर्च सहित आकर्षक मासिक तलब, थप काम गरे वापत ओभर टाईम सुविधा, भ्रमण भत्ता, दशैं खर्च, नियमानुसार विदा सुविधा, स्वास्थ्य र जीवन बिमा सुविधा, वाहन खरिद सुविधा लगायत अन्य प्रोत्साहन भत्ताहरु पनि उपलब्ध छन् ।
चार दशक भन्दा बढी समय बाट निरन्तर आँखा स्वास्थ्य सेवामा संलग्न भएर सफलताको उचाइमा पुग्नु, स्वदेश लगायत हामी भन्दा विशाल र विकसित दक्षिण छिमेकी मुलुक बाट उल्लेख्य संख्यामा विरामीहरु गेटा आँखा अस्पतालमा उपचारको लागि आउनु र निरन्तर विकास तर्फ लम्किनु कुनै एक व्यक्तिको प्रयास भन्दा पनि नेपाल नेत्रज्योति संघको छत्रछायाँमा यस अस्पतालको व्यवस्थापन समितिको निर्देशन तथा यस अस्पतालका कर्मठ कर्मचारीहरुको अनुशासन, समर्पण, सेवाभाव र पेशागत दक्षताले नै सम्भव भएको हो ।
नेपाल – भारतको द्विपक्षीय सम्बन्ध: रोटी-बेटी बाट नेत्र-प्रकाश तर्फ उन्मुख
सुदूरपश्चिम विश्वविद्यालयबाट सन् २०२४ मा प्रकाशित सुदुरपश्चिम स्पेक्ट्रमको दोश्रो अंकमा दीर्घ बहादुर चन्द द्वारा लिखित “नेपाल – भारत सीमापार सम्बन्धमा गेटा आँखा अस्पतालको आर्थिक तथा सामाजिक प्रभाव” लेख अनुसार काठमाडौँ बाहिर सबभन्दा पहिले सुदूरपश्चिम प्रदेशमा स्थापना भएको एकमात्र सुविधा सम्पन्न आँखा अस्पताल गेटा आँखा अस्पताल हो । यस अस्पतालले नेपाल तथा भारतीय सिमावर्ती समुदायमा आँखा स्वास्थ्य सेवामा अत्यन्त महत्वपूर्ण योगदान पुर्याएको छ । आर्थिक वर्ष २०२४/२५ भित्र यस अस्पतालले सुदुरपश्चिम प्रदेशमा थप ३ वटा प्राथमिक आँखा उपचार केन्द्र स्थापना गर्ने योजना रहेको छ ।
विश्व स्वास्थ्य संगठनको घोषणा अनुसार दक्षिण एसियामा सन् २०१७ मा आँखाको संक्रामक रोग ट्राकोमा उन्मूलन गर्न सफल हुने पहिलो देश नेपाल बनेको थियो । सन् १९८१ मा गरिएको अन्धोपन सर्वेक्षणअनुसार नेपालमा द्विपक्षीय अन्धोपनको दर सबैभन्दा बढी सुदूरपश्चिम (तत्कालीन सुदूरपश्चिम क्षेत्र) मा १.०२ प्रतिशत थियो। तर सन् २०१९–२१ मा गरिएको सर्वेक्षण (राब सर्वे) अनुसार यो दर घटेर ०.२१ प्रतिशत पुगेको छ, जुन नेपालकै सबैभन्दा कम दर हो । सीमा नजिक बसोबास गर्ने भारतीय परिवारहरूका लागि यो अस्पताल एक प्रकारको परिवारिक आँखा अस्पताल जस्तै बनेको छ । तीमध्ये केही परिवारका सदस्यहरू नियमित रूपमा उपचारका लागि आउने गरेका छन् र हाल तेस्रो पुस्तासम्मका बिरामीहरू यस अस्पतालबाट सेवा लिन आउने गरेका छन् । यसले उनीहरूसँग विशेष किसिमको भावनात्मक सम्बन्ध स्थापित भएको देखाउँछ ।
भारत सरकारले प्रदान गर्ने प्रधानमन्त्री जन आरोग्य योजना अर्थात् आयुष्मान कार्ड मार्फत् पूर्ण रूपमा निःशुल्क उपचार हुने व्यवस्था हुँदाहुँदै पनि धेरै भारतीय बिरामीहरू विश्वासिलो उपचारका कारण गेटा आँखा अस्पतालमा नै आउन रुचाउँछन् । भारतीय नागरिकहरूले देखाएको यस्तो विश्वासले नेपाल–भारत द्विपक्षीय सम्बन्धमा सकारात्मक प्रभाव पारेको छ । तुलनात्मक रुपमा गेटा आँखा अस्पतालमा उपलब्ध उपचार सेवा भारतको भन्दा सस्तो रहेको कुरा भारतीय बिरामीहरुले बताउने गरेका छन् । सामाजिक–राजनीतिक सूचकहरूका रूपमा यस अस्पतालमा आउने भारतीय बिरामीहरूलाई सीमा जाँच बिन्दुहरूमा दिइने प्राथमिकता, भारतीय स्थानीय तहका (पञ्चायतस्तरका) नेताहरूले आफ्ना क्षेत्रमा गेटा आँखा अस्पताल द्वारा आँखा शिविर सञ्चालन गर्न आग्रह गर्नु, स्थानीय व्यापारिक कारोबारमा वृद्धि हुनु, सामाजिक–सांस्कृतिक सम्बन्ध अझ सुदृढ हुनु तथा जनकूटनीतिमा विश्वासिलो वातावरण विकास हुनु उल्लेखनीय सकारात्मक पक्षहरू हुन् ।
नेपाल–भारतबीचको परम्परागत सम्बन्धलाई पहिले “रोटी–बेटी” सम्बन्ध भनेर चिनिन्थ्यो । अहिले यो सम्बन्ध विस्तार हुँदै “नेत्र–प्रकाश” सम्बन्धतर्फ उन्मुख भइरहेको देखिन्छ । यहाँ ‘नेत्र’ भन्नाले भारतीय आँखाहरूलाई जनाउँछ भने ‘प्रकाश’ नेपाली चिकित्सकीय सेवाबाट प्राप्त दृष्टिलाई जनाउँछ । यसरी सुदूरपश्चिम प्रदेश र भारतको सीमावर्ती क्षेत्रमा नेपाल–भारत सम्बन्धलाई “नेत्र–प्रकाश” सम्बन्धको नयाँ रूपले पनि चित्रण गर्न सकिन्छ ।
यस नेत्र–प्रकाश सम्बन्धले चिकित्सा पर्यटन, जनता–जनता बीचको सम्बन्ध, विदेशी मुद्रा आम्दानी, सांस्कृतिक आदान–प्रदान तथा सीमापार स्थानीय संस्थाहरूबीचको सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुर्याएको छ । यसले प्रभावकारी जनकूटनीतिलाई सुदृढ गर्दै सफ्ट पावर प्रदर्शन गर्ने महत्वपूर्ण माध्यमको रूपमा पनि काम गरेको छ । गेटा आँखा अस्पतालको अन्तर्राष्ट्रिय दायरा सीमित भए तापनि नेपाल नेत्रज्योति संघले देश भरिका २८ वटा आँखा अस्पतालहरु मार्फत् वार्षिक रुपमा कम्तिमा दस लाखको हाराहारीमा भारतीय आँखाका बिरामीहरुलाई प्रदान गर्ने सेवाले नेपाल–भारत सीमापार सम्बन्ध सुदृढ गर्न प्रशंसनीय योगदान रहेको छ जसले नेपाल भारतको सम्बन्धलाई नेत्र-प्रकाश स्तरमा विकास गरेको छ । साथै नेपाल नेत्रज्योति संघको सबल नेतृत्व, सुदृढ व्यवस्थापन र पवित्र उद्धेश्यको बलियो जगले यस अस्पताल लाई आगामी दिनमा अझै वृहद, विकसित र सफल बनाउने कुरा निश्चित छ । अन्तमा, गेटा गाउँको पहिचान बनेको यो अस्पतालमा आँखाको उचित उपचार हुन्छ जुन संयोगवस GETA लाई संक्षिप्त रुप मान्नेहो भने यसको पूर्णरूप Get Eye Treatment Accurately अर्थात् आँखाको उचित उपचार पाउनुहोस् नै हुन्छ ।

